शनिबार, ८ वैशाख २०८१

निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल पारौँ

समयपोष्ट २०७४ कार्तिक ९ गते ७:५२

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधि सभाको आगामी मंसिरमा हुने निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल पार्न आह्वान गरेका छन् ।   

Advertisement

मुलुकको एक मात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) को भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयको नयाँ भवनको आज शिलान्यास गर्दै उनले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउनुपर्ने खाँचो औल्याए । 

सञ्चार माध्यमले विगतका लोकतान्त्रिक एवं प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै प्रम देउवाले भने, “देशमा संविधानको कार्यान्वयन गर्दै राजनीतिक स्थायित्वमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउन होस् वा आउँदो निर्वाचनमा नागरिकलाई सहभागी बनाई आफ्नो लोकतान्त्रिक हक, अधिकारको रक्षा गर्ने सन्दर्भमा होस्, राससले निष्पक्ष तथा संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध भूमिकालाई सधैँ अवलम्बन गर्नेछ भन्ने मेरो विश्वास रहेको छ ।” 

उनले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत राष्ट्रको विकास र एकतामा टेवा पु¥याउने तथा आम जनताको महत्वाकांक्षाको सम्बोधन गर्न आफू सधैँ क्रियाशील रहनेमा प्रतिबद्धता व्यक्त गरे । 

प्रम देउवाले भूकम्पबाट क्षतिग्रस्त रासस कार्यालयको भवन शिलान्यास गर्न पाएकामा खुशी व्यक्त गर्दै पुनःनिर्माणलाई निरन्तर र अविच्छिन्नरुपमा गर्ने सरकारको प्रयासमा महत्वपूर्ण अवसर भएको स्पष्ट पारे । 

प्रजातन्त्रको पुनःस्थापनापछि आमसञ्चार जगत् उद्योगका रुपमा विकसित भएको प्रम देउवाले चर्चा गर्दै उनले हाल निजी क्षेत्रबाट पनि समाचार समिति सञ्चालन गर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरे । 
 उनले भने, “हालसम्म कुनै पनि निजी समाचार संस्थाले आकार लिन नसकेको परिस्थितिमा रासस एक्लैले देश विदेशका समाचार संकलन गर्दै आमसञ्चारजगत्लाई समाचार सेवा उपलब्ध गराउँदै आएको छ, यो तपाईंहरुकै अथक मिहिनेतबाट सम्भव भएको हो ।” 

प्रम देउवाले सरकारी सञ्चारमाध्यमका रुपमा विसं २०१८ मा स्थापित राष्ट्रिय संवाद समितिबाट राष्ट्रिय समाचार समितिमा परिणत हुँदै निष्पक्ष, आधिकारिक, विश्वसनीय, समाचार संप्रेषण गर्ने समाचार बैंकका रुपमा रासस स्थापित भएको बताए । 

प्रजातन्त्र खोसिएको समयमा रासस स्थापित भएर पनि यसले विभिन्न कालखण्डमा सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्दै आएको बताउँदै उहाँले लोकतान्त्रिक संस्थाका रुपमा आफ्नो स्थान कायम राख्न राससले गरेको प्रयास सुखद भएको स्मरण गरे । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री