२०७४ असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौँ आउने
व्यवस्थापिका–संसद्, विकास समितिले २०७४ असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउन निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव र मेलम्ची खानेपानी आयोजना प्रमुखलाई बोलाएर निर्देशन दिइएको हो ।
समितिका सभापति रविन्द्र अधिकारीले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न तेस्रो पटक मिति सार्नेभन्दा तोकिएकै समयमा आयोजना सम्पन्न गर्नुपर्ने बताउनुभयो । २०७४ असोज महिनाभित्रै मेलम्ची ल्याउनुपर्ने उहाँको भनाइ छ ।
समितिको बैठकले निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्न व्यवस्थापन चुस्त राख्न, निर्माण औजार एवम् दक्ष जनशक्तिलाई कुशलतापूर्वक परिचालन गर्न, हेडवक्र्स निर्माण, सुरुङ निर्माण, पानी प्रशोधन केन्द्र निर्माणको कामलाई तदारूकतासाथ सम्पन्न गर्न, सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने खानेपानी वितरणको लागि मेलम्ची खानेपानी आयोजना (ख) ले गर्ने पाइपलाइनको कामलाई तीव्रता दिन निर्देशन गरेको छ । निर्माण सम्बन्धमा जमिनमुनि गरिने कार्य ढल, पानीको पाइप तथा सुरुङ, अप्टिकल फाइबर, विद्युत्तारलगायत निर्माण कार्यको मापदण्ड, एकीकृत रूपमा संरक्षण गर्ने निकायको अभाव देखिएकोले संयन्त्र तयार गर्नुपर्ने आवश्यकता औँल्याएको छ । गोरखापत्र दैनिक
प्रतिक्रिया