शुक्रबार, १४ फागुन २०७७

वार्षिक तीन खर्ब रुपैयाँ कर उठाउने आन्तरिक राजश्व विभागमा कर्मचारी अभाव, सेवाग्राही मर्कामा

समयपोष्ट २०७४ असोज ३० गते ८:३०

वार्षिक तीन खर्ब रुपैयाँ कर उठाउने आन्तरिक राजश्व विभागले देशभरका कर कार्यालयमा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारीको व्यवस्था गर्न सकेको छैन।कर्मचारी नहुँदा करदाता सेवा कार्यालयमा कर तिर्न जाँदा सेवाग्राहीले दुःख पाउने गरेका छन्। विभागले करदातामैत्री सेवा दिएको दाबी गरे पनि सेवाग्राहीले भने कर तिर्न जाँदा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारी नभएर सास्ती खेप्नुपरेको छ। 
 
चावहिलका रमेश दाहालले, आयकर बुझाउन करदाता सेवा कार्यालय चावहिल जाँदा बैंक भौचर भरेर आय करसम्बन्धी विवरण कम्प्युटरमा प्रवेश गराउने ठाउँमा कर्मचारी नराखी, सेवाग्राहीले नै भर्नुपर्ने व्यवस्था गरिएकाले दिनभर झन्झट व्यहोर्नु परेको बताए।
 
दिनभर उभिएर बस्न बाध्य करदाताले कर कार्यालयमा कर्मचारीको व्यवस्था गरेको भए यस्तो दुःख पाउनु नपर्ने उनले बताए।
 
विभागले ‘गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने नाराका साथ कर उठाइरहेको छ। तथ्यांक प्रवेश (डाटा इन्ट्री) गराउने कम्प्युटरमा कर्मचारीको व्यवस्था छैन भने कर्मचारी राखिएको ठाउँमा पनि नबस्दा सेवाग्राहीलाई असजिलो हुने गरेको छ।
 
विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेल देशभर कर उठाउने कार्यालयमा करको तथ्यांक प्रवेश गराउने कर्मचारीको व्यवस्था नगरिएको बताउँछन्। “कर अनलाइनबाट बुझाउन सकिने भएकाले र प्रविधिमा पनि एड्भान्स्ड रुपमा गइसकेकाले कर्मचारीको व्यवस्था नगरिएको हो, नजान्नेलाई सिकाउन सहयोग कक्षको व्यवस्था गरिएको छ”, उनले भने।
 
गत आर्थिक वर्षमा दुई खर्ब ५८ अर्ब रुपैयाँ कर उठाएको विभागले चालू आर्थिक वर्षमा तीन खर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ। विभागले ४९ कार्यालयमार्फत कर संकलन गरिरहेको छ। देशभर २२ आन्तरिक राजश्व कार्यालय र २६ करदाता सेवा कार्यालय छन्। सेवा कार्यालयमध्ये  उपत्यकामा १३ वटा र उपत्यका बाहिर पनि १३ वटानै रहेका छन्।रासस 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री