शुक्रबार, ७ वैशाख २०८१

इन्जिनियरिङ शिक्षामा बढ्दो आकर्षण

समयपोष्ट २०७३ असोज २० गते ४:०१

गोरखा भूकम्पपछि पुनर्निर्माण तथा नवनिर्माणले गति लिन थालेसँगै नेपालमा इन्जिनियरिङ शिक्षामा आकर्षण बढ्न थालेको छ । इन्जिनियरिङ शिक्षाको माग नेपालमा मात्र नभएर अन्य विकसित देशमा पनि बढिरहेको छ । नेपाली इन्जिनियरहरू विदेशमा पनि गरे आफ्नो क्षमता र दक्षता देखाइरहेका छन् । नेपालमा त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत चार आंगिक र १० वटा सम्बन्धन प्राप्त कलेजमा अहिले पढाइ भइरहेको छ । यसको साथै काठमाडौं, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी ४० वटा कलेजमा इन्जिनियरिङ पढाइ हुन्छ । चारवर्षे कार्यक्रममा लागि आंगिक क्याम्पसमा पूर्ण शुल्कमा तीन लाख र सम्बन्धन प्राप्त कलेजमा १० लाख लाग्ने गरेको छ । यसमा भर्ना भएका विद्यार्थी संख्याको १० प्रतिशतले छात्रवृत्तिको पनि सुविधा पाउने गरेका छन् । नेपालमा बर्सेनि करिब चार हजार इन्जिनियर उत्पादन भइरहेको काठमाडौं इन्जिनियरिङ कलेजका अध्यक्ष हिरेन्द्रमान प्रधान बताउँछन् । 
इन्जिनियरिङको पढाइलाई विश्वमै कठिन विषयमध्येको एक मानिन्छ । करियरको हिसाबमा पनि आकर्षक, आर्थिक रूपमा राम्रो आम्दानी हुने र सामाजिक प्रतिष्ठा कमाउने क्षेत्र हो– इन्जिनियरिङ । कुल आठ सेमेस्टरमा विद्यार्थीले इन्जिनियरिङ कम्प्लिट गर्नुपर्ने हुन्छ । प्लस टुमा विज्ञान संकायअन्तर्गत फिजिक्स विषय अध्ययन गरेकाले इन्जिनियरिङ गर्न पाउँछन् । 
civil-student

Advertisement

सिभिल इन्जिनियरिङ
इन्जिनियरिङ क्षेत्रमा पनि धेरै विद्यार्थीको रोजाइमा सिभिल इन्जिनियरिङ पर्ने गरेको छ । पढाइ सकाएपछि स्वदेश तथा विदेश सबै ठाउँमा सिभिल इन्जिनियरिङ गरेका जनशक्तिको निकै माग हुने गरेको छ । यस विधामा राजमार्ग, सडक, भवन, सुरुङ, पुललगायतका सुरक्षित निर्माणबारे विज्ञता हासिल गर्न सकिन्छ । नेपालमा अहिले सबैभन्दा बढी माग भएको र उत्पादित जनशक्ति पनि यही नै हो । यस क्षेत्रमा रोजगारीका अवसर अत्यधिक छ । सिभिल इन्जिनियरिङमा मास्टर्स सकाएका जनशक्तिको माग विश्वभरि नै रहेको छ । 
आर्किटेक्चरल इन्जिनियरिङ
आर्किटेक्चरल इन्जिनियरिङ पनि इन्जिनियरिङ विधा मध्यको एक हो । यस विधालाई निर्माण इन्जिनियरिङ पनि भनिन्छ । यस विधामा भवन निर्माण, योजना र ढाँचाबारे अध्ययन गरिन्छ । यो क्षेत्र खासगरी आवास, वाणिज्य, पुलको ढाँचा बनाउने कुरामा आधारित छ । यस क्षेत्रसँग आबद्ध हुन चाहनेमा राम्रो ढाँचा मात्र नभई धेरै ढाँचा तयार गर्ने ज्ञान हुन जरुरी छ । 
इलेक्ट्रिकल इन्जिनियरिङ 
यस विधाअन्तर्गत विद्युतीय प्रणाली निर्माण, विकास जाँचसम्बन्धी सीप पर्छन् । एउटा इन्जिनियरले विभिन्न ढाँचा, निर्माण प्रणाली, जाँच र निर्माण निगरानीपश्चात् विद्युतीय उपकरण निर्माण गर्छ । यस इन्जिनियरिङका पक्ष भनेका कम्प्युटर, विद्युत्, मोटर, दूरसञ्चार र साधन हुन् । यस इन्जिनियरिङभित्र घर तथा भवनमा बत्ती हाल्ने, तारहरू जोड्ने, सञ्चारमाध्यम जडान गर्ने मेसिन फिट गर्ने, गाडी र हवाईजहाजमा विद्युतीय उपकरण जडान गर्नेजस्ता कार्य पर्छन् । 
एग्रिकल्चरल इन्जिनियरिङ
कृषिमा आधुनिकीकरणका लागि पनि यो विषय आवश्यक छ । यो विषय सकाएपछि कृषिलाई वैज्ञानिक तरिकाले अगाडि बढाउन सकिन्छ । यस इन्जिनियरिङले कृषि क्षेत्रमा आफ्नो ढाँचा र योजना सिर्जना गर्न मद्दत गर्छ । यो अझ राम्रो तरिकाले संरचनात्मक रूपमा अघि बढ्दै जाँदा विभिन्न क्षेत्रमा यसको ढोका खुलिरहेको छ । 
बायोमेडिकल इन्जिनियरिङ 
कुनै व्यक्ति सूक्ष्मदर्शीय यन्त्रबारे जान्न उत्सुक छ भने यो विषय उसका लागि लाभदायक छ । हाल नेपालमा पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एकमात्र कलेजमा यसको अध्यापन हुने गरेको छ । यो विषय जीवसँग आधारित कुराको उत्पत्ति, जीव र रसायनशास्त्रको अध्ययनसँग सम्बन्धित छ । 
कम्प्युटर इन्जिनियरिङ 
यसमा हार्डवेयर र सफ्टवेयरबारे अध्ययन गराइन्छ । यस विषयमा अध्ययन गरिसकेपछि विद्यार्थीले कम्प्युटर र विद्युतीय दुवै क्षेत्रमा हात हाल्न सक्छन् । यो अत्यन्तै कठिन विषयका रूपमा मानिन्छ । तथापि सफ्टवेयर, हार्डवेयर र दूरसञ्चारको क्षेत्रमा यसको अत्यधिक माग छ । 
मेकानिकल इन्जिनियरिङ
इन्जिन र मेसिनको क्षेत्रमा दक्ष बन्न चाहनेका लागि मेकानिकल इन्जिनियरिङ राम्रो विकल्प हो । यस क्षेत्रका इन्जिनियर मोटर र साना हवाईयन्त्र निर्माणमा लागेको पाइन्छ । मेसिनरी कुराहरू जस्तै लिफ्ट, फ्रिज, यन्त्रमानव निर्माणमा पनि मेकानिकल इन्जिनियर लागेका हुन्छन् । यस क्षेत्रका इन्जिनियर विश्वभरि नै पाइन्छन् । नयाँ–नयाँ मेसिनको निर्माण गरी यस विधाका इन्जिनियरले जीवन सरल बनाइदिएका छन् । 
केमिकल इन्जिनियरिङ 
रसायनशास्त्र र भौतिकशास्त्रमा रुचि राख्ने विद्यार्थीलाई केमिकल इन्जिनियरिङ उसका लागि उपयुक्त विषय हो । यस क्षेत्रमा उद्योगको रासायनिक प्रक्रियाको जाँच गर्ने कार्य पर्छ । यस विधामा डिग्री हासिल गरिसकेपछि कृषि फार्म, वस्तु उत्पादन, उद्योग र औषधि कारखानामा काम गर्न सकिन्छ । 
न्युक्लियर इन्जिनियरिङ
 बौद्धिक क्षमताले रचनात्मक उपायका लागि बिज विकीरण र बिज शक्ति निर्माण गर्ने कार्य यस क्षेत्रमा लागेकाले गर्ने गर्छन् । यस क्षेत्रमा भविष्य राम्रो छ तर थोरैमात्र यस विषयमा सफल हुने गरेका छन् । रोजगारीको राम्रो अवसर भए पनि यो केही हदसम्म जोखिमपूर्ण पनि छ ।
इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्जिनियरिङ 
 हाल विश्वमा जति पनि मोबाइल, कम्प्युटर ,विद्युतीय र सञ्चार उपकरण आविष्कार भएका छन्, ती सबै इलेक्ट्रोनिक्स र कम्युनिकेसन इन्जिनियरको देन हो । कुनै पनि क्षेत्रमा इलेक्ट्रिकल उपकरणविना कार्य सफल हुन असम्भव प्रायः छ । विद्यार्थीको लागि यो क्षेत्र पनि राम्रो मानिन्छ । 
माइनिङ इन्जिनियरिङ 
 यस क्षेत्रमा डिग्री गरेपछि रुचिअनुसार केही भूमिगत छानबिनमा लाग्न सक्छन् भने कोही सूक्ष्म उपकरण बनाउनतर्फ लाग्न सक्छन् । यस क्षेत्रमा भविष्य राम्रो भए पनि यो पनि जोखिमपूर्ण नै छ । यस क्षेत्रमा कमैमात्र विद्यार्थी लागेको पाइन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री