शुक्रबार, १६ चैत २०८०

सी जिनपिङ माओपछिका सबैभन्दा शक्तिशाली नेता

समयपोष्ट २०७४ कार्तिक ८ गते २:४६

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिङको विचारधारालाई पार्टीको संविधानमा समावेश गर्ने निर्णय गरेको छ । संविधानमा सीलाई चीनका पहिलो कम्युनिस्ट नेता तथा संस्थापक माओत्से तुङसित बराबरी हैसियतको दर्जा दिइएको छ । ०१२ मा चीनका राष्ट्रपति बनेपछि सीको चिनियाँ सत्तामाथिको पडक लगातार बलियो हुँदै गएको छ ।

Advertisement

संविधानमा ‘सी जिनपिङ विचार’ लेख्ने पक्षमा सर्वसम्मत निर्णय भएको छ । कम्युनिस्ट पार्टीको कंग्रेसको अन्त्यमा यो निर्णय गरिएको हो । बेइजिङमा बन्द ढोकाभित्र आयोजित यस कंग्रेसमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । यो चीनको सबैभन्दा महत्वपूर्ण राजनीतिक बैठक हो, जसमा आगामी पाँच वर्षसम्म देशको सत्ताको बागडोर कसको हातमा हुनेछ भन्ने निर्णय लिने गरिन्छ ।

‘सी जिनपिङ विचार’
कम्युनिस्ट पार्टीको कंग्रेस १८ अक्टोबरमा सुरु भएको थियो । यस सुरुवातमा सी जिनपिङले तीन घन्टा लामो भाषण दिएका थिए । आफ्नो भाषणमा सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ नामको दर्शन पहिलोपल्ट पेस गरेका थिए । सीद्वारा यस दर्शनलाई पार्टीको कंग्रेसमा राखिसकेपछि पार्टीका शीर्ष अधिकारी र मिडियाका तर्फबाट यसको लगातार उल्लेख गरिँदै आएको थियो । यसलाई ‘सी जिनपिङ विचार’ भन्न थालिएको थियो । त्यतिखेरै यसको संकेत प्राप्त भएको थियो कि सीले पार्टीमा आफ्नो प्रभाव छाडेका छन् ।

बिबिसीका चीनस्थित सम्पादक केरी ग्रेसीको भनाइ छ कि पार्टीको संविधानमा ‘सी जिनपिङ विचार’ स्थापित हुनुको अर्थ यो भयो कि अब कुनै पनि प्रतिद्वन्द्वीले शक्तिशाली सी जिनपिङलाई कम्युनिस्ट पार्टीका नियमहरूको उदाहरण नदिई चुनौती दिन सक्दैन ।

यसअघि पनि कम्युनिस्ट पार्टीका नेताहरूका आआफ्ना विचार रहेका थिए । तर, माओत्से तुङका अतिरिक्त कसैको पनि विचारलाई पार्टीको संविधानमा ‘विचार’का रूपमा स्थान दिइएको थिएन । केवल माओ र देङ सियाओ पिङको नाम पार्टीको संविधानमा उनीहरूको विचारलाई लिएर समावेश गरिएको थियो ।

अब चिनियाँ स्कुलका बालबालिका, कलेजका विद्यार्थी र सरकारी कर्मचारीले कम्युनिस्ट पार्टीका नौ करोड सदस्यका साथ सी जिनपिङ विचार पढ्नेछन् । चीनमा सी जिनपिङ विचारका साथमा नयाँ ढंगमा चिनियाँ समाजवादी युग सुरु भएको छ । पार्टीले यस नयाँ युगलाई आधुनिक चीनको तेस्रो अध्याय नाम दिएको छ ।

पहिलो चरण अध्यक्ष माओको थियो । जसले गृहयुद्धमा फसेको चीनलाई बाहिर निकाल्नका लागि जनतालाई एकजुट गरेका थिए । दोस्रो चरण देङ सियाओ पिङको रह्यो, जसको शासनकालमा चीन एकजुट भयो । सियाओपिङले चीनलाई अनुशासित र विदेशमा थप शक्तिशाली बनाए ।

अब तेस्रो युग सी जिनपिङको सुरु भएको छ । अब सी जिनपिङको नाम पार्टीको संविधानमा समावेश गरिएको छ । यसपछि जबसम्म कम्युनिस्ट पार्टीका नियममा कुनै आँच आउँदैन, तबसम्म उनलाई कसैले चुनौती दिन सक्दैन । नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री