बढ्यो नेप्से परिसूचक, घट्यो कारोबार रकम
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आइतबारको वृद्धिको लयलाई कायम राख्दै नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा पुगेको छ।
यद्यपि, परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने घटेको छ। आइतबार ७ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३१८ स्टकको ६३,३७१ पटकको कारोबारमा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँबराबरको १ करोड ४१ लाख ७२ हजार कित्ता शेयर किनबेच भएको छ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ३२ रुपैयाँ ४८ पैसाले बढेर ३५८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ। यता, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य भने ४.९२ प्रतिशतले घटेर सर्वाधिक गिरावटको सूचीमा परेको छ।
कारोबार रकमका आधारमा साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३६ करोड ५३ लाख ९८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। सानिमा माइ हाइड्रोपावरको करिब ३१ करोड ५० लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम ३० करोड ५० लाख रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये ९ वटाको परिसूचक बढेको छ भने ४ वटाको घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.६३ प्रतिशतले बढेर सर्वाधिक वृद्धि हासिल गरेको छ। लघुवित्त उपसमूहको परिसूचक करिब १ प्रतिशतले उकालो लागेको छ। यता, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले ओरालो लागेको छ।
प्रतिक्रिया