शनिबार, १५ वैशाख २०८१

यस्तो छ सिटिजन्स बैंकको नाफा घट्नुको मुख्य कारण

समयपोष्ट २०७४ कार्तिक ७ गते ५:४८

सिटिजन्स बैंक इन्टरनेसनलको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा सात प्रतिशतले घटेको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ९० लाख ९९ हजार रुपैंया खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा ३४ करोड ५१ लख ५७ हजार रुपैंया खुद नाफा कमाएको थियो । 

Advertisement

समीक्षा अवधिमा बैंकको खुद नाफा दुई करोड ६० लाख ५८ हजार रुपैंयाले घटेको हो । बैंकले गत आर्थिक वर्षको असोज मसान्तमा खराब कर्जाबाट ४४ करोड ५८ लाख सात हजार रुपैंया राइट व्याक गरेको थियो । जसका कारण उसको खुद नाफा पनि धेरै देखिएको थियो । यस पटक भने बैंकले जम्मा सात करोड १० लाख ५९ हजार रुपैंया मात्र राइट व्याक गरेका कारण खुद नाफा प्रभावित बनेको हो । 

बैंकले असोजसम्ममा ५४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब छ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खुद ब्याज आम्दानी ४८ करोड १४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो बर्षको तुलनामा साढे चार करोड रुपैयाँ भन्दा धेरैले बृद्धि भएको हो।

बैंकले एक बर्षमा पाँच अर्ब ५३ करोड रुपैयाँबाट चुक्ता पूँजी बढाएर आठ अर्ब दुई करोड रुपैयाँ पुर्याएको छ। बैंकको पूँजी कोष अनुपात २.५६ प्रतिशतले बढेको छ। गत बर्षको असोज मसान्तमा १३.४५ प्रतिशत रहेको पूँजी कोष अनुपात यसपाली बढेर १६.०१ प्रतिशतमा पुगेको हो। बैंकको खराब कर्जा पनि १.७३ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री