शनिबार, ८ वैशाख २०८१

संसद् र प्रदेशसभाका लागि ३३७ प्रकारका मतपत्र छापिने, समानुपातिकतर्फको छपाइ शुरु

समयपोष्ट २०७४ असोज १७ गते ५:२०

 निर्वाचन आयोगले २०७४ मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ सात गरी ३३७ प्रकारका मतपत्र छाप्ने तयारी गरेको छ ।

Advertisement

आयोगले असोज १७ अर्थात्  मङ्गलबारबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको जनाएको छ ।  मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए   ।

समानुपातिकतर्फको मतपत्रको छपाइ आउँदो कात्तिक ८ गतेभित्र पूरा हुनेछ । निर्वाचनका लागि मतदाताको संख्या यकिन भइ नसके पनि समानुपातिक निर्वाचन प्रणालीका लागि हल्का रातो रङको झण्डै एक करोड ८० लाख मतपत्र छापिनेछ । त्यसलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्रको छपाइको काम शुरु हुनेछ ।

यहि १८ र १९ गतेभित्र मतदाता नामावलीको प्रसोधन सकेर तत्कालै थप मतदाता परिचयपत्र छपाई सुरु गरिने छ । एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनका चुनाव चिह्न रहनेछन् । समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्दसूची यही असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशन भइसकेको छ । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई आयोगले निर्वाचन चिह्न निर्धारण गरिसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश एकमा ८७, प्रदेश दुईमा ८६, प्रदेश तीनमा ८६, प्रदेश चारमा ८२, प्रदेश पाँचमा ८४, प्रदेश छमा ८२ र प्रदेश सातमा ८३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने जानकारी आयोगलाई दिएका छन् ।  प्रदेशसभा सदस्य निर्वाचनमा सम्बन्धित प्रदेशमा राजनीतिक दलको सहभागिताअनुसार आयोगले सात प्रकारका मतपत्रको व्यवस्थापन गर्नेछ । 

मतपत्रका लागि आयोगले ६०० टन कागजको व्यवस्थापनसमेत गरिसकेको जनाइएको छ । आउँदो निर्वाचनमा सुरक्षा फौजबाहेक दुई लाखको हाराहारीमा जनशक्ति परिचालन हुने जनाइएको छ ।
मंसिरमा हुने निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिक प्रणालीबाट २२९ जना चयन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री