बिहीबार, १३ वैशाख २०८१

पद्मरत्न तुलाधरः जनताका पहरेदार

समयपोष्ट २०७५ भदौ १९ गते ८:४६

–गौतमबुद्ध वज्राचार्य

Advertisement

तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्नुभएका पद्मरत्न तुलाधरलाई सम्मान गर्न एकमहीने कार्यक्रम नै चलेको छ ।
मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तुलाधरको ज्याःजंक्व(भीमरथारोहण)को एकमहीने कार्यक्रमअन्तर्गत यही भदौ ३० गते उहाँलाई नागरिक अभिनन्दन गरिँदैछ । यही भदौ १६ गते वामपन्थी नेता तुलाधरलाई नेवारी परम्परानुसार ७७ वर्ष सात महीना सात दिन ७ घडी तथा ७ पलाको साइतमा भीमरथारोहण पनि गरिसकिएको छ ।
तुलाधर नागरिक अभिनन्दन समारोह समितिले भदौ १ गते देखि भदौ ३० गतेसम्म १२ कार्यक्रम गरी उहाँको सम्मान गरेको छ । अभिनन्दन समारोह समितिका अध्यक्ष शान्तदास मानन्धरले नेवार समुदायमा भीमरथारोहण अति महत्वपूर्ण रहेको र यस दिन मानिस भई जन्म लिएपछि एउटा अध्याय पूरा भएको मानिने बताउनुभयो ।
नेवार समुदायमा शिशु र वृद्धावस्था गरी दुई पटक जंक्व गर्ने चलन छ । नेपाल भाषामा वृद्धावस्थामा गरिने जंक्वलाई बूढोजंक्व र बूढीजंक्व भनिन्छ । बूढोजंक्व गर्दा रथमा बूढाबूढीलाई राखेर आफ्नो टोल छिमेक तथा शहर परिक्रमा गर्ने प्रचलन छ । यस्तो भीमरथारोहण नेवार समुदायमा वृद्धवृद्धालाई तीन पटकसम्म गर्ने प्रचलन छ ।

अध्यक्ष मानन्धरले वामपन्थी नेता तुलाधरको राजनीतिक योगदान निक्कै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “काँग्रेस र कम्युनिष्ट दुबैशक्ति एक ठाउँमा आएपछि मात्र बहुदलीय व्यवस्था पुनःस्थापना गर्न सकिने मान्यता राख्ने तुलाधरले सर्वोच्च कमाण्डर गणेशमान सिंह र त्यसबेलाको वाममोर्चालाई एक ठाउँमा ल्याएका थिए, पछि २०४६ प्रजातन्त्र ल्याउन नेपाली जनता सफल भए ।” बताउनुभयो ।

नेपाल भाषा मंका खलःमा नेतृत्वमा रहनुभएका तुलाधरसँग ‘नेपाल भाषा’ पत्रिकाका सम्पादक भई लामो समयसम्म पत्रकारिता गर्नु भएको अनुभव छ । त्यस्तै नेपाल संवत्लाई राष्ट्रिय संवत् तथा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणाको मान्यता दिलाउन पनि उहाँले सङ्घर्ष गर्नुभयो ।

उहाँका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन् । नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्ने अभियानमा आफनो जीवनको लामो समय खर्चिनुभएका तुलाधर विसं २०४२ मा नेकपा(माले)को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुग्नुभएको थियो । नेकपा एमालेको समर्थनमा विसं २०४८ र विस २०५२ मा काठमाडौँबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर सन् विसं २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री हुनुभएको थियो ।

राष्ट्रिय पञ्चायतको सदस्यका लागि त्यसबेला जनपक्षीय उम्मेदवार हुँदा सूर्य चिह्न लिनुभएका तुलाधरकै सूर्य चिह्न तत्कालीन नेकपा(एमाले)र हाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले लिएको छ ।

मानन्धरको अध्यक्षतामा ११८ सदस्यीय अभिनन्दन समारोह समिति गठन गरिएको छ जसमा जनकवि दुर्गालाल श्रेष्ठ, अधिकारकर्मी मल्ल के सुन्दर, गणेश सायमी, नरेशवीर शाक्य आदि रहेको निर्देशक समिति पनि छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री