भारत सरकारको आर्थिक सहयोगमा निर्मित आँबुखैरेनी क्याम्पसको नयाँ भवन उद्घाटन
भारत सरकारको आर्थिक सहयोगमा निर्मित आँबुखैरेनी क्याम्पस, आँबुखैरेनी गाउँपालिकाको क्याम्पस भवन आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।
‘नेपाल-भारत विकास सहयोग’ कार्यक्रम अन्तर्गत कुल रु. ३ करोड ०१ लाखको लागतमा निर्माण गरिएको दुई तले भवनको उद्घाटन भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमन वाग्ले, र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रूपमा गर्नुभयो।
उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, समाजसेवीहरू, क्याम्पस व्यवस्थापनका प्रतिनिधिहरू, प्राध्यापक, शिक्षक, अभिभावक, र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडिपी) अन्तर्गत सम्पन्न भएको हो, जसको कार्यान्वयन जिल्ला समन्वय समिति तनहुँले गरेको हो। कार्यक्रममा प्रमुख जिल्ला समन्वय समिति, गाउँपालिका अध्यक्ष, राजनीतिक प्रतिनिधि, र क्याम्पस व्यवस्थापन समितिका अध्यक्षहरूले भारत सरकारद्वारा नेपालका प्राथमिक क्षेत्रमा पुर्याइएको निरन्तर सहयोगको प्रशंसा गरे।
सन् २००५ मा स्थापित आँबुखैरेनी क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध सामुदायिक क्याम्पस हो। क्याम्पसले ब्याचलर अफ बिजनेस स्टडीज (बिबिएस) र ब्याचलर अफ एजुकेशन (बिएड) कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल क्याम्पसमा करिब ३०० विद्यार्थीहरू अध्ययनरत छन्, जसमा ९०% भन्दा बढी छात्राहरू रहेका छन्।
नवनिर्मित भवनले तनहुँ जिल्लाको आँबुखैरेनी क्याम्पसका विद्यार्थीहरूलाई थप गुणस्तरीय शैक्षिक सुविधा प्रदान गर्ने र सिकाइ वातावरणमा सुधार ल्याउने विश्वास गरिएको छ। यसले यस क्षेत्रको शैक्षिक विकासमा पनि महत्त्वपूर्ण योगदान दिनेछ।
‘भारत र नेपालबीचको व्यापक र बहुपक्षीय सहयोगको प्रतिबिम्बका रूपमा, यो परियोजनाले नेपाल सरकारका प्राथमिक क्षेत्रहरूको पूर्वाधार सुदृढीकरणमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई दर्शाउँछ।’- भारतीय राजदूतावासद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया