शुक्रबार, १६ चैत २०८०

४० मेगावाट क्षमताको रघुगङ्गा आयोजनाको निर्माण अघि बढ्यो

समयपोष्ट २०७५ असोज १ गते १:५०

म्याग्दीस्थित चालिस मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ ।

Advertisement

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि रु छ अर्बमा २०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्शले प्रारम्भिक चरणको काम शुरु गरेको हो ।

ठेकेदार कम्पनीले नक्साङ्कन (डिजाइन)को काम सकेर बाँध, सुरुङसम्म पुग्ने सडक निर्माण र व्यवस्थापकीय काम शुरु गरेको रघुगङ्गा हाइड्रोपावर लिका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको ठेकेदारले पूर्वतयारीको कामलाई तीव्रता दिएको छ ।
प्रवेशबिन्दु घुमाउनेतालदेखि पिप्लेतर्फ ६०० मिटर सडकको ट्याक खुलेको छ । आवासगृह भवन निर्माण र विद्युत्गृह क्षेत्रमा काम गर्नका लागि झाडी, रुख हटाउने र उपकरण जुटाएर तयारी अवस्थामा राखेको छ ।

ठेक्का सम्झौताको स्वीकृतिका लागि ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले छ महिना लगाउँदा ठेकेदार परिचालनमा ढिलाइ भएको हो । सिभिल निर्माणको काम ३९ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ ।

पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको आयोजनामा विगत नदोहोरियोस् भन्ने सरोकारवालाको अपेक्षा छ । म्याग्दीको जलविद्युत् विकासको मेरुदण्ड मानिएको रघुगङ्गालाई सहजरुपमा समयमै सम्पन्न गराउनुपर्ने प्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो ।

यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको हो ।

स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दीको मङ्गलागाउँपालिका–३ बरङ्जामा रु डेढ करोडभन्दा बढीको लागतमा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि स्वास्थ्यचौकीको सेवाप्रवाहमा सहजता र सुधार हुने अपेक्षा गरिएको छ ।

विसं २०७२ देखि शुरु भएको भवन निर्माण कार्य हालै सकिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाअध्यक्षक बिन्द्र रोकाले बताउनुभयो ।

भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माणका लागि रु एक करोड ६९ लाखमा वल्ड वाइड भगवती मालीका जेभीले ठेक्का लिएको थियो ।

सदरमुकामस्थित बेनी अस्पतालको ५० श्यया क्षमताको भवन निर्माणाधीन अवस्थामा छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री