मंगलबार, ६ साउन २०८२

आज लक्ष्मीपूजा, भुलेर पनि नगर्नुहोस् यस्ता काम

समयपोष्ट २०७६ कार्तिक १० गते ५:०१

आज लक्ष्मीपूजा । आज बेलुकी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइन्छ । आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई बोलाउने गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि आज बेलुकी आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

यस्तै आज बेलुकी समूह बनाई घरघरमा भैलो खेल्ने चलन छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

नगर्नुहोस् यस्ता काम

१. लक्ष्मीपूजाको दिन बिहान सबेरै उठ्नुहोस् । छिटो उठेर सरसफाइ सहित पूजापाठ गर्नुहोस् ।

२. लक्ष्मीपूजाको दिन नङ काट्नु हुँदैन । साथै दाह्री वा कपाल पनि काट्नु हुँदैन ।

३. पूजा गर्ने स्थलमा क्रमशः बायाँबाट दायाँतर्फ भगवान गणेश, लक्ष्मी, विष्णु, सरस्वती र कालीको मूर्ति राख्नुपर्दछ । त्यसपछि लक्ष्मण, राम र सीताको मुर्ति राखेर पूजा गर्नुपर्छ ।

४. लक्ष्मीपूजाको दिन उपहार दिन जाँदा छालाको वस्तु धारण गर्नु हुँदैन । साथै उपहारमा मिठाइ समेत थपेर दिनुहोस् ।

५. लक्ष्मी पूजा गर्दा तालि बजाउनु हुदैन, साथै ठुलो आवाजमा आरती समेत गाउनु हुदैन ।

६. लक्ष्मीपूजाको दिन झुट बोल्नु हुँदैन, तथा घरमा फोहोर राख्नु हुदैन । दया र दानको भावना राख्नुपर्दछ ।

७. देवी लक्ष्मीको पूजा गर्दा भगवान विष्णु साथमा नराखी उपासना गर्नुहुँदैन । यसलाई अपूरो मानिन्छ ।

८. लक्ष्मीपूजाको दिन पूजा कोठा सफा र हरेक सामग्री मिलाएर राखिएको हुनुपर्छ ।

९. लक्ष्मीपूजाको रातभरि अनिवार्य दियो बालेर राख्नुपर्दछ ।

१०. घरका सबै सदस्यले उत्तरतर्फ मुख फर्काएर उत्तरपूर्व दिशामा पूजा गर्नुपर्छ ।

११. पूजा गर्दा मात्र घिउमा दियो बाल्नुहोस्, दियो ११, २१ वा ५१ को संख्यामा हुनुपर्दछ ।

१२. आराधना गर्ने गणेशको मूर्तिको बसेको हुनुहुँदैन साथै सुँड दायाँतर्फ फर्केको हुनु हुँदैन ।

१३. लक्ष्मीपूजा गर्दा सकेसम्म रातो रंग भएका वस्तुको मात्र प्रयोग गर्नुपर्छ । अर्थात दियो, मैनबत्ति, फूल लगायतका वस्तु रातो हुनुपर्छ ।

१४. लक्ष्मीपूजा गर्दा शुरुमा गणेशको पूजा गर्नुपर्छ । कुनै पनि पूजामा गणेशको आराधना पहिले गर्नुपर्छ ।

१५. देवी लक्ष्मीलाई शान्तिप्रिय मानिन्छ, तसर्थ परिवारका सदस्यबीच सो दिन झगडा हुनुहुँदैन ।

१६. लक्ष्मीपूजामा घरका सबै सदस्यले एकैसाथ मिलेर लक्ष्मीको आराधना गर्नुपर्छ ।

१७. लक्ष्मीपूजाको दिन माछामासु, मदिरा तथा धूम्रपानको सेवन गर्नुहुँदैन ।

१८. लक्ष्मी पूजाको दिन सकेसम्म सात्विक तथा शाकाहारी भोजन गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री