शनिबार, १ कार्तिक २०८२

धमाधम पुनःनिर्माण हुँदै भद्रकाली मन्दिर

समयपोष्ट २०८२ असोज २४ गते ६:३७

Advertisement

भद्रकाली मन्दिर पुनर्निर्माणको काम धमाधम अगाडि बढाइएको छ । काठमाडौँ महानगरपालिका सम्पदा विभागले मौलिक परम्परागत (नेवारी) शिल्प शैलीमा निर्माण गर्न लागेको उक्त मन्दिरको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न भएको छ ।

विसं २०८१ असार २७ गते सुरु भएको उक्त मन्दिर पुनर्निर्माणको काम हाल दुई सिफ्टमा भइरहेको महानगरका प्रमुख बालेन्द्र शाहले जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी अहिले बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म काम भइरहेको छ ।

परम्परागत नेवारी शैलीमा निर्माण भइरहेको उक्त मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल र थामलगायत परम्परागत निर्माण सामग्री प्रयोग गरिएको छ । यस्तै छानामा झिङ्गटी प्रयोग गरिएको छ ।

नेपाली साल (सखुवा)को काठ प्रयोग गरिएको उक्त मन्दिरमा प्रयोग योग्य पुराना काठ पनि प्रयोग गरिएको छ । काठ तथा इँटाको गुणस्तरको जाँच पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा रहेको प्रयोगशाला परीक्षणमार्फत गरिएको महानगरपालिकाले जनाएको छ ।

Advertisement

चुना–सुर्कीमात्र प्रयोग गरेर पुनर्निर्माण गरिएको उक्त मन्दिरको पुरानो खम्बा र बुट्टाका ढाँचालाई आधार मानेर नयाँ बुट्टा कुँदिएका छन् । यस्तै मन्दिरमा भँगेरा बस्ने परम्परागत ‘चखुं प्वाः’ पनि राखिएका छन् ।

घोडेजात्रालाई ध्यानमा राखी याकः फल्चा (एक्लो फल्चा) निर्माण भइरहेको छ । वरिपरिका सत्तलहरूको पुनर्निर्माणसँगै सुरक्षा पर्खाल (कम्पाउन्ड वाल) समेत निर्माण भइरहेको महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको केन्द्र भौगोलिक भागमा रहेको उक्त मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि महानगरपालिकासँगै नेपालकै पहिचानयुक्त स्मारक हुने बताइएको छ । पुनर्निर्माणअघिको संरचना, शिल्प र शैलीको अभिलेखीकरण सम्पदा विभागबाट भएको थियो ।

भत्काइएका संरचनाबाट सङ्कलित सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान र लुमधिः भद्रकाली व्यवस्थापन समितिसहितको सहजीकरण समितिले व्यवस्थापन गरिरहेको बताइएको छ ।

विसं २०७२ को भूकम्पले मन्दिर परिसरका संरचनाहरू जीर्ण भएका थिए । मन्दिरको गरिमा बचाउन पश्चिम, उत्तर र दक्षिणतर्फका पाटी, सत्तललगायत भवन पुनर्निर्माण गरिएको हो । उक्त मन्दिर पुनर्निर्माणको कुल लागत रु ३४ करोड ८० लाख ७१ हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री