
सरकारले उपत्यकामा कोरोना महामारी भयावह भए हालको स्वास्थ्य सामर्थ्यले धान्न नसक्ने भन्दै नागरिकलाई सचेत हुँन आग्रह गरेको छ ।
आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै नागरिकलाई सचेत हुँन आग्रह गरे ।
६० प्रतिशत संक्रमित काठमाडौंमै रहेका र क्रिटिकल केयर चाहिने अवस्थाका संक्रमित पनि यहीँ बढी भएकाले हालको स्वास्थ्य सामर्थ्यले धान्न नसक्ने उनको भनाइ छ । ‘हाम्रो सामर्थ्य बढ्दै गएको छ, तर जुन अनुपातमा संक्रमितको संख्या बढेको छ । त्यसले चुनौती थपेको छ’ मन्त्री ज्ञवालीले भने ।
कोरोना महामारीलाई हल्का ढंगले लिन नहुने पनि उनले बताए । ‘१० लाख ५० हजार भन्दा बढीको ज्यान लिने रोग सामान्य हुँदै होइन’ उनले भने ‘यसप्रतिको उच्च सतर्कतालाई रत्तिभर पनि कम गर्नु हुँदैन ।’ नेपालमा संक्रमणको श्रृङ्खला रोक्न नागरिकको सचेतता एकदमै जरुरी छ ।’
मन्त्री ज्ञवालीले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको बताए । उनले आफ्ना अभिभावक र मान्यजनलाई कोरोनाबाट जोगाउन सबै सचेत हुनुपर्ने बताए । ‘हाम्रा अभिभावक, ज्येष्ठ नागरिकको सुरक्षा हाम्रो निम्ति एकदमै महत्वपूर्ण छ । हाम्रो सानो लापरवाहीले उहाँहरुको जीवनमा जोखिम पुर्याउँछ’ उनले भने ।










प्रतिक्रिया