शनिबार, ५ जेठ २०८१

जुम्लामा दुई सातापछि अवरुद्ध विद्युत् सेवा सञ्चालन

समयपोष्ट २०७९ कार्तिक १३ गते १९:४५

Advertisement

अवरुद्ध विद्युत् सेवा दुई सातापछि सञ्चालनमा आएको छ ।

गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले बिगारेका संरचना पुनः निर्माण गरिएपछि सेवा सञ्चालन भएको हो । बाढीपहिराका कारण बिजुली बिग्रदा जुम्लाका झण्डै तीन हजार ग्राहक अन्धकारमा बस्न बाध्य भएका थिए ।

पहिराले कर्णाली राजमार्ग बन्द हुनुका साथै विद्युत् सेवासमेत अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।

जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल ढलेका थिए । बिजुलीको तार लथालिङ्ग अवस्थामा थिए । जसकारण विद्युत् आपूर्ति हुन सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले भन्नुभयो, “निरन्तरको कामले बिजुली बाल्न सफल भएका छौँ । ढिलै भए पनि प्राधिकरणको बत्ती बलेको उपभोक्ता खुसी छन् । क्षति भएको स्थानमा मर्मत सकिएपछि अहिले जुम्लामा सबै स्थानमा विद्युत् आपूर्ति भएको छ ।”

Advertisement

बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति पु¥याएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम खलङ्गामा काम चलाइँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री