बिहीबार, ६ वैशाख २०८१

सिन्धुपाल्चोकका मतदाता भन्छन्:भत्केको घर बनाइदिनेलाई भोट

समयपोष्ट २०७४ कार्तिक २१ गते ७:४६

सिन्धुपाल्चोक बतासे–२ की ७८ वर्षीया मनकुमारी विक बेसहारा छिन् । परिवारको साथ त थिएन नै प्रकृतिले पनि ठग्यो ।

Advertisement

विसं २०७२ को गोरखा भूकम्पले सम्पत्तिको नाउँमा रहेको एउटा छाप्रो घर पनि ध्वस्त बनाइदियो । तर उनले घर ठड्याउने आश अझै मारेकी छैनन् । त्यसैले घर बनाउन सहारा दिने उम्मेदवारलाई आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा भोट दिने उनको योजना छ । 

‘घर बनाइदिए हुने थियो, बरु खाना मागेर पनि खाने थिएँ, चार पैसा छैन, भएको खेतीबाट जेनतेन छ महिना खान पुग्छ, बाँकी गाउँमै सामान्य काम गरेर खान्छु’, उनले भनिन् ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकका मतदातालाई विकासभन्दा पनि पहिला भत्केका घर बनाइदिने उम्मेदवारलाई जिताउने मनसाय छ ।

नौबिसे–२ का ८१ वर्षीय भरतराज भण्डारी गाउँमा राम्रो विकास गर्नेलाई मतदान दिने बताउँछिन् । कांग्रेसका पुराना मतदाता रहेका भण्डारी यसपटक मत कसलाई दिने भन्ने अन्योलमा छन् । उनी भन्छन्, ‘जित्ने उम्मेदवारबाट ज्येष्ठ नागरिकलाई भत्ता बढाइदिने र रोगब्याधीको औषधि उपचार गर्नेलाई मत दिन्छु ।’

बतासे–२ देवीडाँडाका मानबहादुर विक राम्रो उम्मेदवारले जितेमा गाउँमा विकास छाउने अभिलाषामा छन् । यता जलवीरे–२ का बाबुराम सापकोटाको अरुको भन्दा फरक मत छ । हिन्दू धर्मको संरक्षण गर्ने दलले जिते हुनेथियो भन्ने उनको आशा छ ।

जुगल गाउँपालिका बराम्चे–५ ढाँडेमा नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समितिले आइतबार आयोजना गरेको चुनावी सभामा भेटिएका माथिका प्रतिनिधि जस्तै धेरैको मत विकासप्रेमी उम्मेदवारलाई दिने योजना छ ।

नेपाली कांग्रेसका स्थानीय नेता रेशम गिरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता माङ्माया स्याङ्बोले जसले जिते पनि पहिला भूकम्पबाट भत्किएका घर निर्माण तथा जिल्लाको सडक, खानेपानी र जडीबुटीको व्यवस्थापनसँगै पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताए ।

तीनवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको सिन्धुपाल्चोकमा करिब सवा दुईलाख मतदाता रहेका छन् । यहाँको कूल जनसंख्या तीन लाखभन्दा बढी छ । यसपटक क्षेत्र नं १ मा हालका सञ्चारमन्त्री र पूर्व सञ्चारमन्त्रीबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री