बिहीबार, १३ वैशाख २०८१

बाबुराम-नारायणकाजी सम्बन्ध : तिक्ततापूर्ण ४ दशक

समयपोष्ट २०७४ कार्तिक ८ गते ३:०३

नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धामा छन् । 

Advertisement

गोरखा खोप्लाङका भट्टराई र जौबारीका नारायणकाजी एउटै जिल्लामा जन्मे-हुर्केको भए पनि भावनात्मक सम्बन्ध भने कोसौं टाढाको जस्तो छ । भिन्न पृष्ठभूमिबाट कम्युनिस्ट पार्टी र आन्दोलनमा जोडिएका यी दुवै नेता कुनै बेला एकै पार्टीमा पनि रहे । 

राजनीतिक लाइन, प्रवृत्ति, सोच्ने तरिका एकै खालको भए पनि यी दुई नेतालाई प्रतिस्पर्धी बनाइराख्न माओवादी अध्यक्ष पुष्पकमल दाहालले भूमिका खेलेको भट्टराईसँग एक समय सँगै रहेर काम गरेका नेता खिमलाल देवकोटा बताउँछन् । 

उमेर र पृष्ठभूमि
उमेरले भट्टराई श्रेष्ठभन्दा ६ वर्षले जेठा छन् । ०११ सालमा निम्न मध्यम परिवारमा जन्मिएका भट्टराई हुन् भने श्रेष्ठ ०१७ सालमा शिक्षित र सम्पन्न परिवारमा जन्मिएका थिए । यी दुवै नेतामा फरक धारको पृष्ठभूमि मात्रै छैन, -कतिपय विषयमा समानता पनि छन् ।
कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुअघि दुवै नेताको राजनीतिक पृष्ठभूमि कांग्रेससँग जोडिएको थियो।

दुवै नेता जुनकुनै विषयमा पनि आदर्शवादी सोच राख्छन् । प्रचारमा बढी रमाउन चाहन्छन् । आफैं पत्रकारको पृष्ठभूमिका भएकाले पनि भट्टराई- श्रेष्ठ दुवै प्रचारमा आफूलाई केन्द्रविन्दुमा राखिरहन रुचाउँछन् । श्रेष्ठ जनएकता तथा भट्टराई जनादेश साप्ताहिकमा सम्पादक थिए ।

पहिलो भेट
-एउटै जिल्लामा जन्मिएर बाल्यकाल गोरखामै विताए पनि यी दुई नेताको पहिलो भेट भने ०३५ सालमा मात्रै भएको थियो । काठमाडौं क्षेत्रपाटीमा ३९ वर्षअगाडि पहिलो पटक भेट भएको थियो । आफ्ना शिक्षकले आफूहरूको पहिलो पटक भेट गराइदिएको नेता श्रेष्ठ स्मरण गर्छन्।

-बाबुरामले ०३७ मा भारतमा अध्ययनकै क्रममा र नारायणकाजीले गोरखामै ०३८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिए . त्यतिबेला नेपालमा कम्युनिस्ट पार्टी एउटै सगोलमा थिएनन् ।

-०३९ सालमा मोहनविक्रम र निर्मल लामा समूहका रूपमा आएको विभाजनमा बाबुराम मोहनविक्रम र नारायणकाजी निर्मल लामा समूहतिर लागे ।

एउटै कमिटीमा

एक वर्षअघि-पछि कम्युनिस्ट पार्टीको सदस्यता लिएका भट्टराई- श्रेष्ठ ०४६ सालमा मात्रै एउटै कमिटीमा बसेर काम गरे । ०४६ सालको जनआन्दोलनका लागि साना वाम राजनीतिक शक्तिले संयुक्त रूपमा आन्दोलनका लागि निर्माण गरेको ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ मा पहिलो पटक यी दुई नेताले सँगै बसेर काम गरे ।

धोबीघाट गठबन्धनमा एउटै मोर्चा
०६८ मा माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाललाई एक्ल्याउन शीर्ष प्रायः नेता एकै ठाउँमा उभिए । माओवादीभित्र धोबीघाट गठबन्धनको नाममा चर्चित यो मोर्चामा भने दाहाल एकातिर र मोहन वैद्य, डा.भट्टराई, श्रेष्ठ, रामबहादुर थापालगायत नेता अर्कोतिर उभिन पुगे । जसलाई दाहाल पक्षका नेताले अध्यक्षविरुद्धको षड्यन्त्र र घेराबन्दीका रूपमा अथ्र्याउने गर्छन् ।

पार्टीभित्र दाहालको हैकमवादी सोच बढेको, शक्ति, स्रोत र साधनको दुरुपयोग गरेको आरोप लगाउँदै त्यसबेला भट्टराई- श्रेष्ठलगायत नेता एकै ठाउँमा उभिएको नेता खिमलाल देवकोटा बताउँछन् ।

गुटका नेता
भट्टराई- श्रेष्ठ दुवैलाई पार्टीको भन्दा पनि गुटको नेता बनेको आरोप निरन्तर लागिरह्यो । श्रेष्ठले पार्टीभित्र आफ्नो विचार समूहको नाममा अस्तित्व देखाउन चाहे पनि अहिले भने क्रमशः उनको त्यस्तो गुट भत्कँदै गएको मान्नेहरू माओवादीभित्र छन् । 

गोरखाको रहर
नारायणकाजी श्रेष्ठले गोरखा गृहजिल्लै भए पनि निर्वाचन लड्न पाएका थिएनन् । पहिलो संविधानसभामा उनी मन्त्रिपरिषद्बाट मनोनीत २६ जनाको टिममा परेर संविधानसभामा पुगेका थिए । तर, दोस्रो संविधानसभामा उनी मकवानपुर-४ बाट निर्वाचन उठे पनि जित्न सकेनन् । तर, बाबुरामले दुवै निर्वाचनमा गोरखाबाटै जित्दै आएका थिए । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री