मंगलबार, ११ वैशाख २०८१

साँस्कृतिक विविधता हाम्रो एकता

समयपोष्ट २०७३ कार्तिक १५ गते ३:२१

नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभौगोगिक विशेषता भएको देश हो । नेपालमा अनेक जाति, जातिका भाषा संस्कृति छन् । उनीहरूका आ–आफ्नै मौलिक संस्कृति र चाडपर्व छन् । विविध चाडपर्व र संस्कृतिभित्र नेपाली एकता प्रतिविम्बित छ । नेपालमा हिन्दु, बौद्ध, मुस्लिमलगायत सबै धर्म मान्नेका आ–आफ्नै विशेषताका चाडपर्व छन् । तर, सबै चाडपर्वका विशेषता भनेको सबैको कल्याण गर्नु, सहयोग गर्नु, मित्रताको भावना राख्नु, शिष्ट आचरण, सभ्यता, सद्भाव, सेवा, सहकार्य, सुख–शान्ति कायम राख्नु हुन् ।
नेपालमा हिन्दु धर्मावलम्बीको संख्या धेरै भएकाले हिन्दु धर्ममा आधारित चाडपर्व धेरै छन् । नेपाल बुद्ध जन्मेको देश भएकाले बुद्ध धर्ममा आधारित चाडपर्व पनि धेरै छन् । इस्लाम धर्मावलम्बी पनि नेपालमा भएकाले मुस्लिम चाडपर्व मनाउनेको संख्या पनि धेरै छ । क्रिसमसलाई क्रिश्चियनले पनि मनाउँदै आएका छन् । नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको छ । यी क्षेत्रमा पनि क्षेत्रअनुसार चाडपर्व मनाउने गरिन्छ । तराईमा छठ, पहाड र हिमालमा ल्होसार मनाउने गरिन्छ । नेपालमा हरेक जातजातिअनुसार पनि फरक–फरक चाडपर्व रहेका छन् । कृष्ण जन्माष्टमी, बुद्ध पूर्णिमा क्रिसमस डे, भानुजयन्तीलगायतका कतिपय चाडपर्व राष्ट्रिय अन्तर्राष्ट्रिय विभूतिका नाममा रहेका छन् । कृषिमा आधारित सिद्धपूजा र उद्योगमा आधारित विश्वकर्मा पूजा पनि नेपालमा मनाउने गरिन्छ । त्यसैले नेपालमा मनाइने चाडपर्व र संस्कृतिले आफ्नै मौलिकता र विशेषता बोकेका छन् । 
अहिले हिन्दुको महान् चाड दसैं र तिहार सुरु भएको छ । दसैं अन्यायविरुद्ध विजयको चाडपर्व भएको विश्वास छ । तिहार दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध झल्काउने पर्व हो । तिहारमा लक्ष्मीपूजा गरेर आर्थिक समृद्धिको कामना गर्नुका साथै अन्धकारलाई उज्यालोमा परिणत गर्ने पर्व हो । 
अहिले दसैं तिहारमा राजनीतिक दलहरूले पनि छुट्टाछुट्टै रूपमा शुभकामना आदान–प्रदान तथा चियापान गरेर वर्षभरिका आपसी सद्भाव साटासाट गर्ने गरेका छन् । चाडपर्वले मानिसमा रौनक र हर्षोल्लास पनि ल्याउने गर्छ । त्यसैले स्वच्छ समाजका लागि चाडपर्वको महत्वपूर्ण भूमिका हुन्छ । चाडपर्व मनाउनु भनेको आफ्नो पहिचान देखाउनु पनि हो । विदेशमा बस्ने नेपालीले त्यहाँ दसैं तिहार ल्होसारजस्ता चाडपर्व मनाएर नेपाललाई विश्वमा चिनाउने काम गरिरहेका छन् । 
तर, चाडपर्वमा कतिपय विकृति पनि छन् । आफ्नो घाँटी नछामी हाड निल्न खोज्ने प्रबृत्ति नेपाली समाजमा ब्याप्त छ । देखासिकी गरेर आफूले पनि सकी–नसकी खर्च गर्ने, अरूले घोडा चढ्दा आफू धुरी चढ्न खोज्नुले दसैं र तिहारजस्ता पर्वका लागि आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई भन्ने उखान चरितार्थ हुँदै आएको छ । नेपालका कैयन् गरिब जनताका लागि यहीं कुसंस्कारका कारण दसैंजस्तो सद्भावको चाड दशा समान बन्ने गरेको छ । समाजमा धनी र गरिबबीचको पर्खालका कारण पनि नेपालका अधिकांश जनताका लागि दसैंले दशा बोकेर आउने गरेको छ । दसैंमा महँगा–महँगा कपडा किन्नैपर्ने र घरमा खसी पनि काट्नैपर्ने जस्ता गलत सोचका कारण एक दिन रमाइलो गर्दा त्यसपछि वर्षभरि नै टाउको समाएर बस्नुपर्ने बाध्यता कैयन् नेपालीको छ । यस्तै जुवातास र जा“ड–रक्सी सबैभन्दा ठूलो विकृति हो । संस्कृतिका नाममा अँगालिएका यस्ता विकृतिका कारण समाजमा सद्भाव होइन, दुर्भाव बढिरहेको छ । यस्ता विकृतिको अन्त्य गर्न जरुरी छ । चाडपर्व भनेका सद्भाव र आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मनाउने पर्व हो । दसैं तिहार भनेको वर्षभरिका दुःख पीडा भुलेर परिवार र आफन्तसँगै बसेर रमाइलो गर्न मनाइने पर्व हो । 
हाम्रा हरेक चाडपर्वले जातीय, धार्मिक, क्षेत्रीय मौलिकता बोकेका छन् । नेपाल धर्मनिरपेक्ष राज्य भएकाले हरेक जाति, समुदाय आफ्नो मौलिक चाडपर्व मनाउन स्वतन्त्र छन् । नेपालमा जस्तो धार्मिक र जातीय सहिष्णुता अन्य देशमा भेटाउन मुुस्किल पर्छ ।
 यहाँका धार्मिक, जातीय, क्षेत्रीय चाडपर्वको जगेर्ना गर्दै यी पर्वलाई टुरिजमसँग जोड्न सकियो भने यिनै चाडपर्व मनाउने बहानामा विदेशी पर्यटक भित्र्याउन सकिन्छ । यसले नेपालका चाडपर्व विदेशमा चिनाउन र नेपालको आर्थिक समृद्धिका लागि सहयोग पु¥याउन सकिन्छ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री