शुक्रबार, १६ चैत २०८०

भारतमा जीवित जन्मियो दुर्इ टाउको एक शरीर भएको बच्चा, मुटु र फोक्सो भने अलग अलग

समयपोष्ट २०७४ कार्तिक १६ गते ५:२०

भारतमा दुई टाउको र एक शरीर भएका बच्चा जन्मिएका छन् । पश्चिमी भारतको महाराष्ट्रमा रहेको एक सरकारी अस्पतालमा गत २९ अक्टोबरमा जन्मिएका उनीहरुको २४ घन्टापछि मृत्यु भएको छ । लाखौंमा एक मानिने दुर्लभ जुम्ल्याहाको तौल ३.७ किलो थियो । उनीहरुको हातगोडा र कलेजो एउटै थियो भने मुटु र फोक्सो अलगअलग थिए ।

Advertisement

जन्मनासाथ उनीहरुलाई भेन्टिलेटरमा राखिएका थियो । तर, डाक्टरहरुले बच्चाका बाबुआमालाई पहिल्यै उनीहरुको बाँच्ने सम्भावना क्षीण रहेको बताएका थिए ।

बच्चाका बाबुआमाले आफ्नो सन्तालाई बचाउन डाक्टरहरुसँग याचना गरेको तर, डाक्टरहरुले यस्ता बच्चा बाँच्ने सम्भावना नरहने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरु बाँचेका भए पनि सर्जरीबाट अलग गर्ने सम्भावना नरहेको डाक्टरहरुको भनाइ छ । दुईवटा टाउको र एउटा शरीर भएका बच्चा अत्यन्तै दुर्लभ मानिन्छन् । यस्ता बच्चाहरु १० लाखमा १ जना मात्र हुन सक्ने बताइन्छ ।  उनीहरुकी ३२ बर्षिया आमाले स्थानीयहरुले मजाक बनाउलान् भन्ने डरले आफ्नो परिचय गोप्य राख्न चाहेकी छिन् ।

गर्भाधारणको ३२ औं हप्तामा महिलाले अल्ट्रासाउन्ड गराउँदा मात्र पेटभित्रका बच्चाहरु असामान्य रहेको पत्ता लागेको थियो । अस्पतालका गाइनोकोलोजी विभाग प्रमुख डा. सन्जय बान्सोडेले बच्चाहरु स्वस्थ अवस्थामा जन्मिएको तर उनीहरु जीवित रहन सक्ने सम्भावना नरहेको बताए । ‘यस्ता बच्चाहरु प्राय मृत जन्मिन्छन् । उनीहरु जीवित जन्मिनु एकदमै अप्रत्याशित थियो,’ उनले भने ।

अन्य विशेषज्ञहरुले पनि यस्ता प्रकारका जोडिएका जुम्ल्याहाहरु अत्यन्तै दुर्लभ हुने बताएका छन् । यो जोडीका यसअघि तीन छोरी र एक छोरा छन् । उनीहरु अत्यन्त विपन्न परिवारका हुन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री