नेपाल वेयरहाउजिङ्गको आईपीओ कार्तिक १० गतेदेखि
नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले कार्तिक १० गतेदेखि पहिलो चरणमा आइपिओ निश्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले कार्तिक १० गतेदेखि श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको हो।
त्यसैगरी, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गर्नेछ। बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा कार्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
यस कम्पनीले वैज्ञानिक खाद्यान्न भण्डारण गृह, बोलकबोलको माध्यमबाट खाद्यान्न किनबेच लगायतका कामहरु गर्दै आएको छ।
कम्पनीले देशका तीन स्थान सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषकबाट कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पुँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गर्दै आएको छ।
कम्पनीले हालसम्म विभिन्न तीनवटा जिल्लाहरुमा ५५ हजार टनको वेयर हाउस निर्माण गरेको छ। जसमध्ये सुनसरी र पर्सा जिल्लामा ४० हजार टन क्षमताको साइलोसहितको वेयर हाउस निर्माण गरी सञ्चालनमा ल्याएको छ।
यस्तै, कपिलवस्तु जिल्लामा १५ हजार टन क्षमताको साइलो जडान भइरहेको छ। सो समेत पुस महिनासम्ममा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरुको लागत १६२.७५ करोड रुपैयाँ रहेको छ। सो लगानीमध्ये ९४ करोड ऋण छ भने बाँकी स्वपुँजीबाट परिचालन गरिएको छ। यो कम्पनीको हालको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ।
प्रतिक्रिया