शुक्रबार, १४ वैशाख २०८१

देशमा समृद्धि ल्याउने लगानीका १० क्षेत्र

समयपोष्ट २०७५ भदौ १९ गते १३:१३

देशमा नयाँ संविधान र तीनवटा निर्वाचनपछि हाम्रो पुस्ताले देखेको सबैभन्दा बलियो सरकार बनेको छ । यो सरकारको लक्ष्य आर्थिक समृद्धि र विकास नै रहेको छ । यसको लागि सरकारले कुन क्षेत्रको विकास गरेर त्यो लक्ष्य पूरा गर्न सकिन्छ भनेर आफ्नो ध्यान केन्द्रित गर्न जरुरी छ ।

Advertisement

कृषि

सरकारले सबैभन्दा पहिले कृषिलाई आधुनिकीकरण नगरेसम्म हामी समृद्ध हुन सक्दैनौँ । कृषिले अहिले पनि हाम्रो कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ठूलो हिस्सा ओगटेको छ । त्यसैले कृषिमा यान्त्रिकीकरण, यसका सहकारीहरूलाई अझ विकास गर्ने र बजार प्रवद्र्धनदेखि लिएर यसमा निस्प्रडक्टहरूको खोज गर्नुपर्छ । हामीकहाँ सीमित मात्र जमिन छ, त्यसैले अब आउने समयमा धान, मकै, दाल र कोदो मात्र रोपेर किसानहरूलाई समृद्ध बनाउन सकिँदैन । अब हामीले निस्प्रडक्टहरू खोज गर्नुपर्छ । फलफूल, अलैँची, माछा, कुखुरा पालन यस्ता उत्पादन अब खोज्नुपर्छ, जसबाट समृद्धिको बाटो खुल्न सक्छ ।

जलविद्युत्

नेपालको समृद्धिको दोस्रो आधार भनेको जलविद्युत् नै हो । यो वर्षको अन्त्यबाट हामी जलविद्युत्मा आत्मनिर्भर हुन सक्छौँ । जुन हिसाबले जलविद्युत् परियोजना आइरहेका छन् र हामीले बिजुली निर्यात गर्न सक्यौँ भने यसले समृद्धिको बाटो खोल्छ । बङ्गलादेशसँग विद्युत् निर्यात गर्ने सम्झौता भएको छ । चाइनासँग पनि हाइब्रिड ट्रान्समिसन लाइन लैजाने कुरा भइरहेको छ । एक वर्षमा २०–२५ हजार मेगावाट बिजुली उत्पादन गर्न सक्यौँ भने समृद्धिका धेरै बाटोहरू खुल्छन् । त्यसैले जलविद्युत् देशको आर्थिक रूपान्तरणको लागि ठूलो आधार हो ।

पर्यटन

अहिले साना–साना देशहरूले पनि पर्यटक ३–४ करोड भित्र्याएको हामी सुन्छौँ । तर हाम्रो जस्तो सुन्दर देश, जहाँ हावापानीदेखि लिएर एडभेन्चर टुरिजमको लागि हिमाल, बायो डाइभरसिटी यो सबै कुरा अद्भूत छन् । यस्तै, धार्मिक महत्वका ठाउँहरू पनि छन् । यसलाई हामीले बजारीकरण गर्न सक्यौँ भने पक्कै पनि अहिले भएको १० लाखलाई चाँडै नै २० लाख गर्न सक्छौँ । भैरहवा एयरपोर्टलगायतका एयरपोर्ट खुलेपछि यो सम्भव पनि छ । नेपालमा धेरै पर्यटक आउन चाहन्छन्, नेपाललाई धेरैले माया पनि गर्दछन् । हामीले यसको पूर्वाधार राम्रो बनाउन सक्यौँ भने पक्कै पनि पर्यटक नेपालमा औइरिन्छन्, यसले समृद्धिको ठूलो बाटो खुल्छ ।

उद्योग

कुनै बेला नेपालको उद्योगले १४–१५ प्रतिशत हाम्रो जीडीपीमा ओगटेको थियो । अहिले ५–६ प्रतिशत मात्र ओगटेको छ । धेरैजसो यस्ता उद्योग छन्, जसले नेपाली कच्चा पदार्थ प्रगोग गरेर नेपालमा ठूलो मात्रामा उत्पादन गरेको छ । यस्ता उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ । निर्यातलाई हामीले प्रवद्र्धन गर्न सक्नुपर्छ । यस्ता उद्योगहरू जस्तै– सिमेन्ट, सुगर जसमा ९० प्रतिशत नेपाली कच्चा पदार्थ प्रयोग हुन्छ । यी सबै उद्योग र अरू पनि उद्योगहरू पहिचान गर्न सक्नुपर्छ । पहाडी भूभागमा धेरै खनिज तत्वहरू छन् । यस्ता खनिज तत्वलाई प्रशोधन गरेर विश्व बजारमा पु¥याउन सक्छौँ । यसले धेरै रोजगारी सिर्जना गर्न सक्छ । देशमै मूल्य निर्धारण गर्न सक्यौँ भने समृद्धिको बाटो खुल्छ ।

सेवा

अहिले सेवा क्षेत्रबाट धेरै काम गर्न सकिन्छ । नेपालमा आईटीलाई निकै विकास गर्न सकिन्छ । यसबाट विदेशी मुद्रा धेरै आर्जन गर्न सकिन्छ । अहिले पनि नेपाली युवाहरू जहाँ–जहाँ गएका छन्, आईटीमा धेरै राम्रो गरेका छन् । आईटीमा राम्रो पूर्वाधार बनाउन सक्यौँ र सरकारले राम्रोसँग हेरविचार गर्न सक्यो भने यसले देशमा समृद्धि ल्याउन सक्छ । किनभने यसले लाखौँ मानिसलाई रोजगारी दिन सक्छ ।
अहिले हामी नेपाल र चीनको बीचमा छौँ । दुवै राष्ट्र अहिले आर्थिक पावरहाउस बनेका छन् । त्यो हिसाबले धेरै काम नेपालमा गर्न सक्छौँ र उनीहरूसँग सिक्न पनि सक्छौँ ।

शिक्षा र स्वास्थ्य

अब हामी नेपाललाई स्वास्थ्यको रिजनल हब बनाउन सक्छौँ कि सक्दैनौँ ? एउटा हावापानीको हिसाबले पनि राम्रो छ, हामीकहाँ नर्सिङ केयरदेखि डाक्टरहरू पनि सक्षम छन् । यसको पूर्वाधार बनाएर हामीले शिक्षा र स्वास्थ्यका लागि ठूलो हब बनाउन सक्छौँ । यसको ठूलो अवसर छ । नेपालका उद्योग र उद्योगपतिका लागि यसमा राम्रो लगानीको अवसर छ ।

गुणस्तरीय जनशक्ति

अहिले हाम्रो अर्थतन्त्र रेमिट्यान्सले धानिरहेको छ । झन्डै ३० देखि ४० प्रतिशत साइजको रेमिट्यान्स आएको छ । हुन त रेमिट्यान्सलाई जीडीपीमा जोड्न मिल्दैन । तर अहिले समृद्धिको बाटो रेमिट्यान्सले नै खुलाएको छ । तर नेपाली बहिर गएर काम गर्दा सबैभन्दा तल्लो तहको जागिर गर्दछन् । अब आउने समयमा यसमा जुन तरिकाले पनि एउटा इलम विकास गरेर जो नेपाली बाहिर जान्छन्, राम्रो जागिर पाउन सकून् र स्वस्थकर काम गर्ने वातावरण पाओस्, यसमा ध्यान दिन जरुरी छ । रेमिट्यान्स बढाउनका लागि अब आउने दिनहरूमा गुणस्तरीय जनशक्ति बनाउन र बढाउन आवश्यक छ । यसबाट पनि समृद्धिको ढोका खुल्न सक्छ ।

परम्परागत मान्यता

नेपालमा परम्परागत मान्यताअन्तर्गत आयुर्वेद समावेश गर्न सक्छौँ । नेपालमा यस्ता जडिबुटीहरू छन्, जुन नेपाललाई मात्र छ । यार्सागुम्बालगायतका जति पनि जडिबुटीहरू छन्, यसलाई कसरी बढी भ्यालु इडिसन र पर्यटन जोडेर कसरी एउटा परम्परागत आयुर्वेद जुन स्टेन्थहरू छन्, यसलाई एक्सप्लोयट गर्दा यसले समृद्धिमा केही न केही टेवा दिन सक्छ ।

पानी

पानी विश्वमै ठूलो अभावको विषय हो । हामी अहिले पनि जलस्रोतको धनी राष्ट्र छौँ । तर कुनै पनि किसिमले जलस्रोतलाई प्रयोग गर्न सकेका छैनौँ । जलस्रोतलाई हामीले प्याकेजिङ वा कुनै पनि तरिकाले जललाई प्रयोग गरेर आफूले चाहेको बेला प्रयोग गर्न सक्यौँ भने यसले ठूलो मात्रामा समृद्धिको ढोका खोल्छ । जलस्रोतलाई हामीले बिजुली मात्र नदेखेर आमनेपालीलाई आयको स्रोत बनाउन सकिन्छ । अहिले यो गर्न सकेका छैनौँ ।

अहिले हामी एक हजार डलर परक्यापिटा पुगिसकेका छौँ । यो महत्वपूर्ण कोसेढुङ्गा पनि हो । अब हामी दुई हजार डलरको सपना पनि देख्न थालिसकेका छौँ । यो बाटो पक्कै पनि सफल हुन्छ होला । परक्यापिटा इन्कम दुई हजार डलरमाथि पु¥याउन सक्छौँ भने हामी गरीब राष्ट्रबाट अलिकति माथि आउँछौँ । यो हाम्रो जीवनकालमै सम्भव छ । तर मैले जुन कारणहरू उल्लेख गरेँ, त्यसमा ध्यान दियौँ भने हाम्रै जीवनकालमा सम्भव हुने कुरा छन् ।

योजना

समृद्धिको सपना निजी क्षेत्रको सहकार्य र सहभागिताबिना सम्भव छैन । सरकारले सबै ठाउँमा म मात्र लगानी गर्छु भन्यो भने त्यो सपना मात्र हुन्छ । हुन त संविधानअनुसार हामी समाजवादतिर उन्मुख राष्ट्र बन्न चाहन्छौँ । तर त्यसबाहेक हाम्रो संविधानले खुला बजार अर्थतन्त्रको पनि कुरा गरेको छ । यसको लागि निजी क्षेत्रको सहभागिता, पूर्ण विश्वास र यस्तो माहोल, जसमा निजी क्षेत्रले उत्साहका साथ लगानी गर्न सकोस् । बिनाडर–त्रास लगानी गर्न सकोस् । यो वातावरण बनाउने काम सरकारको हो । सुशासन दिने काम सरकारको हो, निजी क्षेत्रले सुशासन गर्न सक्दैन । जबसम्म सुशासन र लगानीमैत्री वातावरण हुँदैन, तबसम्म समृद्धिको सपना देख्न सकिँदैन । सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रतिपक्षी, समाजको शोषक दृष्टिकोणले हेर्ने हो भने कहिल्यै पनि समृद्धिको सपना पूरा हुँदैन । त्यो सपना नदेखे पनि हुन्छ । समृद्धिको सपना ल्याउने र त्यसलाई ड्राइभ गर्ने निजी क्षेत्र मात्र हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री