शनिबार, १५ वैशाख २०८१

बेहुला बिनै जन्ती जाने ज्यापू संस्कृति

समयपोष्ट २०७३ कार्तिक १५ गते ४:१२

prabhu-narayan-basnetप्रभुनारायण बस्नेत

Advertisement

जसरी नेपालको भौगोलिक विविधता संसारलाई नै लोभ्याउने खालको सुन्दर छ, त्यसैगरी यहाँको जातीय, सांस्कृतिक र भाषिक विविधता पनि अनुपम एवं लोभलाग्दोखालको छ । हिमाल, पहाड, तराई, उपत्यका, दूनक्षेत्र तालतलैया, झरना आदिले नेपालको सुन्दरतालाई पूर्ण गराएझैं झाँगड, मेचे, कोचे, राजवंशी, थारू, राजपुत, यादव, तेली, सुँडी, कलवार, हलुवाई, नेवार, पहाडे बाहुन, क्षेत्री, राई, लिम्बू, तामाङ, मगर, गुरुङ, शेर्पालगायत अनेकौं जाति तिनका भाषा संस्कृतिले नेपाललाई सम्पन्न तुल्याएका छन् । तिनै अनेक जातिमध्ये काठमाडौं उपत्यका बसोवास गर्ने ज्यापु पनि एक हो । 

jyapu

को हुन् ज्यापू 

राजधानी सहर काठमाडौं उपत्यकामा बसोवास गर्ने ज्यापू सोझो इमानदार, मिहिनेती स्वभाव भएको आदिवासी समुदायभित्र पर्ने जाति हो । होचो–होचो कद, गोलो अनुहार, गठिलो शरीर भएको यो जातिका मानिस झन्डै मंगोल आकृतिका देखिन्छन् । खेतको काम गर्ने यो जाति मल्ल राजा जयस्थितिले कामका आधारमा जात विभाजन गर्दा वैश्य जातिमा राखिएको थियो । नेवारी भाषामा ज्या भनेको काम र फू भनेको गर्न सक्ने भन्ने अर्थ हुन्छ । काम गर्न सक्ने भएकाले नै यस जातिलाई ज्याफू भनिएको हो । पछि ज्याफूबाट ज्यापू भयो ।
खेतिपातिका लागि घरबाट खेतमा जादा“ औजार, खाजा र मल–बिउ बोक्न ज्यापूहरले खर्पन प्रयोग गर्छन । तिनले खेतबाट धान पराल घर पुर्याउन पनि खर्पन नै प्रयोग गर्छन । खर्पन तिनीहरुको एउटा नभै नहुने बस्तु हो । घरबाट माइति मावली जाँदा सामान बोक्न वा कुनै पनि सामान एक ठाउँबाट अर्को ठाउँ पुर्याउन ज्यापूहरुलाई खर्पन नभै हुदैन । यस जातिका पुरुषले दौरा सुरुवाल र कालो भादगाउँले टोपी लगाउँछन् । ज्यापूहरु विशेषत कालो दौरा सुरवालमा सेतो पटुका बाँधेर चिटिक्क पर्न रुचाउँछन् । ज्यापू महिलाले भने हाकु पटासि लगाउँछन् । कालो फरिया, कालो चौबन्दि र सेतो पछ्यौरि  यिनको पहिचान हो । तर आधुनिकताले गर्दा आजकल खर्पन, हाकुपटासी र दौरा–सुरवाल विस्तारै लोप हुदै जादैछन् । मल्ल राजाले काठमाडौं उपत्यका जित्नुअघि यहाँ किरात राज्य
थियो । मल्लले किरातीलाई हराएपछि किराती राजा, तिनका भाइभारदार र सैनिक पूर्वतिर लागे तर तिनका ‘रैती’ भने यहीं रहे । तिनै किराती ‘रैती’ कालान्तरमा काठमाडौंका रैथाने ज्यापू भए भनिन्छ । 


surya-pujaज्यापूको काठमाडौं, ललितपुर र भक्तपुरमा घना बसोवास छ । तिनको भाषा नेवार अर्थात् नेपाल भाषा हो । यिनीहरू बौद्ध धर्म मान्छन् । महर्जन, सिंह, डंगोलजस्ता थर काडमाडौं र ललितपुरका ज्यपूको देखिन्छ भने भक्तपुरमा भने यी थर त्यति प्रचलनमा छैनन् ।
भक्तपुरमा सुवाल लगायतका थरका मानिसलाई ज्यापू भनिन्छ । थर जे लेखे पनि यिनीहरूबीचमा वैवाहिक सम्बन्ध भने चल्छ । माटाका भाँडा बनाउने प्रजापति, इँटा बनाउने अवालेलाई पनि ज्यापूकै कोटीभित्र राखेर हेर्ने गरिन्छ । यसरी खेतिपाती गर्ने वा भूमिसँग सम्बन्धित काम गर्ने ज्यापू कामका आधारमा बनेको जाति हो । यस जातिले बौद्ध धर्म माने पनि सनातन धर्म संस्कृतिलाई समेत अपनाउने गरेको पाइन्छ । अत्यन्त धर्मभीरू समुदायमा गनिने ज्यापूको आफ्नै परम्परा र संस्कृति छ । केही अत्यन्त अनौठा र रोचक लाग्ने परम्परा पनि छन् । यस हिसाबले हेर्दा यो जाति संस्कृतिमा निकै सम्पन्न देखिन्छ । यस जातिको जन्मदेखि मृत्युसम्म आफ्नै ढंगले सञ्चालन गर्ने विधि छ । त्यसको संक्षिप्त चर्चा यहाँ गर्ने कोसिस गरिएको छ । 

जन्म संस्कार 
ज्यापूहरूको बच्चा जन्मदा अर्थात् घरमा सुत्केरी भएको बेला पुरोहित चाहिँदैन । समुदायकी परिपक्व महिलाले नै सुत्केरी गराउँछिन् । तिनलाई अजी (अहिचा) भनिन्छ । तिनले सुँडेनीको काम गरेर सहज रूपमा गर्भवती महिलालाई सुत्केरी गराउँछिन् । सुत्केरी भएको चार दिनसम्म सालनाल नकाटी राखिन्छ । चार दिनसम्म सुत्केरीले सालनाललाई छुनु पनि हुँदैन । यदि छोइहाले सुत्केरी महिला बहुलाउँछिन् भन्ने विश्वास यो जातिको छ । त्यसैले सुत्केरीको सालनाललाई हाँडीजस्तो गहिरो भाँडोमा बन्द गरी राखिन्छ । बच्चा जन्मनेबित्तिकै विवरणसहित चिना लेखाउन जोशीकहाँ पठाइन्छ ।  चौथो दिनमा कसाई जातिकी (कताल) महिलालाई बोलाइन्छ र धारिलो सफा औजारले बच्चाको नाभी काटिन्छ । त्यसरी नाभी काट्ने काम गरेपछि चार दिनमै सुत्केरीलाई चोख्याइन्छ । सुत्केरी गराउने सुँडेनीको समेत काम गर्ने ती पाको उमेरकी महिलाले चोख्याउने विधि पूरा गर्छिन् । ती महिलालाई अन्न र नगद दिएर चित्त बुझाउनुपर्छ नत्र सुत्केरीलाई राम्रो हुँदैन भन्ने मान्यता यो जातिभित्र छ । त्यस दिन आलु, मास, हरियो साग, सिन्की, चिउरासमेतको आँखःबजी दान दिनुपर्छ । त्यो दान ढोकाभित्रैबाट गर्ने चलन छ । त्यसपछि सुत्केरी हेर्न आउनेक्रम चल्छ । छोरीचेली आफन्त मासु, जाँड आदि लिएर सुत्केरी भेट्न जान्छन् । सुत्केरी र बच्चालाई घाममा राखेर तेल घसिन्छ । यसरी घरमा तीन हप्ता स्याहारसुसार गरी तीन हप्तापछि माइत पठाइन्छ । सुत्केरी चेलिबेटिलाई माइतीले नै आएर
लैजान्छन् । र, त्यहाँ दुई महिना राखेर घर फर्काउने चलन छ । त्यतिन्जेल सुत्केरी महिलाले केही काम गर्नु पर्दैन, पौष्टिक आहार खाने, घाम ताप्ने, चिल्लो घस्ने गरेर तिनलाई तगडा बनाइन्छ । घर गएपछि भने तिनले सानोतिनो काम गर्न थाल्छिन् । 

पास्नी
pasniबच्चा छोरा भए ६ महिना वा छोरी भए पाँच महिनामा पास्नी (अन्न प्रासन) गर्ने गरिन्छ । अन्नप्रासनमा मान्यजनबाट बच्चालाई खीर जनकेगू ख्वाइन्छ । त्यस समयमा एउटा ठूलो नाङ्लोमा माटो, किताब, कलम, इँटा आदि राखेर बच्चालाई छाडिन्छ । बच्चाले पहिले जुन चीज छोयो, उसको भविष्य त्यसैमा भएको ठानिन्छ । जस्तै पहिले किताब छोए विद्वान्, इँटा छोए निर्माणकार्यमा लाग्छ भन्ने विश्वास गरिन्छ भने माटो छोयो भने कृषिमा लाग्ने ठानिन्छ । 
बच्चा दुई वर्षपछि भएपछि पहिलो जन्म दिन मनाइन्छ । त्यसबेला बच्चालाई दुई ओटा योमरीको माला लगाइदिइन्छ । बच्चालाई मन्दिरमा लगेर देउताको पूजा गर्न लगाउने र मन्दिर परिक्रमा गराउने गरिन्छ । त्यस अवसरमा द्यौबजी दान गरिन्छ । यसरी सुरु भएको जन्मदिन मनाउने परम्परा जीवित रहँदासम्म कायम रहन्छ । जति वर्षको जन्मदिन हो, त्यति नै वटा योमरीको माला लगाउने गरिन्छ । 

छेवर
बच्चा पाँच वर्ष भएपछि मामाद्वारा केश कटाइन्छ र बच्चालाई टोपी, कपडा आदि उपहार दिइन्छ । ज्यापूहरू यसलाई छेवर भन्छन् । 

चुडाकर्म (व्रतबन्द)

chuda-karma

बच्चा ६ देखि १० वर्षको हुदाँ चूडाकर्म (व्रतबन्द) गरिन्छ । पुरोहित  (गुर्जु, शाक्य–ब्रजाचार्यले ज्यापूहरूको पुरोहितका रूपमा काम गर्छन् ।) बोलाएर होम गर्ने, मन्दिर परिक्रमा गराउने र कुखुरा चढाउने र त्यसलाई भोजका रूपमा खाने गरिन्छ । काटेको कुखुरा पाँच भाग लगाइन्छ । कसैकसैले व्रतबन्दमा ठूलै राँगा काटेर पनि भोज गर्ने गर्छन् । काटेको राँगोलाई आठ भाग लगाउने चलन हुन्छ । व्रतबन्दमा गुवाजूले होम गर्छन् । सबै प्रक्रिया गरेपछि व्रतबन्द गर्ने वरलाई मन्दिरमा लगिन्छ र त्यहाँ छाडिन्छ । त्यहाँबाट व्रतबन्द गर्ने व्यक्ति हिँडेर टाढा गयो भने भिक्षु हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसैले भिक्षु हुन नदिन सात पाइला हिँडेपछि मामाले समात्छन् । समात्न सकेनन् भने ऊ घर आउन हुँदैन र भिक्षु नै हुनुपर्छ भन्ने मान्यता छ । मन्दिरमा जाँदा अगाडि गच्छेअनुसार बाजागाजासहित पनि लैजाने चलन छ । बाजामा बासुरी (खिँ बाजा) अघि–अघि र धिमे बाजा पछि–पछि लागेर बजाइन्छ । फर्केर घर आएपछि दही, अन्डा, माछा, रक्सीसमेतका सामाग्री सगुनका रूपमा दिइन्छ र गच्छेअनुसार आफन्तलाई डाकेर भोज खुवाइन्छ । 

बेलविवाह र गुफा राख्ने


bell-bibaha

छोरीलाई छोराको जस्तो व्रतबन्द गरिँदैन । तिनलाई चार पाँच वर्षमै बेलसँग विवाह गराइन्छ र पहिलो रजस्वला हुनुअघि गुफा राखिन्छ । गुफा पनि हरेक घरमा राखिँदैन । गुफा राख्ने छुट्टै घर हुन्छ, जहाँ एकैचोटि दर्जनौ केटीलाई गुफा राखिन्छ । १२ दिनसम्म घाम नछिर्ने अँध्यारो कोठामा तिनलाइ थुनेर राखिन्छ । त्यस अवधिभरि तिनले कुनै पनि पुरुषको मुख हेर्नुहुँदैन भन्ने चलन छ । त्यो अवधिभरि गुफा राख्ने घरका महिलाले नै तिनको खानपानको व्यवस्था गर्छन् । कतिले त गुफा राख्दा पनि अन्तिम दिनमा लगेर मिसाउने गर्छन् । गुफा निकालेपछि गच्छेअनुसार भोज गर्ने चलन छ । 

विवाह


Rajani's Wedding (Feb-19-2009). Kathmandu, Nepal

केटाको विवाह गर्ने उमेर भएपछि (पहिले–पहिले सानै उमेरमा पनि विवाह हुन्थ्यो) केटी खोज्ने चाँजोपाँजो मिलाइन्छ । त्यसका लागि लमी तोकिन्छ । लमीले केटी मिलाएपछि लखानिगु लगिन्छ । त्यसमा चार ठाउँमा तीन÷तीन जोर लखा, एक माना चामल, एउटा सिक्का, अछेता र फूल हुन्छ । कतिको मा त लखा लगेको रुमाल फिर्ता गर्ने चलन पनि छ । त्यसरी केटीको टुंगो गरेपछि जोशीले लगन निकाल्छन् । लगनको बेला पारेर केटी लिन जाने चलन छ । केटी लिनचाहिँ जन्तीसँगै दुलाहा जानु पर्दैन । 
बेहुली लिन जाँदा सक्नेले ठूलो जन्ती र बाजागाजा पनि लैजाने गर्छन् । ठूलो जन्ती लैजानेलाई न्याफाकूः र सामान्य (कुम्लेविवाह) लाई स्वफाकूः भनिन्छ । न्याफकूः मा १४ जना आधिकारिक व्यक्ति हुनुपर्छ । त्यसमा आमाबाबु, मामामाइजू अनिवार्य हुनुपर्छ । स्वफाकूः मा आठजना हुनुपर्छ । त्यसमा पनि आमाबाबु, मामामाइजू अनिवार्य हुनुपर्छ । लखानिगू गरेपछि कदाचित विवाह नभई कन्याको मृत्यु भएमा केटा पक्षले शव उठाउनुपर्छ ।

 ठूलो जन्तीमा बोधाशा अर्थात् गुठीमा खाने भोजकै जति सामग्री लैजाने चलन छ । त्यसमा दुई भारी मामा घरबाट र स्वकँ पूजा घरबाट लैजाने चलन छ । केटी ल्याएको दोस्रो दिनमा ससुरालीतिर ज्वाइँलाई भित्र्याइन्छ ।ससुराली घरमा ससुरालीका मूल मान्छेलाई केटाले सुपारी दिनुपर्छ । त्यसमा केटाका बाबु पनि जाने चलन छ । यसरी विधिपूर्वक नगरिएको विवाहलाई (केटाले केटी भगाएर ल्याएको खण्डमा) मान्यता दिन तेह्रदिने दाजुभाइलाई एकछाक  भोज (जिमिभ्वय) ख्वाएर विवाहलाई मान्यता दिलाउने गरिन्छ । यसरी गरिएको विवाहमा कुनै कारणले केटाकेटीको मेल हुन सकेन भने औपचारिक छोडपत्र गर्ने चलन छ । त्यसमा केटी पक्षले दिएका सामग्री केटा पक्षले फिर्ता गर्ने र केटा पक्षले दिएका सामग्री केटी पक्षले फिर्ता गर्ने गरिन्छ । तर, यसरी औपचारिक पारपाचुके नगरी केटी अन्यत्र पोइला गएमा केटा पक्षलाई विवाह खर्च भर्नुपर्ने चलन छ । 
जंको


janko

जंको अर्थात् बूढो पास्नी नेवार समुदायमै प्रचलित परम्परा हो । यसलाई भीमरथारोहण पनि भनिन्छ । ज्यापूहरूको ७७ वर्ष ७ महिना, सात दिनमा पहिलो जंको गरिन्छ । जंको गर्ने व्यक्ति पुरुष भए उनकी श्रीमतीको पनि त्यसैमा स्वतः जंको हुन्छ । तर, श्रीमान् नभएकी महिला हुन् भनेचाहिँ उमेरअनुसार छुट्टै जंको गरिन्छ । जंको चारपटकसम्म गर्ने परम्परा छ । दोस्रो जंको हजार चन्द्रमा देखेपछि गरिन्छ । अर्थात् पहिलो जंकोको तीन वर्षपछि यो समय आउँछ । तेस्रो जंको ८८ वर्ष ८ महिनामा र चौथो ९९ वर्ष ९ महिनामा गरिन्छ । 
पहिलो जंकोमा नातिहरूले खटमा बोकेर नगर परिक्रमा गराउँदै त्यहाँ भएका मठमन्दिर र देवीदेवताको दर्शन गराउँछन् । दोस्रोमा कौसीमा लाख बत्ती बालेर यो कार्य गरिन्छ भने तेस्रोमा रथमा गुडाएर नातिहरूले मन्दिरमा लगी देवताको दर्शन गराउँछन । चौथोको भने प्रक्रिया निकै लामो छ । यसलाई पुनर्जन्मका रूपमा पनि लिने गरिन्छ । टोलको खुला ठाउमा राखेर घ्याम्पोजस्तै भाँडोभित्र राखेर त्यसबाट बच्चा जन्मिए जसरी बाहिर निकाल्ने न्वारन, विवाह आदि यावत् विधि गरी त्यसलाई पुनर्जन्मका रूपमा परिभाषित गरिन्छ । यो कार्य एकै दिनमा सम्पन्न गरिन्छ । 

मृत्यु संस्कार 
मान्छे मरेपछि गुठीलाई खबर गरिन्छ । ज्यापूहरूको मुर्दा गुठी हुन्छ । खबर पाएपछि गुठीका मान्छे पालैपालो आउँछन् । त्यसमा चारजना शव बोक्ने मान्छे (मयथा) र चारजना शव जलाउने मान्छे (ग्वँ) हुन्छन् । शव बोक्नेले शवमात्रै बोक्छन्, जलाउनेले चाँहि दाउरा, पराल, एउटा हाँडीमा आगो, जलदान दिने (पानी ख्वाउँने) तामा वा पित्तलको सानो भाँडो बोकेर मलामी जान्छन् । मलामी जाँदा मुर्दाको अघि–अघि छोरी भान्जी आदि महिला धान छर्दै रुँदै हिँड्छन् । छोरा, भाइ, भतिजा शवको पछि–पछि लाग्छन् । दागबत्ती दिने व्यक्ति सबैभन्दा पछि हुन्छ । आमालाई कान्छो छोराले र बाउलाई जेठो छोराले दागबत्ती दिने चलन ज्यापू समुदायमा छ । मसानघाट पुगेपछि सबैले मृतात्मालाई पैसा चढाउँछन् र जलदान (पानी खुवाउने) गर्छन् । त्यसपछि शव चितामा राखिन्छ । चितामा राखेको शवलाई दागबत्ती दिनेले तीनपटक परिक्रममा गरेर आगो लगाउँछ । 
मुर्दा जलाइसकेपछि सबै मलामीले खोलामा गएर नुहाउँछन् । नुहाइ–धुवाइ गरेर घर फर्केपछि घरभित्र पस्नुअघि ढोकामा राखेको रायो, सरसिउँका दाना, अदुवा, फलामको भाँडोमा राखेको बलेको आगो छुवाएर मन्छाइन्छ । हँसियामा एक टुक्रा आगो राखेर दिएपछि त्यलाई छोएर घरभित्र हुलिन्छ । यसो गर्दा मसानबाट पछ्याएर आएको दोख घरभित्र पस्न पाउँदैन भन्ने विश्वास ज्यापूहरूको छ । 
मृत्युको दसौं दिनमा पुरुषहरू खोलामा गएर कपाल खौरिने, नुहाइ–धुवाइ गर्ने र महिला नुहाइ–धुवाइ गरेर घर फर्कने गर्छन् । ज्यापूहरूको किरिया भने बस्नुपर्दैन । बाह्रौं दिनमा पुरोहितले धाःस गर्ने काम सकेपछि समयबजी खुवाइन्छ । र, त्यही दिनदेखि माछामासु फुक्छ । पैंतालीसौं दिनमा फेरि पुरोहितले होमादि गरी सिदा दानपछि दाजुभाइको पनि लत्याः (जुठो) फुक्छ । ६ महिनामा फेरि खुलाः कार्य हुन्छ । त्यसमा छाता, जुत्ता, खाट आदि दान गरिन्छ । वर्ष दिनमा अर्को भोज गरिन्छ । त्यसलाई दकिला भनिन्छ । मलामी छोरीचेलीलाई त्यस भोजमा अनिवार्य सामेल गराइन्छ । वर्ष दिनको भोलिपल्ट एउटा भाले भोग दिएर त्यसको मासु खाने र पान सुपारी फुकाउने कार्य हुन्छ । दुई वर्ष निँद तिथिमा फेरि एकपटक सबैलाई बोलाएर भोज खुवाउनुपर्छ । यसरी ज्यापूको मृत्युसंस्कार पूरा हुन्छ । 


bhaktapur_jibro_chhedne_jatra

जात्रा
गठेमंगलबाट सुरु भएर सिठिनखः मा सकिने नेवार समुदायका सबै चाडपर्व, जात्रामात्रामा ज्यापूहरूको सक्रिय सहभागिता रहन्छ । त्यसमा गाईजात्रा, घोडेजात्रा, इन्द्रजात्रा, माघेसंक्रान्ति, योमरी पूर्णिमा, मच्छिन्द्रनाथ जात्रा, बिस्केटजात्रा, नवदुर्गा जात्रा, बोडेको जिब्रो छेड्ने जात्रा आदि सबै पर्छन् । स्थानिय रुपमा जात्राका स्वरुप भने भिन्न पनि हुन सक्छन् । कीर्तिपुर, ठिमि, भक्तपुर, हरिसिद्धि, पाटन, काठमाडौं आदि ठाउँका ज्यापू आ–आफ्नै हिसाबले स्थानिय जात्रा पर्वमा उत्साहपूर्वक सहभागि हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री