शुक्रबार, १४ वैशाख २०८१

संरक्षणमैत्री नेपाली चाडपर्व

समयपोष्ट २०७४ कार्तिक ९ गते ५:२१

मनोज पौडेल

Advertisement

अस्ट्रेलियाका पर्यटक अलेक्जान्ड्रिया कोमिनोले कपिलवस्तुको तौलिहवामा तिहारका बेला निकालिएको लक्ष्मी झाँकीमा चरा बनाएको देखेपछि दङ्ग परिन् । प्रकृतिप्रेमी उनले चासो दिँदै सोधपुछ गरिन् । ‘चरा संरक्षणका लागि नेपाली संस्कृति र पर्व विश्वमै नौलो पाएँ’, उनले भनिन्– ‘यसलाई अस्ट्रेलियामा व्यापक बनाउँछु ।’ ‘चारैतिर चरा लोप भई हराउन थालेको छ’, उनले भनिन्– ‘नेपाली धर्म–संस्कृति संरक्षणको गतिलो माध्यम हुन सक्छ । त्यसलाई अझ व्यापक बनाउनुपर्छ ।’ उनले भनिन्– ‘यसबाट विश्वले नै सिक्नुपर्छ ।’

उनी जस्तै अस्ट्रियाका वन्यजन्तु फोटो पत्रकार क्लाइड ओडोनेलले तिहारमा घुम्न आएका बेला काग, कुकुर, गाई र गोरु पूजा गरेको देखेपछि अचम्म परे । ‘फोटो खिच्न विश्वका धेरै मुलुक गएँ’, उनले भने– ‘यस्तो प्रकृतिप्रेमी संस्कृति विश्वमा कहीँ पाइनँ । यसले पशुपंछी र नागरिकको सम्बन्ध प्रगाढ छ भन्ने देखाउँछ ।’ उनले भने– ‘संसारकै लागि प्रेरणामूलक बनेको छ ।’ 

वास्तवमै नेपाली धर्म–संस्कृति र रीतिरिवाज प्रकृति, चरा, सरिसृप र वन्यजन्तुमैत्री छ । नजानिँदो तरिकाले धर्म–संस्कृतिले प्रकृतिलाई बचाएको छ । चाडपर्वमा पूजाआजा गर्दा सचेतना हुन्छ । यसले थोरै भए पनि नागरिक महत्व बुझेर संरक्षणमा लाग्छन् । वातावरणीय सन्तुलन र इकोसिस्टम (पारिस्थिकीय प्रणाली) लाई जोगाएको छ । चराले हानिकारक कीरा–फट्याङ्ग्रा खाने गर्छन् । यसले बालीनाली उत्पादन बढाउन पनि मद्दत गर्छ । 

जुलोजिकल सोसाइटी अफ लन्डनका देशीय प्रतिनिधि तथा वरिष्ठ चराविद् डा. हेमसागर बरालले नेपालीको दोस्रो चाड तिहार विश्वलाई सन्देश दिने नेपालको एक मात्र चाड हो भनेका छन् । ‘यो चाडमा के हुँदैन, प्रकृतिका सबै पक्षको पूजा र मान–सम्मान गर्ने तिहारमा यमराजदेखि देवीदेउतासम्म र पशुपंछीदेखि मानिससम्मको पूजा गरिन्छ’, बराल भन्छन्– ‘सृष्टि सञ्चालन गर्न हरेक पक्षको सहयोग हुन्छ, पहाड नभए जीवजन्तु बाँच्न सक्दैन, नदी बग्दैन, जल वर्षा हुँदैन ।’ ‘जीवजन्तुकै कारण प्रकृति रमणीय हुन्छ’, उनले भने– ‘अन्न भण्डार बढ्छ, यसले मानव जीवनलाई उकास्छ ।

तिहारमा एकातिर दाजु–भाइ, दिदी–बहिनीबीच आत्मीयता र पवित्र स्नेह एवं सम्बन्धलाई पुष्टि गर्छ भने अर्कोतिर मानिस र पशुपंछीबीचको सम्बन्ध प्रगाढ रहेको प्रष्ट हुन्छ ।’ कछुवा तथा सरिसृप विशेषज्ञ प्रोफेसर डा. करणबहादुर शाह भन्छन्– ‘समाजमा सबै पक्षको बराबर अस्तित्व छ भन्ने मान्यतालाई तिहारमा गरिने पशुपंछीदेखि यमराज हुँदै मानिससम्मको पूजाले पुष्टि गरेको छ । यो व्यापक र विशाल नेपाली संस्कृति विश्वलाई उदाहरणीय छ ।’

cover story

तिहारमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी खुसी भए धन सम्पत्ति प्रसस्त आर्जन हुन्छ भन्ने जनविश्वास पनि छ । लक्ष्मीको पूजा गर्दा उनको वाहन लाटोकोसेरोको पनि पूजा गर्न थालिएको छ । लाटोकोसेरो कृषकको असल साथीका रूपमा चिनिन्छ । यसले बालीनाली हानि गर्ने कीरा–फट्याङ्ग्रा खाएर उत्पादन बढाउन सहयोग पुर्याउँछ। 

त्यही भएर यस वर्ष पहिलो पटक कपिलवस्तुको तौलिहवाका मूर्तिकार कृष्णदयाल ठाकुरले लक्ष्मी भगवान्को मूर्ति बनाउँदा उनको वाहन लाटोकोसेरो पनि बनाए । लक्ष्मीसँगै गणेश र सरस्वतीको मूर्ति बनाए । मूर्ति तल दुवैका वाहन मुसा र हाँस बनाएर नयाँ लुक दिएका थिए । वाहनसहित लक्ष्मीको ६ सेट मूर्ति बेचेका उनले भने– ‘नया“ सेट सबैले राम्रो माने, धन्यवाद पनि दिए । चरा र जनावर देख्दा सबै अचम्म परे ।’ उनले भने– ‘यसले थोरै भए पनि सचेतना बढेको छ ।’ ‘भगवान्को वाहन पो रै’छन्’, उनले भने– ‘मार्न हुन्न भनेर धेरै भनेको सुनेको छु । नजान्नेहरूले थाहा पाए’, उनले भने– ‘यसले आफ्नो सीप र दक्षता पनि तिखारिएको छ ।’

यहाँ तिहारका बेला तीन दिन गाउँ–सहरमा लक्ष्मी झाँकी  निकाल्ने चलन छ । यही झाँकी देखेर अस्ट्रेलियाका पर्यटक अलेक्जान्ड्रिया कोमिनो अचम्म परेकी थिइन् । ‘गजबको संस्कृति रै’छ’, उनले भनिन्– ‘भगवान्का कारण संरक्षणमा गतिलो टेवा पुग्ने रै’छ । यसलाई व्यापक बनाउँदै लैजानुपर्छ ।’ 

तिहार पशुपंछी संरक्षणको राम्रो माध्यम बनेको छ । अन्य पर्वमा एक–दुईवटालाई पूजा गरिन्छ भने तिहारमा आधा दर्जन बढीलाई गरिन्छ । ‘पूजाआजा गर्दा श्रद्धा हुन्छ’, चराविद् सोम जिसीले भने– ‘त्यस कारण पनि कम्तीमा मार्नुहुँदैन भनेर सचेतना हुन्छ । यसले चाड पनि संरक्षणको गतिलो स्रोत बनेको छ ।’ 

यमपञ्चकको पहिलो दिन अर्थात् कात्तिक कृष्ण त्रयोदशीमा काग पूजा गरिन्छ । अत्यन्त चलाख पछी मानिने कागले सबैलाई समान दृष्टि अर्थात् समदर्शी भावले हेर्छ र अन्नबालीमा लाग्ने कीरा–फट्याङ्ग्रा खाइदिने हुनाले पूजा गरिन्छ । यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइने यो पंछी यमराजको पनि प्रियभक्त हो ।

यमपञ्चकको दोस्रो दिन अर्थात् चतुदर्शीका दिन कुकुर तिहार मनाइन्छ । काग जस्तै कुकुरलाई पनि यमराजको दूतका रूपमा लिइन्छ । यसले घरको रेखदेख गर्ने, अपराधी पत्ता लगाउने, अनुसन्धानमा सहयोग गर्ने र मानिसको आज्ञापालक र रक्षकका रूपमा काम गर्दै आएको छ । प्राकृतिक एवं दैवी विपत्तिमा पूर्वसूचना दिने कुकुर भैरवको वाहन हो ।

लक्ष्मीकी प्रतिपूर्ति गाईलाई यमपञ्चकको तेस्रो दिन पुज्ने गरिन्छ । साँझ धनधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक लक्ष्मीको कात्तिक कृष्ण औँसीको यही रातमा घर–आँगन सबै उज्यालो हुने गरी दियो र बत्ती बालेर घरमा भित्रिन लक्ष्मीलाई आह्वान गरिन्छ । हिन्दू धर्मावलम्बीले सामाजिक संस्कार वा कुनै पनि धार्मिक काम गर्न गाईको गोबरले घर–आँगन लिपपोत गर्ने गर्छन् । गाईको गहुँत सबैतिर (घरभित्रका विभिन्न स्थान) छर्किने र चोखिन खाने पनि गर्छन् ।

यमपञ्चकको चौथो दिनलाई हलतिहार भनिन्छ । यो दिन गोरु र गोवद्र्धन (पहाड) को पूजा गरिन्छ । नेपालीले वर्षभरि अन्न उब्जाउन हलो तान्ने, पाटा लगाउने र दाइँ गर्ने लगायतका काम गर्ने भएकाले गोरुको पूजा गरिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री