शुक्रबार, १४ वैशाख २०८१

तीर्थयात्रामा आएका यात्रीका लागि कुपण्डोलमा धर्मशाला बन्दै , करिब ६ करोड लागत लाग्ने

समयपोष्ट २०७४ कार्तिक २४ गते ५:०१

कुपण्डोलस्थित गुरुद्वार नानक सत्सङ्ग संरक्षण समितिले सोही परिसरमा करिब रु ६ करोडको लागतमा धर्मशाला निर्माण गर्न लागेको छ । 

Advertisement

करिब चार हजार वर्गफिटको क्षेत्रफलमा फैलिएको उक्त धर्मशाला भूकम्प प्रतिरोधात्मक अत्याधुनिक सेवासुविधासहित ३५ कक्ष तथा चार तल्लाको हुनेछ । करिब १ वर्षको समयावधिमा निर्माण पूरा गरिने धर्मशालामा स्वदेशका विभिन्न स्थान तथा अन्य मुलुकबाट काठमाडौँ तीर्थयात्रामा आएका यात्री बसोबास गर्न पाउनेछन । 

शिख धर्मका संस्थापक गुरु नानकले अहिंसा, सामाजिक सद्भाव, मानव कल्याणका लागि सामाजिक सेवामा क्रियाशील रहन सर्वसाधारण मानिसलाई अभिप्रेरित गरेको सम्बन्धित धर्मावलम्बीको विश्वास पाइन्छ । काठमाडौँका विभिन्न स्थानमा गुरु नानक आएको र अनुयायीलाई धार्मिक शिक्षा दिएको विश्वास छ । 

समितिका अध्यक्ष प्रितम सिंहले काठमाडौँको पाशुपत क्षेत्र, थापाथली, बालाजुलगायत स्थानमा प्राचीन गुरुद्वार रहेको र तिनको दर्शन गर्न आउने यात्रीको सहजतालाई ध्यानमा राखेर सो भवन निर्माण गर्न लागिएको जानकारी दिए । 

सोही संस्थाका सचिव हरपाल सिंहले स्वदेश तथा विदेशमा छरिएर बसेका शिख धर्मावलम्बीबाट चन्दा संकलन गरी धर्मशाला निर्माण गर्न शुरु भएको बताउँदै सो धर्मावलम्बीका विभिन्न स्थानमा रहेका सम्पदा संरक्षणमा जोड दिए ।  रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री