बिहीबार, ६ वैशाख २०८१

विपक्षीले टुरिस्ट भनेपछि आरजुले धनगढीमा किनिन् ३ करोडको नयाँ घर

समयपोष्ट २०७४ मंसिर १ गते २:४८

कैलाली जिल्लामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा सबभन्दा चर्चित उम्मेदवार बनेकी छन् ।

Advertisement

विपक्षीले ‘टुरिस्ट’ उम्मेदवारको संज्ञा दिएपछि प्रचारकै क्रममा धनगढीमा ३ करोड रुपैयाँको घर किनेका कारण उनी चर्चित बनेकी हुन् ।

‘स्थानीयवासी उम्मेदवार’ हुन तत्काल घर किन्न सक्ने हैसियतकी ‘धनाढ्य’ एवं हेभिवेट उम्मेदवार आरजुसित वाम गठबन्धनका तर्फबाट एमालेका सामान्य आर्थिक हैसियतका नारदमुनि रानाले कडा टक्कर दिइरहेका छन् ।

वाम गठबन्धनले आरजुलाई धनाढ्य र टुरिस्ट उम्मेदवारको संज्ञा दिँदै उनीविरुद्ध जबर्जस्त माहोल बनाउने प्रयत्न गरिरहेको छ । मत किनेर चुनाव जित्न आरजुले यो क्षेत्र रोजेको दाबी गठबन्धनको छ ।

कांग्रेसले भने आफ्ना क्षेत्रमा बढी विकास निर्माण कार्यक्रम ल्याउन सक्ने शिक्षित र बौद्धिक महिलालाई उम्मेदवार बनाएको उल्लेख गर्दै आरजुका पक्षमा माहोल बनाउन खोजिरहेको छ ।

स्थानीयवासीबीच बढी भिज्नु नै रानाको सकारात्मक पक्ष बनेको छ । प्रधानमन्त्री पत्नी र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढी पहुँच भएकाले विकास निर्माण ल्याउन सक्छिन् भन्ने विश्वास आरजुमाथि छ ।

यो आरजुको सकारात्मक पक्ष बनिरहेको छ । दुवै संविधानसभामा समानुपातिकतर्फबाट सभासद भएकी आरजु यसपटक प्रतिनिधिसभाको प्रत्यक्ष सिटमा उम्मेदवार भएकी हुन्, त्यो पनि प्रधानमन्त्री देउवाको ‘पकड क्षेत्र’ मा ।

वाम गठबन्धनले चुनावकै क्रममा ३ करोड रुपैयाँको घर किन्ने पैसा आरजुसित कहाँबाट आयो, त्यो छानबिन हुनुपर्ने आवाज उठाइरहेको छ ।

कांग्रेसले भने घर किन्नु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै यहाँ घर भएपछि अब आरजुलाई कसैले पनि टुरिस्ट उम्मेदवार भन्न नसक्ने दाबी गरेको छ । आरजु प्रचारप्रसार क्रममा आफ्नै नयाँ घरमा समेत बस्ने गरेकी छन् ।  कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री