शनिबार, ८ वैशाख २०८१

‘चाड आउँछ, ऋण बढाएर जान्छ’

पत्रपत्रिका २०७९ असोज १७ गते ६:३३

Advertisement

सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त हुनुहुन्थ्यो । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उहाँका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् ।

काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा पक्की पर्खाल निर्माण गर्न ठेक्कामा लगाएको थियो । त्यो काम सकेपछि मात्रै श्रमिक तामाङको ‘दशैँ’ आउँछ । उहाँले भन्नुभयो, “दशैँ आउँछ, पैसा नहुनेलाई तनावै बढाउँछ ।”

बिहान–बेलुका दुई छाक खानलाई दिनभरि श्रम गर्ने तामाङले ज्यालाबापत एक हजार तीन सय रुपियाँ पाउनुहुन्छ । काम नभएका बेला दिनभरि त्यतिकै बस्नुपर्छ । उहाँले भन्नुभयो, “दशैँ आयो भनेर मात्रै हुँदैन । हामीलाई खर्च जोहो गर्न ऋण नै खोज्नुपर्छ । चाडबाड आउँछ, ऋण बढाएर जान्छ ।”

श्रम गरेर जुटाएको पैसा घर खर्च र छोरीको पढाइमै सकिने तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “मासु किलोको एक हजार चार सय छ, ज्याला एक हजार तीन सय छ । अनि दशैँ आउँदा हर्ष मान्नु नै के छ र !” आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री