शनिबार, १५ वैशाख २०८१

निर्वाचन आयोगले बोली फेरेपछि नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहणको बाटो खुल्यो, साँझ ७ बजे सपथ ग्रहण

समयपोष्ट २०७४ असोज २८ गते १०:३१

प्रतिनिधि सभा चुनावको मुखमा गरिएको मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरित भयो भन्दै  निर्णय सच्याउन आग्रह गरेको  निर्वाचन आयोगले बोली फेर्दै  मन्त्रीपरिषद् विस्तार ‘निर्वाचन आचारसंहिता विपरित’ भन्न नमिल्ने बताएको छ । राप्रपाका ८ जना थपेर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेको भोलिपल्ट शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयुक्तहरुसँग परामर्श गरेकी थिइन् । छलफलमा आयोग पदाधिकारीहरुले सपथ राष्ट्रपतिको अधिकार क्षेत्रभित्रको विषय भएको बताएका छन् ।

Advertisement

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचार संहिता निर्वाचन स्वतन्त्र, स्वच्छ रुपमा सम्पन्न गर्नका लागि भएको बताए । उनले  सरकार परिर्वतनले स्थानीय तहको निर्वाचनको स्वतन्त्रमा कत्ति पनि असर नगरेकाले अहिले पनि फरक नपर्ने बताए । उनले भने, ‘सरकार परिर्वतनले हाम्रो स्थानीय तहको निर्वाचनको स्वतन्त्रमा कत्ति पनि असर परेन । अहिले पनि आशा गर्छौं कि तोकिएको मितिमा निर्वाचन होस् ।’

आयोगको जवाफपछि नयाँ मन्त्रीको सपथ गराउन बाटो फुकेको छ । सपथ शनिबारै साँझ ७ बजे गराइने तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा हिजो पत्र पठाएका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापा बिना विभागीय मन्त्री ,राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिस गरिएको छ । 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री