लेखा अधिकृतसहित ११ जनाविरुद्ध घुस लिएको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगञ्जका लेखा अधिकृतसहित ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Advertisement

आयोगका अनुसार लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अपरेटर अरुणराज खनाल, लेखापाल इन्द्रबहादुर खत्री, सहलेखापाल पैमबहादुर खत्रीको मिलेमतोमा आर्थिक वर्ष २०७६÷०७७ का लागि सेवा प्रदायक फर्म तथा पसलबाट रु १९ लाख १३ हजार ७० बराबरको नगद र जिन्सी लिई भ्रष्टाचार गरेको पाइएको छ ।

आयोगले नेपाल स्टोर नेपालगञ्जका सञ्चालक साहिद हुसेन हलवाईविरुद्ध रु २० हजार, लुम्बिनी स्टेशनरीका सञ्चालक पूर्णीमा भण्डारीविरुद्ध रु ४५ हजार, कमला इन्टरनेशन तथा कृष्णा इन्टरनेशनका सञ्चालक दिपेन्द्र अग्रवाल, हनुमत स्टेशनरीका सञ्चालक राजेन्द्रकुमार सोनीविरुद्ध रु ९९ हजार बराबरको मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले रिजाल इन्फोसिसका सञ्चालक सुदिप रिजालविरुद्ध रु ६० हजार, रोशनी स्टिलका सञ्चालक इजामुद्दिन खाँविरुद्ध रु ६० हजार, रुबी इलेक्ट्रिकलका सञ्चालक अब्दुल अलि अन्सारीविरुद्ध रु ५६ हजार, अम्बे फर्निसिङका सञ्चालक पङकजकुमार श्रेष्ठविरुद्ध रु ९६ हजार, न्यू निजाम स्टोर नेपालगञ्जका सञ्चालक कमालुद्दिन मुकेरीविरुद्ध रु एक लाख ६१ हजार र ओसियन इन्टरनेशनका सञ्चालक अविनशकुमार अग्रवालविरुद्ध रु एक लाख १८ हजार ६०० बराबरको बिगो दावी गर्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

आयोगले केही समय पहिले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई विभिन्न फर्म तथा पसलेबाट कमिसन वापतको रकम र चेक समेत लिएको भन्ने सूचानका आधारमा रु १६ लाख १३ हजार ९७५ स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा लेखा अधिकृत, कम्प्युटर अपरेटर, लेखापाल तथा सहलेखापालको मिलेमतोमा नै व्यवसायीसँग पैसा उठाएको पाइएको थियो ।

Advertisement

सरकारी कर्मचारीलाई गैरकानूनी रुपमा घुस दिएको पाइएपछि आयोगले कर्मचारीसहित व्यवसायीविरुद्ध समेत आज विशेष अदालतमा बिगो बमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री