शुक्रबार, १६ चैत २०८०

प्रचण्डले यो अवसर गुमाए सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : उपेन्द्र यादव

समयपोष्ट २०७३ कार्तिक १२ गते १२:००

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अवसर भएको भन्दै त्यतिवेलासम्म संविधान संशोधन नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । 
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गठबन्धनका अध्यक्ष यादवले मोर्चाले अहिले नै सरकारलाई कुनै अल्टिमेटम नदिएको समेत दाबी गरे । उनले अघि थपे,‘हामीले सरकारलाई अल्मिटेम दिएका छैनौं, प्रधानमन्त्री स्वयमले नै संविधान संशोधनको लागि म्याद तोक्ने काम गर्नुभएको छ, हामीले तोकेका छैनौं, तर छठसम्म पनि उहाँले गर्नुभएन भने हामी गठबन्धनको बैठक बसेर यसबारेमा निर्णय गर्छौं ।’
यादवले प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर धेरैपटक मिति घोषणा गरेपनि अहिलेसम्म संशोधन प्रक्रिया नै अघि नबढाएकोले यसपटक भने छठ अन्तिम मिति होस् भन्ने कामना समेत गरे । 
यादवले भने,‘बकबक बोलेरमात्रै हुँदैन, उहाँले बोले बमोजिम छठ अब अन्तिम मिति होस्, यो राज्यले मौका नगुमाओस्, हामीले मुलुकलाई निकास दिनको लागि नै तीन बुँदे सम्झौता गरेका थियौं ।’
यद्धपी यादवले मधेशी मोर्चासँग काँग्रेस र नेकपा माओवादी केन्द्रले गरेको तीन बुँदे सम्झौता अहिलेसम्म पूरा नभएको गुनासो पोखे । उनले सरकारले अहिलेसम्म मन्त्रिपरिषदको बैठकबाट गर्न सक्ने सामान्य काम समेत नगरेको आरोप लगाए । 
उनले पछिल्लो समय संविधान संशोधन, महाअभियोगको प्रस्ताव, चुनाव लगायतका विषयहरु प्याकेजमै गर्नेबारे चर्चा भएको उल्लेख गर्दै यो प्रस्तावलाई मोर्चाले पहिल्यै नै अस्विकार गरिसकेको बताए । उनले भने,‘यो प्रस्ताव धेरै पूराना कुरा हो, यसलाई गठबन्धनले पहिले नै अस्विकार गरिसकेको छ ।’
उनले मधेशी, आदिवासी, जनजाति, थारु, महिला, अल्पसंख्यक लगायतका अधिकार स्थापित गर्नको लागि संविधान संशोधन अनिवार्य भएकोले त्यतातिर सरकारले विलम्ब नगरीकन कामकारवाही अघि बढाउनुपर्ने बताए । यादवले थपे,‘तर किस्तामा गर्ने कुरा हामीलाई स्विकार्य छैन, हामी मान्दैनौं ।’
अब के गर्ने भन्ने कुरा सरकारको हातमा भएको उल्लेख गर्दै यादवले भने,‘मुलुकलाई निकास दिने कुरा अब सरकारको हातमा छ, हामीले त धेर्यता देखाईरहेका छौं ।’ उनले संविधान संशोधनको नाममा संशोधन हुने कुरा अब आफुहरुलाई मान्य नहुने समेत चेतावनी दिए । 
सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्लामा कुनै सत्यता नभएको उनको दाबी थियो । ‘छठसम्म पनि संविधान संशोधन भएन र महाअभियोगको प्रस्ताव देखाएर ओझेलमा पार्ने काम भयो भने हामी आन्दोलनमा जान्छौं, तर त्यो भन्दा पहिले गठबन्धनको बैठक बस्छ, बैठकले नै निर्णय गर्छ ।’ यद्धपी उनले आन्दोलनमा गैसकेपछि सरकारलाई दिएको  समर्थन स्वतः फिर्ता हुने स्पष्ट पारे । 
उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव किन र के उद्देश्यको लागि ल्याईएको भन्ने कुरामा आफूहरु अहिलेसम्म नै अनभिज्ञ रहेको बताउँदै भने,‘के को लागि ल्याईएको हो भन्ने कुरामा हामी अहिलेसम्म पनि जानकार छैनौं, त्यसैले हामी अहिले पक्ष वा विपक्ष कतैपटि पनि छैनौं ।’
यादवले विगतमा के सहमतिमा लोकमानलाई अख्तियार प्रमुख बनाईएको थियो भन्ने कारण पनि स्पष्ट रुपमा बाहिर आउनुपर्ने माग गरे । तर उनले पछिल्लो समय मुलुक लोकमानमय बनेको देख्दा आफूलाई आश्चर्य लागेको बताए । यादवले भने,‘यत्रो झापा काण्ड गरेका र विद्रोह गरेकाहरु एउटा लोकमानसँग किन यसरी भयभित भएका हुन, आतंकित भएको हुन, यो कुरा रहस्यमय छ ।’
उनले लोमानबारे तथ्य बाहिर आएपछि मात्रै गठबन्धनले निर्णय गर्ने दाबी गरे । यादवले आरोपकर्ता नै महाअभियोग सिफारिश समितिमा बसेकोले कसरी न्याय हुन्छ भन्दै प्रश्न समेत गरे । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री