शनिबार, ८ वैशाख २०८१

खेलकूदका भौतिक पूर्वाधार निर्माणमा तीव्रता

समयपोष्ट २०७५ भदौ २९ गते ७:५५

–नीरज गौतम

Advertisement

नेपालगञ्जमा पूर्व घोषित समयमै आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना कायमै रहेको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभएको छ।

आज रासससँग कुरा गर्दै उहाँले खेलकूद पूर्वाधार निर्माणका लागि रोकिएको बजेट प्राविधिक टोलीको प्रतिवेदनका आधारमा निकासा हुन थालेकाले तोकिएको समयमा प्रतियोगिता हुनेमा आफू आशावादी रहेको बताउनुभयो । तोकिएको समयमा प्रतियोगिता हुन नसक्ने आशयको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि अध्यक्ष ओलीले केही कठिनाइका बाबजुद पनि पूर्व घोषित समयमा प्रतियोगिता आयोजना गर्न कुनै कसर बाँकी नराख्ने अठोटसमेत व्यक्त गर्नुभयो ।

आठौँं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आगामी मङ्सिर २१ देखि २८ गतेसम्मको मिति तोकिएको छ । अध्यक्ष ओलीले राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यस क्षेत्रका खेलाडीको बन्द प्रशिक्षण पनि चाँडै शुरु गरिने जानकारी दिनुभयो ।
नेपालगञ्जमा हुने आठौँं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको छ । राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ ।

पूर्वाधार निर्माण अन्तर्गत नेपालगञ्ज रङ्गशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ । रङ्गशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना आधुनिक बनाइएको छ । भूइँमा फ्लोरिङ गर्ने कामपनि सकिएको अध्यक्ष ओलीले बताउनुभयो । रङ्गशाला क्षेत्रमा झण्डै रु १८ करोडको लागतमा पौडी पोखरी र २४ करोडको लागतमा प्यारापिटसहितको अत्याधुनिक रङ्गशाला निर्माण भइरहेको छ ।

पूर्वाधार निर्माण अन्तर्गत रङ्गशालामा रु सात करोडको लागतमा ‘ट्र्याक एण्ड फिल’ निर्माणको काम पनि धमाधम भइरहेको छ । रङ्गशाला क्षेत्रभित्रै भारोत्तोलन एकेडमी, सुटिङ रेञ्ज निर्माणको काम अन्तिमचरणमा पुगेको छ । सुटिङका लागि आवश्यक एअर पेस्तोल र एअरगन खरीद प्रक्रिया पूरा भइसकेको छ ।

आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताका केही खेल बाँकेको कोहलपुर, बर्दिया र दाङमा पनि हुनेछ । त्यसका लागि बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदान वरिपरी पर्खाल निर्माण, दाङको बेलझुण्डीमा रु २५ करोडको लागतमा रङ्गशाला र बर्दियाको गुलरिया र ठाकुरद्धारामा खेलमैदान तथा कबर्डहलमर्मत एवं निर्माण भइरहेको छ । आठौँं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई ‘मष्कट’को रुपमा पारित गरिएको छ । केही दिनअघि खेलकूदमन्त्री एवं प्रतियोगिता मूलआयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको बैठकले अहिलेसम्म पूर्वाधार निर्माणको कामको समीक्षा गरेको थियो ।

प्रतियोगिता समयमै आयोजना गर्न सङ्घीय, प्रदेश नं ५ र त्यस अन्तर्गतका स्थानीय सरकारसँग क्षेत्रीय खेलकूद विकास समितिले सबै खाले सहयोग, सहकार्य र अपनत्व ग्रहण गर्न आग्रह गर्दै आएको छ । आगामी मङ्सिर २१ गतेदेखि नेपालगञ्जमा हुने आठाँै राष्ट्रिय खेलकूद प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री