बिहीबार, २८ कार्तिक २०७६

जाजरकोट–डोल्पा सडकखण्डमा १५ पुल, हाईड्रोपावर र सडक निमार्णको काम पनि यसै बर्ष

समयपोष्ट २०७६ कार्तिक २० गते १०:५५

भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा १५ पुल निर्माण गरिने भएका छन् । सबै पुलको डिजाइन लागत अनुमानको काम पूरा गरेर यसै आर्थिक वर्षबाट निर्माणको काम हुन लागेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

मन्त्री बस्नेतले रासससँगको कुराकानीमा भन्नुभयो, “हामी डिजाइन लागतको अनुमान दुई महिनाभित्र पूरा गरेर सबै पुल निर्माणको चरणमा पुगेका छौँ ।” गृह जिल्ला आउनुभएका मन्त्री बस्नेतले जाजरकोट खण्डभित्र रहेका आठ पुल र डोल्पा खण्डका सात पुल निर्माणकार्य यसै आर्थिक वर्षबाट शुरु हुने बताउनुभयो । सार्वजनिक खरीद ऐन संशोधन भएका कारण अघिल्लो वर्ष नलगाड नदी र झर्मेखोलामा भएको बोलपत्र आह्वानका साथै रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम रद्द भएकाले यो वर्ष सबै काम हुने उहाँले बताउनुभयो ।

जाजरकोट खण्डको झुर्मेखोला, नलगाड नदी, खोलेखेत, साप्नेखेत, खमाउरीखोला, त्रात्रगाड, तासुँगाड र तल्लुस्थित भेरी नदीमा पुल निर्माण हुनेछन् । त्यस्तै डोल्पा खण्डमा रिजिगारखोला, उसुमखोला, करवगाडखोला, भेरी नदी खदाङ, खदाङखोला, छलगाडखोला र त्रिपुरासुन्दरी भेरी नदीमा पुुल निर्माणका लागि सड़क विभाग पुल महाशाखाले पहल थालेको हो ।

विकास निर्माणमा ठेक्का लिने तर तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीले नै समस्यामा पारेको उहाँको भनाइ छ । मूल ठेकेदारले कामको जिम्मेवारी लिएपछि कामको जिम्मा साना निर्माण व्यवसायीलाई दिने अनि साना ठेकेदारबाट काम नहुने मात्र होइन, बषौँसम्म झुलाइदिने कार्यले समस्या आएको उहाँको भनाइ छ । विकास निर्माणका काममा अवरोध नगर्न उहाँले आग्रह गर्नुभयो ।

दुनैसम्म सडकको ट्र्याक खोल्ने काम पूरा भएकाले दुनैबाट मरिम्ला सडकखण्डको निर्माणका लागि पनि यसै वर्षदेखि काम गर्न छलफल शुरु भएको पूर्वमन्त्री एवं सांसद सत्य पहाडीले बताउनुभयो । भेरी करिडोरमा पुल निर्माणसँगै यो वर्ष बोलपत्र आह्वान कालेगाउँदेखि रिम्ना हुँदै तल्लुसम्म हुने भएकाले बहुवर्षीय ठेक्कामार्फत सडक निर्माणको काम हुने उहाँको भनाइ छ । यसै आर्थिक वर्षदेखि नै त्रिवेणीदेखि इलसम्मको सडक निर्माणका लागि डिपिआर निर्माणको काम पूरा भएकाले सडक निर्माणकार्य शुरु हुने पहाडीले बताउनुभयो ।

प्रदेश सरकार र सङ्घीय सरकारमार्फत संयुक्तरूपमा बजेट विनियोजन भएकाले यहाँ काम हुन लागेको हो । जगदुल्ला हाईड्रोपावर निर्माणका लागि पनि सडक छिटो निर्माण गर्नु अपरिहार्य भएको छ । अहिले जगदुल्लाहाईड्रो पावरको मुआब्जा वितरणको काम शुरु भएको छ । सडकको स्तरोन्नतिको काम नै पहिलो विकासको आधार भएकाले त्यसतर्फ केन्द्रित हुनुपरेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया