बुधबार, १२ वैशाख २०८१

गृह जिल्ला गुल्मी पुगेर ओली पक्षमा लाग्नेलाई झाँक्रीले भनिन् दास

समयपोष्ट २०७८ कार्तिक १ गते १९:२१

Advertisement

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताउनुभयो ।

आज गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले जनतालाई धोका दिएर केही नेताहरु एमालेको घरमा दास बन्दै गरेको आरोप लगाउनुभयो ।

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको उहाँको आरोप थियो । एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद् विघटन गर्ने प्रथाको आफूहरुले विरोध गरेको उहाँको भनाइ थियो । यसो गर्दा ओलीको नजरमा आफूहरु नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिष्ट पार्टी स्थापना गरेको उहाँले बताउनुभयो । अहिलेको कम्युनिष्ट पार्टीमा सबै अट्नसक्ने उहाँको जिकिर थियो । आफूहरुले लगातार निर्वाचन जिते पनि उपलब्धि धेरै नभएकाले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

फरक प्रसङ्गमा नेत्री झाँक्रीले आफूहरुले पार्टी निर्माणको तीनमहिने अभियान चलाउने जानकारी दिनुभयो । तीन महिनासम्म देशभरबाट कम्तीमा सात लाख सङ्गठित सदस्य बनाउने उहाँको दाबी थियो । प्रत्येक सङ्गठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि चार भोट ल्याएमात्रै देशभरबाट नेकपा (एकीकृत समाजवादी)को पक्षमा कम्तीमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले बिलाएर जाने उहाँले बताउनुभयो ।

प्रत्येक सङ्गठित सदस्यले एक दिन पार्टीका लागि काम गर्ने र बाँकी छ दिन आफ्नो लागि काम गर्ने गरी योजना पार्टीले बनाएको उल्लेख गर्दै उहाँले पार्टीको हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० वर्षमुनिका युवालाई समावेश गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री