मंगलबार, १ जेठ २०८१

पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गरिने, पाँच हजार बढी नेपाली प्रवद्र्धक शेयरधनी

समयपोष्ट २०७९ कार्तिक ८ गते १८:०७

Advertisement

कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने उद्देश्यसहित रु पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार परियोजना निर्माण गरिरहेको आरकेडी समूहले रु पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गर्ने घोषणा गरेको हो ।

बन्दीपुरमा आयोजित कार्यक्रममा सलामी र इलमी कार्यक्रमको घोषणा गरिएको छ । नेपालको कृषि क्षेत्रलाई औद्योगीकरण गर्ने उद्देश्यसहित कृषि क्षेत्रको कम्पनीको लगानीलाई जोखिममुक्त महसुस गराउने बृहत्तर योजना र कार्यक्रमसहित नेपालकै ठूलो पुँजी र प्रवद्र्धक हुने पहिलो कृषिमूलक पब्लिक कम्पनी ‘रियल एग्रा लिमिटेड’ स्थापना गर्न लागिएको समूहका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

कम्पनीको अधिकृत पुँजी रु पाँच अर्ब र चुक्ता एवं जारी पुँजी रु दुई अर्ब ४५ करोड रहनेछ । कम्पनीमा देशभरि र विदेशबाट गरी पाँच हजार एक सय नेपाली प्रवद्र्धक शेयरधनी रहनेछ । यसका लागि लागि देशभरि र विदेशमा समेत नेपाली प्रवद्र्धक बन्नका लागि प्रस्ताव गर्ने गरी ‘उद्यममध्ये महाभियान’ आयोजना गरिएको छ ।

कृषि क्षेत्रको लगानीमा अधिकतम जोखिम हुन्छ भन्ने आमधारणा रहिरहेका बेला त्यसलाई चुनौती दिँदै चार वर्षमा नै शतप्रतिशत लगानी बराबर बोनस सुनिश्चितता गर्ने गरी शेयर एवं जग्गा प्राप्ति गुरुयोजना पहल ‘सलामी’ कार्यक्रम प्रस्तुत गरिएको शर्माले बताउनुभयो ।

Advertisement

यसमार्फत प्रवद्र्धक लगानीकर्तालाई कम्पनीमा कबुलअनुरुपको रकमको किस्ता भुक्तान गरिसकेपछि शेयरधनीले तोकेको समय अवधि दुई वा चार वर्षमध्ये एक र तोकेको ठाउँमा शेयर राशि बराबर नै हुने गरी बोनसको रुपमा जग्गा नामसारी गरिदिने र कृषि उद्यमको विकासका लागि ठोस सुरुआतको पहल लिइनेछ ।

प्रस्तावित कम्पनीले प्रोजेक्ट बैंक खडा गरी दश उद्देश्य कार्यान्वयन गर्ने लक्ष्य लिएको आरकेडी स्कूल तथा संस्कृति विभागका प्रमुख डा तुलसी प्रभासले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादनमूलक कृषि पर्यटन व्यवसायका लागि रियलस्टेट संरचना निर्माण गरी मानिसले अर्थोपार्जन गर्नसक्ने व्यवस्थासहित फरक–फरक उद्यम सञ्चालन गर्नसक्ने बनाउने लक्ष्य लिइएको छ ।

कृषि ब्लक एवं जोन परियोजना बैंक तयार गरी व्यक्तिलाई अवसर प्रदान गर्ने, कृषि रिसोर्ट एवं हाउजिङ ब्लक निर्माण गरी व्यवसायीलाई बिक्री वितरण गर्ने, कृषि पर्यटनका पूर्वाधार निर्माणका लागि फिल्ड सर्भिस एवं लगानी गर्ने, एकीकृत कृषि पार्कको डिजाइन र पूर्वाधार निर्माण गरी कृषि क्षेत्रको औद्योगिकीकरण गर्ने, कृषि एवं खाद्यान्न उद्योग नेपालभित्र खोल्ने र सञ्चालन गर्ने वातावरण बनाउने मुख्य लक्ष्य लिइएको छ ।

यो कम्पनी प्रवद्र्धनका लागि प्रवास र स्वदेशमा बस्ने मध्यमवर्गीय नेपालीको ४५ प्रतिशत शेयर रहने गण्डकी प्रदेश संयोजक धर्मराज भण्डारीले जानकारी दिनुभयो । आरकेडी समूहअन्तर्गतको टुरिजम इन्भेष्टमेण्ट फिण्ड लिमिटेड र अन्य कम्पनीको सहभागितामा ५५ प्रतिशत शेयर रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री