शनिबार, ८ वैशाख २०८१

ललितपुरलाई साँस्कृतिक राजधानीबनाउने वाम गठबन्धनको लक्ष्य

समयपोष्ट २०७४ कार्तिक २७ गते ८:२४

रमेश लम्साल 

Advertisement

 वाम गठबन्धनले ललितपुरलाई ‘साँस्कृतिक राजधानी’ बनाउने लक्ष्यका साथ प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको प्रचार प्रसार शुरु गरेको छ । 

मुलुकको प्रशासनिक राजधानी काठमाडौँ भए जस्तै कला, संस्कृति एवं नेपाली मौलिकतालाई संरक्षण गर्दै त्यसलाई नेपालको पहिचानका रुपमा स्थापित गर्ने लक्ष्यका साथ सांस्कृतिक राजधानीको प्रस्ताव गरिएको गठबन्धनले जनाएको छ । 

पाटनको कृष्ण मन्दिर, हरिसिद्धि, खोकना जस्ता परम्परागत मन्दिर नेपाली कलाको अनुपम संग्रह रहेको भन्दै गठबन्धनले त्यसको संवद्र्धन, संरक्षण एवं आयआर्जनका लागिसमेत संस्थागत पहल गर्ने लक्ष्यका साथ प्रस्ताव गरिएको गठबन्धनका उम्मेदवार पम्फा भुसालले जानकारी दिईन । 

 मंगलबजार, खोकना, हरिसिद्धि जस्ता स्थानलाई समेटेर चक्रपथ बनाउने र त्यसलाई नेपालको सांस्कृतिक केन्द्रका रुपमा प्रचार प्रसार गर्ने र नेपाली परम्परागत कलाको सम्बद्र्धन गर्ने लक्ष्य वाम गठबन्धनले राखेको ललितपुर क्षेत्र नं ३ का उम्मेदवार भुसाल बताउछिन । 

सीप तथा कला प्रतिष्ठानको स्थापना, प्राचीन बस्ती तथा गुठीको संरक्षण एवं संवद्र्धन, हस्तकला, मूर्तिकला, चित्रकला र काष्ठकलालाई प्रमूख प्राथमिकतामा राख्ने, त्यस्ता क्षेत्रको स्थापना र प्रवद्र्धनमा जोड दिने उल्लेख छ । 

यस्तै, गठबन्धनले ललितपुरलाई धुलोरहित शहरका रुपमा विकास गर्ने लक्ष्य राखेको छ । आगामी दुई वर्षभित्र ललितपुरका सबै क्षेत्रमा कालोपत्रे सडक, सडक किनारमा हरियाली र मनमोहक बगैँचा निर्माण गर्ने, सुविधासम्पन्न तथा अशक्तमैत्री सार्वजनिक यातायात, ट्राफिक व्यवस्थापनका लागि ‘फ्लाइओभर’ निर्माण गर्ने लक्ष्य गठबन्धनको घोषणापत्रमा उल्लेख छ । 

सातदोबाटो, ग्वार्को र एकान्तकुनामा त्यस्ता फ्लाइओभर निर्माण गरिनेछ । बाग्मती, नख्खु र कर्मनासा कोरिडोरको निर्माण र दुवैतर्फ हरियाली पार्क स्थापना गर्ने, सफा नदी तथा ढलको व्यवस्थामा समेत गठबन्धनले आफ्नो प्रमूख कार्यसूचीका रुपमा राखेको छ । 

 यस्तै, सामाजिक सुरक्षा भत्तामा उल्लेख्य मात्रामा वृद्धि, ज्येष्ठ नागरिकलाई स्मार्ट सुरक्षा कार्डको वितरण, सहज र सरल स्वास्थ्य सेवा प्रदान गर्ने, सामाजिक जागरण तथा उत्तरदायित्वको अभिवृद्धि गर्ने र आमा समूह संस्था, संस्था र व्यवसायलाई सशक्तीकरण तथा बालश्रममुक्त ललितपुर बनाउने लक्ष्यसमेत राखिएको छ । 

 यस्तै, ‘समृद्ध ललितपुरका लागि वाम गठबन्धन’ भन्ने नाराका साथ गठबन्धनमा आबद्ध ललितपुर क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभाका उम्मेदवार राजकाजी महर्जनले ललितपुरको माटो सुहाउँदो र योजना तथा कार्यक्रमलाई स्थानीय घोषणापत्रमार्फत समेटिएको बताए। 

ललितपुर सांस्कृतिक एवं पर्यटकीय नगरी भएकाले त्यही परम्परागत सीप, कौशल एवम् सांस्कृतिक पाटोलाई केन्द्रमा राखेर घोषणापत्र तयार पारिएको उनको भनाइ  छ । ‘स्वच्छ र समृद्ध ललितपुर, सुन्दर शान्त ललितपुर, हरियालीयुक्त शहर ललितपुर अनि सांस्कृतिक एवम् पर्यटकीय नगरी ललितपुरका लागि वाम गठबन्धन’ भन्ने मान्यतालाई गठबन्धनले आधार बनाएको छ । 

ललितपुर क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभाका अर्का उम्मेदवार जीवन खड्काले सहरी गरिबीको सम्बोधन, व्यावसायिक केन्द्रको स्थापना, औद्योगिक केन्द्रहरुको विकास र विस्तार, व्यवस्थित कृषि तथा तरकारी बजार, बीउ बैंक स्थापना, कृषियोग्य जमिनलाई कृषि क्षेत्र घोषणा गरी घर तथा आवास बनाउन रोक लगाउने जस्ता विषय समेत घोषणापत्रमा समेटिएको छ । 

वाम गठबन्धनका तर्फबाट केन्द्रीय रुपमा सार्वजनिक गरिएको घोषणापत्रलाई नै आधार मानेर स्थानीय तहमा समेत आफूहरुले छुट्टै घोषणापत्र तयार पारेको वाम गठबन्धनका नेता दिनेश महर्जनको भनाइ छ ।  रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री