शनिबार, ८ वैशाख २०८१

अधिकांश पसल मापदण्ड विपरीत

समयपोष्ट २०७५ भदौ १९ गते ८:२९

भक्तपुर नगरपालिकाले पटक पटक अनुगमन गरेर सचेत गर्दा पनि यहाँका मासु पसल फोहर र अव्यवस्थित पाइएको छ । आज भक्तपुर नगरपालिकाले नौवटा मासु पसलमा गरेको अनुगमनका क्रममा मासु पसल फोहर, अव्यवस्थित र मापदण्ड विपरीत पाइएको हो ।

Advertisement

नगरपालिकाको बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायकमा नौवटा मासु पसलमा भएको अनुगमनमा कोल्ड स्टोर तथा मासु पसल मापदण्ड विपरित सञ्चालन भएको र अत्याधिक फोहर पाइएको हो ।

अनुगमनमा न्यू महालक्ष्मी कोल्ड स्टोर, सिद्धिगणेश मिट सप, रामकृष्ण शाहीको राँगाको मासु पसल, ‘महिमा कोल्ड स्टोर, कमलविनायक माछापसल, सुभानी कोल्ड स्टोर, भक्तपुर कोल्ड स्टोर, कार्यविनायक मिट सप, लक्ष्मी शाहीको राँगोको मासु पसलको अनुगमनको क्रममा यस्तो भेटिएको हो । अनुगमनका क्रममा अधिकांश पसलमा बधस्थल फोहर रहेको, पसल दर्ता प्रमाणपत्र नभएको, सेतो एप्रोन प्रयोग नगरेको, मासु काट्ने काठ ढुँसी परेको, ढक तराजु नमिलेको पाइएको छ ।

अनुगमन टोलीले मासु सिसाभित्र राख्न, पसल दर्ता एवं नवीकरण गर्न, डिजिटल तराजु राख्न, पसल सफा राख्न, मूल्यसूची राख्न, भित्ता सफा गर्न मिल्ने गरी कार्पेट राख्न निर्देशन दिएको नगरपालिकाका सरसफाई उपशाखाका वरिष्ठ निर्देशक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

त्यस्तै मासु भूइँमा राखेर बेच्ने गरेकाले त्यसो नगर्न, ढक तराजु नापतौल विभागमा नवीकरण गर्न र डिजिटल तराजु प्रयोग गर्न निर्देशन दिँदै खिया लागेको आंैजार नियन्त्रणमा लिएको छ भने नवीकरणमा नभएका र बिगारिएका तराजु नियन्त्रणमा लिएको छ ।

नगरपालिका अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, सदस्य सचिव दिलीपकुमार सुवाल, कर उपशाखा, उद्योग वाणिज्य सङ्घ भक्तपुर, उपभोक्तमञ्च, प्रहरी प्ररिसर भक्तपुर, जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालयका प्रतिनिधिसहितको टोलीले अनुमगन गरेको हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री