मंगलबार, ४ वैशाख २०८१

बाढी पहिरो प्रभावितले पाए राहत

समयपोष्ट २०७५ भदौ ३१ गते २:५५

गत बुधबार आएको बाढी पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । विपद् पीडितको घरदैलोमा पुगेर राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

Advertisement

बाढी पहिरोमा परी मृत्यु भएका मस्र्याङ्दी गाउँपालिकाका चारजनाका परिवार र विपद्को कारण घर क्षति भएका १२ परिवारलाई राहत वितरण गरिएको प्रजिअ झङ्कनाथ ढकालले बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोमा परी मृतकका परिवारलाई जनही एक लाख र मस्र्याङ्दी गाउँपलिकाबाट जनही रु ५० हजार प्रदान गरिएको हो । यसैगरी बाढी पहिरोले घर बगाएका पीडित परिवारलाई प्रतिघर ५० हजार र आंशिक क्षति भएकालाई रु २५ हजार प्रदान गरिएको समितिले जनाएको छ ।

राहत वितरणसँगै अवरुद्ध लमजुङ–मनाङ सडक खुलाउन डिभिजन सडक कार्यालय, दमौलीबाट प्रयास तीव्र पारिएको छ । प्रजिअ ढकालका अनुसार बेशीशहरको खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइसकिएको छ । हाल बेशीशहरदेखि मस्र्याङ्दी–७, ङादीसम्म सडक सञ्चालन भएको छ ।

मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाका पहिरोबाट प्रभावित २६ परिवारलाई जिल्ला प्रशासन कार्यालय र मस्र्याङ्दी गाउँपालिका–६ का जनप्रतिनिधिसँगको समन्वयमा न्यादी जलविद्युत् आयोजनाबाट प्रतिपरिवार ३० किलोका दरले चामल, चार किलोका दरले दाल, एक लिटरका दरले तेल र एक किलोका दरले नून वितरण गरिएको छ ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी, लमजुङ शाखाबाट शनिबार बाहुनडाँडा, रामबजार, अर्खलेबेशीलगायतका स्थानका प्रभावित १८ परिवारलाई त्रिपाल, कम्मल, भाँडाकँुडाको सेटसहितको गैरखाद्य सामग्रीको राहतस्वरुप वितरण गरिएको छ ।

प्रकोप व्यवस्थापन समितिले बहुक्षेत्रगत प्रारम्भिक द्रुत लेखाजोखा र क्षेत्रगतरूपमा भएको क्षतिको विवरण प्रस्तुत गर्नका लागि सम्बद्ध निकायलाई जिम्मेवारी प्रदान गरेको छ । विवरण प्राप्त हुनासाथ शीघ्र पुनः लाभ कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री