शुक्रबार, १४ वैशाख २०८१

सिटीहल निर्माण अन्तिम चरणमा, ठेक्कामार्फत सञ्चालन गर्ने तयारी

समयपोष्ट २०७८ मंसिर ३ गते १०:४९

Advertisement

नेपाल सरकारको रु साढे २८ करोडको लागतमा धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा अत्याधुनिक सुविधासहितको सिटीहल निर्माण अन्तिम चरणमा पुगेको छ । डेढ बिघा जमिनमा रु २८ करोड ५५ लाखको लगानीमा सो सिटीहल निर्माण सम्पन्न भई फिनिसिङ कार्य भइरहेको छ । राष्ट्रिय सभागृहको मोडेलमा निर्माण गरिएको सिटीहलमा एउटा मुख्य अडिटोरियम, एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई रिहल्सल हल छन् ।

करिब ४०० गाडी अटाउने अण्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको सङ्घीय योजना कार्यान्वयन एकाइ धनगढीले जनाएको छ । सङ्घीय योजना कार्यान्वयन एकाइका इञ्जीनियर पुजन न्यौपानेले फलसिलिङ लगाउने, रङरोगन गर्ने, बिजुली बत्ती जडान गर्ने, तातो–चिसोका लागि एसी तथा हिटर जडान गर्ने, खानेपानी जडान गर्नेलगायत काम भइरहेको बताउनुभयो । उहाँले मुख्य अडिटोरियमको क्षमता ९०० भन्दा बढीको र सेमिनार हलको क्षमता २०० जनाको रहेको जानकारी दिनुभयो ।

कार्यालयका अनुसार सो सिटीहल निर्माणका लागि विकाइ एमके रोयल धनगढीसँग विसं २०७५ माघ २ गते ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीसँग गरिएको सम्झौताअनुसार आगामी पुस ९ गतेभित्रै काम सक्ने गरी काम भइरहेको इञ्जीनियर न्यौपानेको भनाइ छ । कोभिड–१९ का कारण काममा बाधा उत्पन्न भए पनि सिटीहल निर्माण समयमै पूरा गर्ने प्रयास गरिरहेको इञ्जीनियर न्यौपानेले बताउनुभयो । साउण्ड सिस्टम जडान गर्ने काम बाँकी छ ।

सिटीहल निर्माणका लागि रु एक करोडमा धनगढी नमूना प्राविधिक माविसँग जमिन खरिद गरिएको थियो । इञ्जीनियर न्यौपानेले हालसम्म रु २२ करोड ६६ लाख खर्च भइसकेको बताउनुभयो । सिटीहल सञ्चालन गाइडलाइन बनाएर उपमहानगरपालिकाले नै सञ्चालन र व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिने जनाइएको छ ।

धनगढी–८ का वडाध्यक्ष नारायणप्रसाद बरालले ठेक्कामार्फत सिटीहल सञ्चालन गरिने बताउनभयो । कार्यपालिकाबाट निर्णय नभइसकेको भए पनि बोलपत्रमार्फत ठेक्का दिने विषयमा छलफल भइरहेकाले हस्तान्तरण भएर उपमहानगरपालिकामा आएपछि बोलपत्र आह्वान गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री