सोमबार, १७ वैशाख २०८१

बैंकले व्याज बढाउँदा धरासायी बन्दै व्यवसाय, पलायन हुने अवस्थामा व्यवसायी

समयपोष्ट २०७९ असोज २६ गते १८:४०

Advertisement

बैंकले व्याजदर बढाउँदा चितवन जिल्लामा रहेका व्यावसायिक क्षेत्र धरासायी बन्दै गएका छन् । कोभिडका कारण थलिएका व्यावसायिक क्षेत्र अहिले बैंकका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । दुई वर्षअघि कम्तीमा सात प्रतिशतदेखि बढीमा १२ प्रतिशतसम्म व्यावसायिक क्षेत्रको व्याजदर रहेकामा अहिले यो बढेर १२ देखि १७ प्रतिशतसम्म पुगेको छ । यसले गर्दा व्यवसायी पलायन हुने अवस्थामा पुगेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताउनुभयो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वध्यक्षसमेत रहनुभएका घिमिरे बैंकले व्याज बढाउँदा त्यो हिसाबले व्यवसाय गर्नसक्ने अवस्था नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “व्यापार गरेर कमाएर व्याज तिर्नसक्ने अवस्था अहिले छैन ।” व्यावसायिकरुपमा हेर्दा पर्यटन क्षेत्रमा बैंकले बढाएको व्याज दर सान्दर्भिक नभएको उहाँको भनाइ छ । राज्यले यस विषयमा नसोच्ने हो भने बैंकबाट ऋण लिएर व्यवसाय गर्न कठिन हुने अवस्था आएको उहाँले बताउनुभयो ।

सरकारले लगानीमा सहुलियत दिनुपर्ने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “अहिले जिल्लामा रहेको पर्यटन व्यवसाय धरासाही हुने अवस्थामा छ ।” जिल्लामा पर्यटन व्यवसायमा रु १५ अर्बभन्दा बढी लगानी भएको उहाँले बताउनुभयो ।

तीन वर्ष यता जिल्लाका सबै व्यवसाय धरासायी बन्दै गएको उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वध्यक्ष एवं पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराईले बताउनुभयो । कोभिड सुरु भएदेखियताको समय व्यावसायिक क्षेत्र नराम्रोसँग गिजोलिएको उहाँको भनाइ छ । पोल्ट्री क्षेत्रमा चितवन र नवलपुरमा मात्रै बैंकिङ क्षेत्रको लगानी रु १० देखि १२ अर्ब रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बैंकिङ क्षेत्रले व्याजदर वृद्धि गर्दा ८० प्रतिशत पोल्ट्री व्यवसायी बन्द हुने अवस्थामा पुगेको छ ।” पोल्ट्रीको राजधानीका रुपमा चिनिएको चितवनमा अहिले कतिपय व्यवसायीले जग्गा बिक्री गरेर बैंकको ऋण तिर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो । राज्यकोतर्फबाट बैंक व्याजदर घटाउन पहल नहुने वा सहुलियतामा व्याज नदीने हो भने पोल्ट्री व्यवसाय मात्रै नभएर अन्य व्यवसायी पनि पलायन हुने अवस्था आउने भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बैंकले मात्रै कमाउने नीतिका साथ अघि बढ्दा अन्य व्यवसायी मारमा परेका छन् ।” राज्यले नीतिमा नै परिवर्तन गरेर व्यवसाय बचाउन लाग्नुपर्ने उहाँको भनाइ छ ।

उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले व्याजदरका कारण व्यवसाय धरासाही बन्दै गएको बताउनुभयो । बैंकको असहजताले असोजपछि कतिपय व्यवसाय बन्द हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नियमनकारी निकायको उदाशिनताका कारण समस्या आएको हो ।” राष्ट्रबैंकले पहिलाको अवस्थामा व्याजदर ल्याउन नसके जिल्लाका ५० प्रतिशत व्यवसायी धरासायी बन्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले व्यवसायीलाई चिठ्ठी काट्ने, ताकेता गर्ने गर्दा व्यवसायी हतोत्साहित हुने गरेका छन् ।” उत्पादित वस्तुको मूल्यमा वृद्धि हुनु र उभपोक्ताको क्रयशक्ति कम हुनुलेसमेत यसमा असर देखिएको उहाँको भनाइ थियो । व्यावसायिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि राष्ट्रबैंकले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

बैंकको व्याजदरका कारण पुराना व्यवसाय बन्द हुने र नयाँ व्यवसाय सञ्चालनमा आउन नसक्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बैंकले व्याज बढाउँदा हरेक क्षेत्रको मूल्यवृद्धि भएको बताउनुभयो । व्याजदरले चालू पुँजी र लगानीको पुँजीमा समेत असर गरेकाले बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि भएको बताउनुभयो । बैंकको व्याजदर वृद्धि हुँदा व्यवसाय बन्द हुने अवस्थामा मात्रै नपुगेर अर्थतन्त्रमा समेत प्रभाव पारेको उहाँको भनाइ छ । राज्यले बैंक नाफामा जानुपर्छ भन्ने नीति लिएका कारण सबै व्यावसायिक क्षेत्रमा नकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो । व्याजदर घटाउने विषयमा उद्योग वाणिज्य महासङ्घमार्फत सरकारसँग समन्वय गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री