आइतबार, २९ असार २०८२

नेपाल इन्भेष्टमेण्ट बैंक बन्यो सवैभन्दा बलियो, चुक्ता पूँजी १० अर्ब नाघ्यो 

समयपोष्ट २०७४ कार्तिक ७ गते १०:३५

नेपाल इन्भेष्टमेण्ट बैंकले आर्थिक वर्ष २०७३–७४ सम्मको संचित मुनाफाबाट २०७४ आषाढ मसान्तमा कायम शेयर पूँजीको १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभाश दिने प्रस्ताव पारित गरेको छ ।

Advertisement

मंगलवार बैंक संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा सम्पन्न ३१औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।   साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी,सूर्यप्रकाशलाल श्रेष्ठ रपृथ्वीबहादुर पाँडे निविरोध निर्वाचित भएका छन । 

बोनस शेयर पारित भएसंगै बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड पुगेको छ जुन नेपालका निजी बैंकहरुमध्ये सबैभन्दा बढी हो । त्यसैगरी बैंकको सञ्चिति रकम पनि बढेर ८ अर्ब ८ करोड पुगेको छ भने शेयरधनी कोष रकम  १८ अर्ब ७० करोड पुगेको छ । यस बंैकको शेयरधनी कोष पनि निजी क्षेत्रका बैंकहरुमध्ये कै सबैभन्दा उच्च रहेको छ । 

नेपाल इन्भेष्टमेण्ट बैंकले आ.व. २०७३–७४ मा  ५ अर्ब २४ करोडको सञ्चालन मुनाफा कमाएको छ जुन अघिल्लो आ.व.२०७२–७३ भन्दा २६.७ प्रतिशतले बढी हो । त्यसै गरी खुदनाफा २२.१ प्रतिशतले बढेर ३ अर्ब ११ करोड पुगेको छ । बैंकको निक्षेप १५.७ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा लगानी २२.६ प्रतिशतले बढेर १ खर्ब ६ अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) रेसियो गत वर्षको ०.६८  प्रतिशतभन्दा बढेर ०.८३ प्रतिशत पुगेपनि आउँदा बर्षमा घटाएर अझ न्यूनतम् स्तरमा लैजाने बैंकको प्रयास जारी रहनेछ । 

बैंकिङ क्षेत्रलाई थप सक्षम तथा एकिकृत गर्नको निम्ति नेपाल राष्ट्र बैंकले लिएको मर्जर वा प्राप्तीको नितिलाई आत्मसाथ गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेन्ट बैंक लि.लाई प्राप्ती गरी मिति २०७४ आषाढ २९ गतेबाट एकिकृत कारोबार सुरु गरेको थियो । एस प्राप्तीपश्चात् बैंकको काठमाण्डौं उपत्यका भित्र २३ तथा उपत्यका बाहिर ३८ गरी जम्मा ६१ वटा शाखा कार्यालय, ३ वटा एक्सटेन्सन काउन्टर तथा ९९ वटा एटिएम पुगेको छ । 

Advertisement

nilb 3

यस वर्षदेखि बैंकले ग्राहकवर्गको सुविधा हेतु नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन कार्यको लागि सम्झौता गरी मासिक विद्युत महसुल बैंकबाटै भुक्तानी गर्न सबै शाखा तथा इ–बैंकिङमार्फत सेवा सुरुवात गरेको छ । साथै बैंकले सर्वसाधारणलाई सरकारी राजश्व संकलनमा सुलभता होस भन्ने उदेश्यले देशका विभिन्न ११ स्थानका यातायात व्यवस्था कार्यालयमा राजश्व संकलन केन्द्र खोली नयाँ सुविधाको थालनी गरेको छ । 

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने, समयानुकुल प्रविधिको प्रयोग गरी ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ  ।  

यसवर्षदेखि बैंकले एटिएम र पस मेसिन दुबैमा प्रयोग गर्न आफ्नो कार्ड संजालमा मास्टर कार्डको सेवासंचालनमा ल्याएको छ । साथै आफ्ना चार लाखभन्दा बढी कार्ड प्रयोगकर्ताका डाटालाई अझ सुरक्षित बनाउन बैंकले विश्व विख्यात डाटा सुरक्षा मापदण्ड (पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटी स्टान्डर्ड) सेवाको ३.२ संस्करण प्रमाणिकरण प्राप्त गरेको  छ ।
 नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ‘दि बैंकर’ फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक ‘बैंक अफ दि इयर’ उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट “क” वर्गको रेटिङ पनि २०६७/०६८ देखि लगातार हासिल गर्दै आइरहेको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री