शुक्रबार, १६ चैत २०८०

गोप्य मतदानमा असर: प्रहरीले हेरिरहेका हुन्छन् स्वस्तिक छाप

समयपोष्ट २०७४ मंसिर १ गते २:३८

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भागिदार हुनुपर्ने कानुनी व्यवस्था छ। आफूले गरेको मतदानको तस्बिर बाहिर नल्याउन भनेरै मतदान केन्द्रमा मोबाइलसमेत निषेध गरिएको छ।

Advertisement

गोप्य मतदान गर्न पाउने मतदाताको अधिकार सुरक्षित गराउनुपर्ने भूमिकामा रहने सुरक्षा निकायबाटै त्यसको उल्लंघन हुने गरेको छ। मतदान केन्द्रमा खटिने प्रहरीले मतदाताले लगाएको स्वस्तिक छाप सजिलै हेरिरहेका हुन्छन्। स्थानीय तह निर्वाचनमा त्यस्ता दृश्य प्रशस्तै देखिए। मतदाताले स्वस्तिक छाप लगाउने गोप्य कक्षकै पछाडिपट्टि प्रहरी उभिएका हुन्थे।

स्थानीय निर्वाचनको पर्यवेक्षण गरेको डेमोक्रेसी रिसोर्स सेन्टर नेपालले आफ्नो प्रतिवेदनमा धेरै स्थानमा गोप्य मतदानको अधिकारबाट मतदाता वञ्चित भएको देखिएको उल्लेख गरेको छ। सेन्टरका निर्देशक सुदीप पोखरेलले साँघुरा मतदान केन्द्रहरूमा उक्त समस्या अझ बढी देखिएको बताए।‘एक त मतदान केन्द्र साँघुरो, त्यसमाथि बन्दुक बोकेका प्रहरीको ड्युटीस्थल नै मिलेको देखिएन,’ उनले भने, ‘कसले कसलाई मतदान गरेको हो, त्यहाँ उभिएका प्रहरीले सजिलै थाहा पाउने अवस्था थियो। बन्दुक बोकेका प्रहरीलाई कसैले प्रतिवाद गर्ने कुरा पनि भएन।’

साँघुरा मतदान केन्द्रमा कर्मचारी, प्रहरी र उम्मेदवारका प्रतिनिधिको ओहोरदोहोरले मतदानको गोप्यतामाथि प्रश्नचिह्न उठेको उनले उल्लेख गरे। उनका अनुसार अशक्त व्यक्तिका आफन्तले मात्रै भोट हाल्नुपर्नेमा प्रहरी आफैंले मतदान गरिदिएको साथै धेरै मतदाताका मतपत्र पट्याउने कामसमेत गरेको देखियो। कानुनविपरीत अशक्त व्यक्तिको मतदान प्रहरीले गरिरहँदा त्यसले दुष्प्रचारसमेत पाएको छ। सामाजिक सन्जालमा त्यस्ता कतिपय तस्बिर भाइरल भएर प्रहरीले बुथ कब्जा गरी मतदान गरेको प्रचारसमेत गरिएका छन्। त्यस्ता प्रचारले सिंगो प्रहरीको साख गिराउने काम भएको उनको भनाइ छ। राजेश मिश्र / कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री