शनिबार, १५ वैशाख २०८१

ट्रम्पलाई डर लागेको भए हुवावे फोन प्रयोग गर्न चीनको व्यङ्ग्यात्मक जवाफ

समयपोष्ट २०७५ कार्तिक ९ गते ९:१०

बेइजिङले आफूले अमेरिकी राष्ट्रपति ट्रम्पको निजी फोनमा आएका कलहरू गोप्य रूपमा सुनिरहेको भन्ने रिपोर्ट अस्वीकार गरेको छ ।

Advertisement

अझ उसले व्यङ्ग्यात्मक रुपमा फोन संवाद अरूले सुनिरहेको डर लागेको भए हाल प्रयोग गरिरहेको आइफोन बदलेर हुवावे प्रयोग गर्न सुझाव दिएको छ ।

न्युयोर्क टाइम्सले केही दिनअघि ट्रम्पका सोचहरू जान्नका लागि रुस र चीनले उनको निजी आइफोनमा आएका कलहरू ‘इन्टरसेप्ट’ गरेको रिपोर्ट दिएको थियो ।

रिपोर्टमा उनका सहयोगीहरूले ट्रम्पलाई यस्ता कलहरू असुरक्षित हुने बताएका तर ट्रम्पले त्यसलाई त्यति महत्व नदिएको उल्लेख छ ।

ट्रम्पले भने उक्त रिपोर्टलाई खारेज गरेका छन् । एक ट्विट गर्दै उनले आफूले सरकारले स्वीकृत गरेको फोनहरू मात्र प्रयोग गरेको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्यिङले बिहीबार भएको एक पत्रकार सम्मेलनमा यस रिपोर्टबारे व्यङ्ग्यात्मक जवाफ दिएकी छिन् ।

“यो रिपोर्ट पढ्दा मलाई आजकल अमेरिकी सरकारमा रहेका केही मानिसहरू ओस्कारको उत्कृष्ट पटकथा विधामा पुरस्कार पाउन हर प्रयास गरिरहेको जस्तो लाग्यो,” उनले भनिन् ।

त्यसपछि उनले चीनको सबैभन्दा ठूलो मोबाइल फोन निर्माता हुवावेको ह्यान्डसेट बढी सुरक्षित भएको सुझाव दिइन् ।

“यदि उनीहरूलाई एप्पलको फोन ‘बग’बाट प्रभावित हुने कुराले साँच्चै नै चिन्तित बनाएको भए उनीहरूले हुवावे प्रयोग गर्न सक्छन् !”

“यदि उनीहरूलाई साँच्चै असहज भएको हो भने अझ बढी सुरक्षित हुनका लागि उनीहरूले आजको आधुनिक सञ्चारका सबै माध्यमहरू प्रयोग गर्न बन्द गरून्, अझ बाँकी विश्वसँग पनि सम्पर्क टुटाऊन् ।” उनले भनिन् ।

रसियाले पनि अमेरिकी राष्ट्रपतिको फोन वार्ता गोप्य रूपमा सुनेको रिपोर्टलाई अस्वीकार गरेको छ ।

रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले भने, “हामीले यस्तो खालको ‘कथा’लाई पहिलेदेखि ठट््टाका रूपमा लिन्थ्यौँ ।”

आफ्नो रिपोर्टमा टाइम्सले ह्वाइट हाउसका ती वर्तमान तथा पूर्वअधिकारीलाई कोट गरेको छ, जसले आफूहरू ट्रम्पले विद्युतीय सुरक्षालाई लिएर गर्ने ‘हल्का व्यवहार’बाट आजित भएको बताएका छन् ।
उनीहरूले अमेरिकी गुप्तचर एजेन्सीले चीन र रुसले ट्रम्पको आइफोनमा आउने कलहरू सुनिरहेको सूचना पाएको टाइम्सलाई बताएका छन् । त्यसो गरेर ट्रम्पको सोच थाहा पाउने र त्यसपछि कसरी उनलाई प्रभावित बनाउने भन्ने रणनीति बनाउन लागेको रिपोर्टमा उल्लेख छ ।

विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र चीन र अमेरिका पछिल्लो केही समयदेखि व्यापारिक युद्धमा छन् ।

यो महिनाको सुरुमा अमेरिकाका लागि चिनियाँ राजदूत चु तियानकाईले व्यापार नीतिमा ट्रम्पले कसको कुरा सुन्छन् भनेर आफूहरू ‘अत्यन्त अन्यौल’मा परिरहेको बताएका थिए ।
पछिल्लो केही समयदेखि जासुसीको डरले चिनियाँ टेलिकम फर्महरू अमेरिकामा निगरानीमा छन् । यसमा हुवावेसमते समावेश छ ।

सन् २०१२ मा अमेरिकी कङ्ग्रेसको एक प्यानलले हुवावे र जीटीईलाई कुनै पनि स्वामित्व खरिद र मर्जरबाट रोक लगाउनुपर्ने बताएको थियो । उनीहरूले यी दुई कम्पनीले अमेरिकामाथि सुरक्षा खतरा निम्त्याएको बताएका थिए ।

प्यानेलले त्यी फर्महरूले आफूहरूको चिनियाँ सरकार र सेनासँगको सम्बन्ध रहेको नरहेको भन्ने सवाललाई सम्बोधन गर्न नसकेको बताएका थिए ।

दुवै फर्महरूले भने आफूहरूले अमेरिकामाथि कुनै खालको खतरा पुर्याएको आरोप अस्वीकार गरे ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री