बिहीबार, १३ वैशाख २०८१

निर्मला हत्या प्रकरण: ‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले सार्वजनिक माफी माग्नुपर्छ’,ओली र प्रचण्डले के भनेका थिए ?

समयपोष्ट २०७५ भदौ २९ गते ६:२८

काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले निर्मला हत्या प्रकरणमा प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।

Advertisement

नेता लेखकले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओली र प्रचण्डले निर्मला हत्या प्रकरणमा दिएको अभिव्यक्तिका कारण माफी माग्नुपर्ने बताएका हुन् ।

लेखकले फेसबुकमा लेखेका छन्, ‘निर्मला पन्त बहिनीको बलात्कार र हत्या प्रसङ्गमा झूठ्ठा बोल्ने सम्माननीय प्रधानमंत्री केपी. ओली र महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने षड्यन्त्र हो कि भन्ने पूर्व प्रधानमंत्री माननीय प्रचण्डले सार्वजनिक रूपमा माफी माग्नु पर्छ ।’

के भनेका थिए प्रधानमन्त्रीले ?

गत हप्ता ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कञ्चनपुर घटनाबारे सोधिएको थियो ।
जवाफमा प्रधानमन्त्रीले समाजलाई विकृतितर्फ लैजाने संगठित प्रयास भइरहेको बताएका थिए । घटनाप्रति सरकारको ध्यानाकर्षण भएको र सरकारले एसपी, सीडीओलाई फिर्ता बोलाएर अर्को उच्चस्तरीय छानबिन समिति बनाएको बताए । ‘तर, छानबिनलाई यसो हुनुहुँदैन । यसो हुनुपर्छ, यसै निश्कर्ष आउनुपर्छ भनेपछि छानबिन कसरी हुन्छ ? यसभित्र कुनै राजनीति मिसाइनु हुँदैन’ उनले भने ।

राजनीति मिसिएको छ ? भन्ने प्रश्नमा उनले भने, ‘म यति भन्छु कि राजनीति मिसाइनु हुँदैन ।’

उनले अघि भने, ‘पोष्टमार्टम गरेर घरमा लगेको शव घरबाट उठाएर मेयरको घरमा पुर्यााउनुपर्ने । यो के भएको ? परिवारले त शतगद गर्न पो लैजाँदै थियो । उनीहरुबाट खोसेर मेयरको आँगनमा लास लानु भनेको के हो ?’

उनले निर्मलाली साथी रोशनी बम र उनकी दिदी बबिता बमको हुर्मत लिने काम भएको भन्दै आपत्तिसमेत जनाए । यदि उनीहरु दोषी भए कारबाही गर्ने भन्दै ओलीले भने, ‘तर, कारबाही गर्नुभन्दा अगाडि केके भनिएको छ ? समाजले केके गरेको छ रु यस्तो गर्नुहुन्छ ?’

‘तिनीहरु दोषी हुन् कि होइनन् छानबिन गर्नुपर्छ । उनीहरु पनि अविवाहित महिला हुन्, तिनका पनि जीवन होला, तिनका पनि सपना होला । तिनको पनि इज्जत छ । यसो गर्थे, उस्तो गर्थे, झुट र अनुचित कुरा उचालेर हुर्मत लिने रु छिमेकी मन नपर्न सक्छ, कुनै पार्टीलाई भोट देलान् । यस्ता कुरा ल्याउनमिल्छ ?’

बम दिदीबहिनीमाथि क्रुर आक्रमण भएको प्रधानमन्त्री ओलीको दाबी थियो । घटनापछि प्रहरी प्रशासनले छानबिन गरिरहेको बेला आन्दोलन उठेको र हुलदंगा मच्चिएको र सरकारले अर्को छानबिन समिति बनाएपछि पनि यस्तो निश्कर्ष आउनुपर्छ भनेर काम गर्न नदिएको प्रधानमन्त्री ओलीको आरोप थियो ।

के भनेका थिए प्रचण्डले ?

त्यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार आयोजित एक कार्यक्रममा कञ्चनपूर घटनालाई राजनीतिकरण गर्न खोजेको भन्दै नेकपालाई नै असफल पार्न खोजिएको हो कि भनेर आशंका गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री