मध्य भोटेकोसीविरुद्ध स्थानीयवासी आन्दोलित

मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् ।

Advertisement

आयोजनाले स्थानीयलाई रोजगारी दिने, स्थानीयबाट निर्माण सामग्री आपूर्ति गर्ने, सामाजिक उत्थानका कामहरू गर्ने लगायतका विभिन्न विषयमा स्थानीय प्रभावितसँग लिखित र मौखिक सहमती गरेको थियो । आयोजनाले प्रतिबद्धता गरेका विषयहरू पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने बाह्रबिसे नगरपालिका–५ का अध्यक्ष बेलबहादुर रोक्काले चेतावानी दिनुभएको छ ।

बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्ष मोहनलाल श्रेष्ठले आयोजनाले प्रभावितहरूसँग गरेको प्रतिबद्धता के कति कारण पूरा नगरेको हो पनि स्पष्टीकरण सोधिएको बताउनुभयो । उहाँले प्रभावितका माग तत्काल पूरा गर्न पनि आयोजनालाई आग्रह गर्नुभएको छ । यदि माग पूरा नगरी प्रभावितलाई बेवास्ता गरेमा थप कडा आन्दोलन गर्ने चेतावानी दिनुभएको छ ।

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनाका दोभाषेका रूपमा काम गर्दै आएका गोबिन्द पौडेलले आयोजनाभित्र मनपरी काम गरेको, कवाडी सामान अनधिकृत रूपमा बेचबिखन गर्दै आएको, चिनियाँ ठेकेदारसँग मिलेर भ्रष्टाचार गर्दै आएको, आयोजना र चिनियाँ ठेकेदारबीच द्वन्द्व मच्चाएको लगायतका आरोप लगाउनुभयो । यस्ता धेरै गुनासो नगरपालिकामा उजुरी आएकाले उक्त समस्या समाधान गर्न हाइड्रोपावरलाई आग्रह गर्नुभयो । यदि समस्या समाधान नगरेमा नगरपालिकाले हस्तक्षेप गरेर समाधानमा लाग्ने प्रमुख शेर्पाले चेतावनी दिनुभएको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री