बिहीबार, २० वैशाख २०८१

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई सात दिन थुनामा राख्न अनुमति

समयपोष्ट २०७७ मंसिर १२ गते १४:०४

 

Advertisement

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न भक्तपुर जिल्ला अदालतले अनुमति दिएको छ ।

न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंसिर १० मा काठमाडौँ चण्डोलस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

क्याम्पस सञ्चालक समितिको अध्यक्ष हुँदा न्यौपानेले अनाधिकृत रुपमा रकम हिनामिना गरेको र गाडी किनेर आफ्नो नाममा नामसारी गरेर ठगी गरेको आरोप लागेको छ ।

Advertisement

कलेजको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएपछि न्यौपाने फरार थिए । फरार रहेका न्यौपानेलाई बुधबार सीआईबीको टोलीले घरबाटै पक्रेको हो ।

कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको प्रकरणमा न्यौपानेविरुद्ध सोही कलेजका अन्य दुई सञ्चालक हरि पाण्डे र दीपक भट्टराईले उजुरी दिएका थिए ।

न्यौपानेसँगै तत्कालीन सांसद सूर्यबहादुर केसी, रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराईविरुद्ध उजुरी परेको थियो । सांसद केसीको निधन भइसकेको छ । सीआईबीका प्रमुख सहकुल थापाका अनुसार उनीहरूविरुद्ध २३ करोड १० लाख २३ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

न्यौपानेले मात्र ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ संस्थाबाट ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री