बुधबार, २६ वैशाख २०८१

नयाँ कम्पनीहरु आए पनि बीमा क्षेत्र प्रतिस्पर्धी बन्न सकेको छैन : प्राइम लाइफका सीईओ मनोजकुमार भट्टराईको अन्तर्वार्ता

समयपोष्ट २०७५ भदौ १८ गते १२:५०

प्राइम लाइफ इन्स्योरेन्सले भर्खरै मात्र वित्तीय विवरण सार्वजनिक गरेको छ, समग्रमा यसको अवस्था कस्तो छ ?

Advertisement

गत वर्षको भन्दा नाफा पनि ३६ प्रतिशतले वृद्धि छ । गत वर्ष ६ अरब चानचुनको व्यालेन्स सिट हो । अहिले ९ अरब ३८ करोड व्यालेन्स सिटको साइज पुगेको छ । बीमाको ४ अर्ब ८२ करोडबाट ६ अर्ब ५४ करोड पुगेको छ । लगानीयोग्य रकम ८ अरब ७१ करोड पुगेको छ । सेयर होल्डर्स फन्डमा झन्डै ९६ करोड रिजर्भमा छ । त्यसमध्येबाट सेयर होल्डर्स फन्डमा झन्डै ६० करोड रूपैयाँ छ । यी सबै इन्डिकेटरहरूलाई हेर्दा असाध्यै राम्रो अवस्था हो । यो जीवन बीमा कम्पनीमा १० वर्ष पूरा गरेको कम्पनी पनि हो । तर यो १० वर्षमा जति हुनुपर्ने हो, त्यो नभएकै हो । किन भएन भनेर कारण खोतल्ने हो भने धेरै कुरा होलान् । हुनुपर्ने जति भएका छैनन् । सन्तोष गर्ने अवस्थामा छैनन् । जति कमीकमजोरी छन्, त्यसलाई जतिसक्दो चाँडो पूरा गरेर जानुपर्ने छ ।

बीमा समितिले तोकेको चुक्ता पुँजी कसरी पुर्याउँदै हुनुहुन्छ ?

हामीले बीमा समितिमा आजभन्दा करिब दुई वर्षअगाडि पुँजी योजना पेस गरेका हौँ । त्यो पुँजी योजना पेस गर्दा हाम्रो ४८ करोड ८१ लाख रूपैयाँ चुक्ता पुँजी थियो । त्यसपछि हामीले चार वर्षको वार्षिक साधारणसभा गर्दाको मुनाफाबाट २५ प्रतिशत सेयरधनीलाई बोनस सेयर दिन्छौँ । त्यसो गर्दा ६१ करोड चानचुन हुन्छ । त्यसमा १ बराबर १.६ को हकप्रद सेयर दिन्छौँ । हकप्रद सेयर दिइसकेपछि १ अरब ७८ करोड ४५ लाखको पुँजी हुन्छ । त्यसमा २२ करोड रूपैयाँ जुन थप्नुपर्ने हुन्छ, त्यो पनि बोनस सेयरबाट पूरा गर्छौं भनेर साढे दुई वर्षअगाडि जुन पुँजी योजना पेस गरेका हौँ बीमा समितिमा, अक्षरशः हामीले पेस गरेको योजनामा रत्तिभर पनि फरक नगरी आफ्नो कार्ययोजना अगाडि बढाइरहेका छौँ । त्यहीअनुसार हाम्रो पुँजी पुग्छ ।

Advertisement

बीमा समितिले पुँजी नपुर्याउने कम्पनीहरूलाई फोर्स मर्जमा लैजाने कुरा आइरहेको छ । यसलाई कसरी लिनुभएको छ ?

चुक्ता पुँजी पुर्याउने समय ७५ साल असार मसान्तसम्म भनिएको थियो । हामीलाई त्यसमा ७५ सालको मुनाफा पनि बोनस सेयरको रूपमा बढाउन पाइन्छ भनेर समय दिइएको छ । त्यसको वार्षिक साधारणसभा गर्नलाई ६ महिनाको जुन समय छ, त्यो समयभित्र हामी छँदै छौँ । त्यो समय नदिएको भए सायद हामीले अहिले तुरुन्तै विशेष साधारणसभा बोलाएर हुन्छ कि के गरेर हुन्छ, गर्नुपथ्र्यो । किनभने सेयरहोल्डर फन्डमा पैसा छ । त्यो भएको पैसालाई सेयरहोल्डर फन्डबाट पुँजीमा सार्नु मात्र पर्ने हो । त्यसो हुँदा प्राइम लाइफलाई त्यस विषयमा केही आपत्ति नै भएन । नयाँ कम्पनीहरूको कुरा गर्दा उहाँहरू सुरुमै दुई सय करोड पुर्याउँछु भनेर आउनुभएको हो । त्यो पुर्याउने क्रममा उहाँहरूको ७० प्रतिशतका दरले १ अरब ४० करोड सबैले पुर्याएर आई नै सक्नुभएको छ । बाँकी सबै साधारणमा जाने कुरा हो । सर्वसाधारणमा जानका लागि लाग्ने जुन न्यूनतम समय छ, त्यो त लागिहाल्छ । त्यो समयभित्र उहाँहरूले पनि पूरा गर्न सकिहाल्नुहुन्छ होला । पुँजी नै पुर्याउन नसकेको कारणले कुनै कम्पनी मर्जरमा जानुपर्ने अवस्था आउला जस्तो मलाई लाग्दैन ।

कतिपय कम्पनीहरूले हकप्रद सेयर जारी गरेर त्यो हकप्रदले नपुग्ने अवस्था आए फेरि अर्को हकप्रद जारी गर्ने अवस्थामा पनि गइसकेका छन् । त्यस कारण पुँजीको हिसाबमा सबैले पुर्याउँछन् होला । पुँजीबाहेकका कुराहरूमा मर्ज गर्ने भन्ने कुरा लगानीकर्ताहरूले एक–आपसमा विचारधारा, व्यवसायिक स्तर मिल्नेसँग कुरा गरेर जाने कुरा हो । त्यसमा हामी व्यवस्थापनमा बस्नेले यही भन्नै मिल्दैन । तर पुँजीकै कारणले मर्ज हुनुपर्ने कुनै पनि जीवन बीमा कम्पनीहरू छन् जस्तो मलाई लाग्दैन ।

नयाँ जीवन बीमा कम्पनी थपिएसँगै बीमा बजार कत्तिको प्रतिस्पर्धी भएको महसुस गर्नुभएको छ ?

प्रतिस्पर्धा नै त अझै भएको छैन किनभने जीवन बीमाको क्षेत्रमा हामी निकै पछाडि छौँ । आँकडाले पनि त्यति उत्साहप्रद बनाएको छैन । त्यसलाई यही नै हो भनेर भन्ने अवस्था छैन । किनभने कसैले कुनै बेला बीमा गर्यो, उसको बीमा परिपक्व भयो । त्यसपछि फेरि उसले बीमा गरेको छैन भन्ने अवस्था पनि होला । अर्कोे, बीमा गरेको छ तर तिर्नुपर्ने बीमा शुल्क नतिरेर जोखिम बहन नगर्ने अवस्थाका पनि होलान् । त्यो समग्र हेर्दा बीमा बजार जति विस्तार हुनुपर्ने हो, त्यो नभएकाले बीमा नै गराउनका लागि प्रतिस्पर्धा छैन । तर हामीले समयसापेक्ष आफ्नो ठाउँ सुहाउँदो र नेपाली जनताले खोजेको जस्तो बीमा योजनाहरू ल्याउन नसकेका नै हौँ । त्यसमा हाम्रो पाटोमा केही कमजोरी भएको छ । अनि प्रतिस्पर्धा छैन भनेर मैले किन भन्दैछु भने बजार प्रसस्त छ । प्रसस्त बजार भएको ठाउँमा प्रतिस्पर्धा गर्नै पर्दैन । आफसेआफ हुने चिज छ ।

हामीले गर्नुपर्ने काम नगरीकनै प्रतिस्पर्धा भन्न मिलेन । उति नै प्रतिस्पर्धी प्रडक्टहरू बजारमा भए, उति नै प्रतिस्पर्धी टर्मस् एन्ड कन्डिसन बजारमा भए, बजार परिपक्व भए बल्ल प्रतिस्पर्धाको कुरा आउँछ । एक त बजार पनि परिपक्व छैन । हामीले बीमाको सचेतना जगाउन सकेकै छैनौँ । म एकदम आत्मसात् गरेर भन्छु कि जुन लेबलमा बीमाको व्यवसाय विस्तारको लागि गर्नुपर्ने, बजारीकरणको लागि गर्नुपर्ने कामहरू छन्, त्यो हामीहरूले गरिरहेका नै छैनौँ । अभिकर्ता नभई जीवन बीमा व्यवसाय हुँदै हुँदैन । हामीले अहिले अभिकर्ता साथीहरूको सहयोग लिएर बीमा योजना बजारमा लगेर बिमितलाई बेच्नका लागि भन्नुपर्ने न्यूनतम कुरा भनाएका छौँ । त्यो पनि कम्युनिकेसन लिकेज छ । हामीले अभिकर्ताहरूलाई भन्छौँ, अभिकर्ताहरूले गएर भन्नुहुन्छ । कति कुरा भन्नुहुन्छ, कति भन्नुहुन्न । कति कुरा कतिले बुझ्नुहुन्छ, कतिले बुझ्नुहुन्न । यी सबै कुराहरूले गर्दा पहिले हामीले बीमा सचेतनामै केही काम गर्न बाँकी छ । त्यसका लागि बीमा समितिको सक्रियतामा इन्स्योरेन्स ट्रेनिङ इन्ष्टिच्यूट भनेर खोलिएको छ । बीमा समितिका अध्यक्षले त्यसको समुद्घाटन गरेको पन्ध्र दिन पनि भएको छैन । बीमाको क्षेत्रमा धेरै अगाडिदेखि हामीले हुनुपर्ने भनेर सोचिरहेको, खोजरहेको र मागिरहेको कुरा थियो । त्यो इन्स्योरेन्स ट्रेनिङ इन्स्टिच्यूट आईटीआईले व्यापक रूपमा बीमा बजारमा बीमा सचेतना, बीमा शिक्षाको लागि पक्कै काम गर्छ । त्यसमा हामी बीमा कम्पनीहरूले पनि गर्नुपर्ने सहयोग गर्नुपर्छ । चाहे ह्युमन रिसोर्स ट्रेनरको रूपमा पठाएर होस् या हाम्रा अभिकर्ताहरूलाई तालिम लिन पठाएर होस् । अथवा अन्य किसिमका सेमिनार, गोष्ठी गरेर बिमितहरू, सर्वसाधारण जनमानसमा कुरा पु¥याएर होस्, त्यसको माध्यमबाट बीमा शिक्षा र बीमा सचेतनालाई राम्ररी अगाडि बढाउन सक्यौँ भने मात्र त्यो परिपक्व बजार हुन्छ । अनि मात्र प्रतिस्पर्धा भन्ने कुरा गर्नुपर्छ । अहिले त हामी सुरुवाती स्तरमा छौँ । सबैले आफ्नो गरेर खान प्रसस्त ठाउँहरू, सम्भावनाहरू छन् । ती आफ्ना–आफ्ना सम्भावनाहरू पहिल्याउँदै अगाडि बढ्नुपर्ने हो । प्रतिस्पर्धा नै भएको अवस्था छैन ।

बीमा कम्पनीहरू थपिएका छन् तर बीमा साक्षरता त न्युन नै छ, यसलाई बढाउन के गर्नुपर्ला ?

पहिलो त सचेतनाकै कमी छ । हामी बीमा कम्पनीहरूले पनि बीमा भनेको अरूका लागि होइन, आफ्नो लागि हो, यो जीवनको निरन्तरताको लागि हो भनेर बुझाउनुपर्यो  । बीमा भन्नेबित्तिक्कै मृत्युसँग सम्बन्धित कुरा जस्तो गर्यौं हामीले । हामीले घरको मुली मान्छेलाई तिमीलाई केही भइहाले बीमाले सहयोग गर्छ भन्यौँ । मृत्यु जुन सत्य हो तर मानिस मृत्यको बारेमा सुन्न चाहँदैन । त्यस कारण हामीले मृत्युको कुरालाई अगाडि ल्याएर बीमालाई गलत ढङ्गले लग्यौँ कि ! यो त जीवनसँग सम्बन्धित कुरा हो । चाहे त्यो घरको मुलीको क्षति भएको अवस्थामा बाँकी उसमा आश्रित परिवारको जीवन निरन्तर गर्ने सन्दर्भमा होस् । बीमा त खासमा त्यसकै लागि हो । बीमा गरेर मानिसको बदलामा मानिस त हामी दिन सक्दैनौँ । त्यसको सट्टा आर्थिक सुरक्षा मात्र दिने हो । भोलिका दिनमा बिमितको आर्थिक सक्षमता हराएको बेला अथवा आम्दानी नभएको बेला अरूमा परनिर्भर हुनुभन्दा आफ्नो बीमाको पैसाले आत्मनिर्भर भएर आफैँ खर्च गरेर बस्न आखिर त्यही बीमाले दिने हो । सामान्यतया अहिले हामीसँग भएका बीमा योजनाहरू ६५–७० वर्षका छन् । ७० वर्षको उमेरपछि बीमा परिपक्व भएर बिमितले पैसा पाउँछ । त्यो पैसाले बिमितले बाँकी जीवन आर्थिक रूपमा सबल भएर जीवनयापन गर्न सक्छ । त्यस कारण त्यो हिसाबले बीमा सचेतना फैलाउन सक्यौँ भने मात्र बीमाको सही सन्देश पुगेको हुन्छ । त्यो गर्ने क्रममा हामी लागिपरेका छौँ ।

बीमा सचेतना बढ्न नसक्नुमा अभिकर्ता व्यवसायिक नभएर पनि हो कि ?

व्यवसायिक नभएर भन्न त नभनीहालौँ । हाम्रा जुनसुकै अभिकर्ता जुनसुकै कम्पनीमा काम गर्न पाउने सिस्टम छ । एउटा कम्पनीको बाह्र–पन्ध्रवटा प्रडक्ट होला । एक जना अभिकर्ताले पाँच–सातवटा कम्पनीमा काम गरिरहँदा सयभन्दा बढी बीमा योजनाहरू भए । साथै, सबै बीमा योजनाका बारेमा पूरा जानकारी हुने सम्भावना पनि कम भयो । त्यस कारण अभिकर्ताहरूको याक्सकुल्सिभ एजेन्सी सिस्टम नभएको कारणले धेरै ठाउँमा काम गर्दा छरियो । अर्को, बीमा अभिकर्ता मात्र भएर यसलाई व्यवसाय बनाएर हिँड्ने अभिकर्ताको सङ्ख्या पनि कम भयो । केही साथीहरू पेसागतरूपमा बीमा अभिकर्ता मात्र भएर हिँड्नुभएको छ । उहाँहरूको व्यवसायको स्तर, बजारीकरण, पहुँच पनि राम्रो छ । तर बीमा अभिकर्ताको पेसालाई सहायक पेसाको रूपमा अरूको काम पनि गर्ने अनि फुर्सदको बेलामा यो पनि गर्ने भन्ने मानिसहरूमा पेसागत परिपक्वता नभएकै हो । त्यसले गर्दा सहीरूपमा मानिसहरूलाई जानकारी दिन नसकिरहेको अवस्था हो । यसमा जो पूर्ण प्रतिबद्ध भएर लागेका छन्, उनीहरूले राम्रो गरिरहेका छन् ।

अहिले बीमा बजार धेरै विस्तार भइरहेको छ । बीमा प्राइभेट सेक्टरकै चिज हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा बीमा कम्पनीहरू निजी क्षेत्रमा आउन थालेको भनेको एनएलजीआई ४९ सालमा आएको हो । नभए ६०–६१ सालबाट मात्र आउन थालेका हुन् । हाल १४–१५ वर्षको अवधिमा बीमा बजारले निकै ठूलो फड्को मारिसकेको छ । बीमा कोषको मात्रै कुरा गर्ने हो भने १ सय ६० अरबको बीमा कोष भइसकेको छ । जबकि त्यसभन्दा अघि राष्ट्रिय बीमा संस्थान र एनएलजीको कुरा गर्दा सायद २० अरबको फन्ड पनि कहिल्यै पुगेन । त्यो हेरीकन त आज धेरै गुणा भएको छ । यसले रोजगारीको अवस्था सिर्जना गरेको छ । कर्मचारीहरूले काम पाएका छन् । उनीहरूमा आश्रित परिवारले जीवनयापनको राम्रो बाटो पाएका छन् । लगानीकर्ताहरूले पनि लगानीमा राम्रो प्रतिफल पाइरहेका छन् । अभिकर्ता भएर काम गर्नेहरूको परिवार पनि त्यसबाट पालिएको छ । अहिले सबै कम्पनीहरूको अभिकर्ताहरूको सङ्ख्या जोड्ने हो भने दुई–तीन लाख पुग्छ ।

त्यस्तै, बिमितहरू करिब २५–२६ लाख इन्डोमेन्ट पोलिसी लिने प्रेफेसनल बिजनेसमा बस्ने करिब ४०–४२ लाख वैदेशिक रोजगारीमा जानेको बीमा भएको छ । त्यस्तै, बीमा गरेर आर्थिक सुरक्षा लिएर बसेकाको सङ्ख्या पनि थुप्रै भएको छ । प्रोग्रेस राम्रो भएको छ । तर जति हुनुपर्ने हो, त्यति भएको छैन । त्यसको लागि समयसापेक्ष, चाहनाअनुसारको नयाँ बीमा योजनाहरू ल्याउनुपर्ने हुन्छ ।

कम्पनीले भुक्तानीमा अनेक झमेला दिन्छन् भन्ने सुनिन्छ, यसलाई सहज बनाउन सकिँदैन ?

बीमा बिमित र कम्पनीबीच हुने एउटा करार हो । केही कागजातहरू करारको आधारशीला हुने गर्छन् । त्यसमा घरपरिवार, आम्दानीको स्रोत, स्वास्थ्य स्थितिलगायत सम्पूर्ण विवरणहरू खुलाइएको हुन्छ । साथै, विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । हामीले बिमित देखेका हुँदैनौँ । परविश्वासको सिद्धान्तको आधारमा उहाँले कागजमा त्यो कुरा लेख्नुभयो । साइन गरेर दिनुभयो र हामीले सतप्रतिशत विश्वास गर्यौं । हामीले दोस्रो पटक बिमितलाई हो वा होइन भनेरसमेत प्रश्न गरिँदैन । त्यसको आधारमा बीमा लेख जारी हुन्छ । त्यो बीमा लेख जारी हुँदा उहाँहरूले भनेको कुरा सत्यतथ्य हुनुपर्यो। साथै, नियमितरूपमा बीमा शुल्कसमेत बुझाउनुपर्यो । यहाँ मैले बीमा गरेको थिएँ, बीमाको पैसा दिएन भन्ने गरिन्छ । बीमाको पैसा नदिएकै हो भने किन दिइएन भनेर हामी पनि खोजी गर्दैनौँ ।

बीमाको पैसा नदिइनुमा एक हजारभन्दा बढी कारणहरू हुन्छन् । जस्तो– हामीले तपाईं धूमपान गर्नुहुन्छ अथवा मद्यपान गर्नुहुन्छ भनेर प्रश्न गरेका हुन्छौँ । धूमपान अथवा मद्यपान गर्नेलाई हामीले बीमा नगर्ने होइन । तर त्यहाँ सत्य कुरा लेखिएको हुँदैन । बीमा गरेको छ महिनामै बिमितको मृत्यु हुन्छ । अस्पताल गएर बुझ्दा, बिरामीको रिपोर्ट हेर्दा तीन वर्षदेखि कलेजोको क्यान्सर उपचार गराइरहेको भन्ने देखिन्छ । फेरि हामी बीमा गरेको दुई वर्ष नपुगी कुनै बिमितको मृत्यु हुन्छ भने त्यसमा गहन अनुसन्धान गर्छौं । अनुसन्धानका क्रममा यस्ता कुरा पत्ता लाग्छन्, जुन कुरा हिजोका दिनमा बिमितले हामीसँग ढाँटेको छ । त्यसो हुँदा कम्पनीसँगको करारका सर्तहरू त भङ्ग भए । कम्पनीले अरू बिमितले तिरेको पैसामध्येबाट नै दिने हो । कम्पनीले आफ्नो खल्तीबाट दिने त होइन । एउटा गलत काम गर्नेले सही काम गर्ने सयौँलाई नोक्सान पारिदिनु त भएन । त्यो पनि कम्पनीले हेर्छ ।
अर्को, दाबी नपाउने अवस्था भनेको प्रिमियम नतिरेकोमा हो । अभिकर्ताले प्रिमियम हरेक वर्ष तिर्नुपर्छ भनेर नबुझाएको हुन सक्छ । एक वर्ष ति¥यो, अब सधैँलाई भयो भन्ठान्छ । मृत्यु भएपछि बीमा रकम लिन आउँदा बीमा नै कोल्याप्स भइसक्छ । हरेक वर्षको नवीकरण शुल्क बुझाएको छैन भने कम्पनीले दिने कुरा आएन । त्यस्तै दुई वर्ष नबित्दै कसैले आत्महत्या ग¥यो भने पनि पाउँदैन । ती सबै कुराहरू सर्तमा उल्लेख छन् । इभन हवाईजहाजमा कमर्सिएल सेड्युल फ्लाइटबाहेक चार्टर फ्लाइटमा क्र्यास भएको छ भने पैसा पाउँदैन । त्यस कारण सर्तमा भएका टम्स एन्ड कन्डिसन पनि हेर्नुपर्छ । होइन भने बीमा कम्पनीले पैसा नदिने भन्ने कुरै आउँदैन ।

हाम्रो सन्दर्भमा हामीले आर्थिक विवरण निकालिसकेका छौँ । कति करोडको बीमा रकम तिरेका छौँ भन्ने त्यहाँ प्रष्टसँग उल्लेख गरिएको छ । हामी दाबी लागेपछि र अवधि पूरा भएपछि तिर्छौं । असार मसान्तसम्म १६ लाख १६ हजार बिमितमध्ये आज हामीसँग ५ लाख ३६ हजार बिमित बाँकी हुनुहुन्छ । १६ लाखमध्ये ५ लाख बाँकी हुँदा ११ लाखको पैसा नदिएको भए मानिसहरू चुप लागेर बस्थे होलान् ? नदिएको र नदिने भन्ने कुरा हुँदै होइन ।
हामी पनि जिम्मेवार छौँ । बाँकी ५ लाख बिमित, २२ हजार सेयरधनी, नियमनकारी निकाय बीमा समिति, कम्पनीका कर्मचारी सबैप्रति हामी जिम्मेवार छौं । त्यस कारण कम्पनीले गर्नै नहुने गलत कार्य गर्दैन । त्यो प्रक्रियागतरूपमा जाने हो ।

प्राइम लाइफमा पुनः नियुक्त हुनुभएको छ, दोस्रो कार्यकालका लागि तपाईंका योजना के छन् ?

मेरो पहिलो चार वर्षे कार्यकालमा कम्पनीलाई लेबलमा ल्याउनुपर्ने थियो । हामी लेबलमा थिएनौंँ । हामी लेबलमा आयौँ । आज हाम्रो कम्पनी हरेक इन्डिकेटरमा अगाडि छ । हाम्रो लाइफ फन्डको साइज सानो होला, व्यवसायको आकार पनि सानो होला किनभने म अनावश्यक रूपमा व्यवसायको आकार ठूलो देखाउने पक्षमा छैन । मेरो कार्यकालमा भयङ्कर बिजनेस बढाए, अनावश्यक रूपमा जस्तो पनि पोलिसी अप्रुभ गर्ने र यति प्रिमियम कमाएँ भन्ने पक्षमा छैन ।

कम्पनी लामो समयसम्म दरो किसिमले चल्नुपर्छ भन्ने मान्यतामा छु । पोलिसी लिने बेलामा हामी जुन अन्डर राइटिङको काम गर्छौं, म घमण्डले भन्छु– नेपालको कुनै पनि जीवन बीमा कम्पनीको अन्डर राइटिङ पोलिसी हाम्रोजत्तिको स्ट्रिक्ट र स्ट्यान्डर्ड छैन । हामी त्यसरी क्वालिटी बिजनेस गरेर बसेका छाँै । त्यस कारण हामीकहाँ मृत्यु दाबी एकदम कम पर्छ । हामी परेको दाबीलाई सकेसम्म छिटो भुक्तानी गरिदिन्छौँ । डकुमेन्ट कम्प्लिट भएको दोस्रो दिनमा हामीले दाबी भुक्तानी गरिरहेका छौँ । कतिपय अवस्थामा थाहा पाइसकेपछि हामी आफैँ फलो अपसमेत गरिदिन्छौँ ।

त्यसै गरी ७१ सालमा म यहाँ आइसकेपछि प्राइम सुलभ भन्ने नितान्त नयाँ किसिमको मनिव्याक पोलिसी ल्यायौँ । मृत्यु भएको केसमा तीन गुणासम्म दाबी भुक्तानी त्यसमा पाइन्छ । एक लाखको तीन लाखसम्म पाइने त्यस्तो योजना ल्यायौँ । ७२ सालमा सुरक्षित आवास भनेर बैङ्कबाट घर कर्जा लिनेहरूका लागि अटोमेटिकल्ली बीमा हुने बीमा योजना ल्यायौँ । हामीले ७३ सालको माघदेखि १६ वटा रोगहरू, जसमा हार्टअट्याक, किड्नी ट्रान्सप्लान्टदेखि सबैको रिस्क कभर गर्ने गरेर त्यसलाई एउटा सहायक सुविधाको रूपमा बीमामा समावेश गरायौँ । त्यो पनि नौलो प्रयोग हो । प्राइम लाइफले बाहेक त्यो कुनै कम्पनीले गरेको छैन । त्यो निर्जीवन बीमा कम्पनीसँग मिलाएर गरिएको छ । अन्य कम्पनीहरू पनि अहिले पछि–पछि आउन थालेका छन् ।

त्यस्तै, भर्खरै मात्र हामीले जीवन उपहार भनेर ल्याएका छौँ । त्यसमा जतिको बीमा लिएको छ, अर्को वर्ष त्यति नै बिमाङ्कबराबरको सित्तैमा बीमा लेख बिमितलाई दिइन्छ । कसैले यो वर्ष २० लाखको बीमा ग¥यो भने अर्को वर्ष एक वर्ष पुगेपछि अर्को २० लाखको बीमा हामी सित्तैमा दिन्छौँ । हामीले त्यस्ता नितान्त नौला किसिमका बीमा योजनाहरू ल्याइरहेका छौँ । हामी यही क्रमलाई निरन्तरता दिन्छौँ । अर्को, विगतमा भन्दा हाम्रो राम्रो प्रोग्रेस भएको छ । तर सन्तुष्टि भएको छैन । त्यो सन्तुष्टि नभएको जुन ग्याप छ, त्यो ग्याप पनि हामीले पूरा गर्नुपर्ने छ । प्राइम लाइफ १४ वर्षको भयो । यो १४ वर्षमा एउटा स्ट्यान्डर्ड कम्पनीले जसरी काम गर्नुपर्ने थियो, त्यो लेबलको काम गरेर बस्यौँ है भनेर भन्न सक्ने अवस्थामा यो कम्पनीलाई लिएर जाने हो । हामीले अनुसन्धान, अध्ययन गरेर नयाँ किसिमका यो ठाउँ सुहाउँदो, यहाँका मानिसले खोजे जस्तो बीमा योजना दिँदै जानुपर्छ । कमसेकम वर्षको एउटा नयाँ योजना लिएर जान्छौँ हामी । प्राइम लाइफले मात्र बीमा गर्नुपर्छ भन्ने मान्यताभन्दा पनि समग्र बीमा उद्योग आफैँमा परिपक्व र इज्जतिलो हुनुपर्छ । बीमा कम्पनीमाथि लाग्ने आक्षेपबाट समग्र बीमा उद्योग मुक्त हुनुपर्छ । प्राइम लाइफले गरेर मात्र हुँदैन । कुनै पनि बीमा कम्पनीले पैसा दिँदैन भन्ने सुन्नु नपरोस् । त्यो किसिमको वातावरण तयार गर्नका लागि बीमा उद्योग आफैँलाई अगाडि बढाउन शिक्षाका कुरा, सचेतनाका कुराहरू हाम्रो तर्फबाट गराउँदै हिँड्छौँ ।

प्राइमले हिजोको दिनमा शून्यमा तीन विचार गरौँ एकछिन भन्ने बीमाको नारा ल्यायो । खर्चजति सबै हामीले गर्यौं तर त्यसको फाइदा अरूहरूले पनि लिएका छन् । किनभने शून्यमा तीन विचार गरौं एकछिन अर्थात् बीमा गरेर तीनवटा फाइदा हुन्छ भन्ने कुरा प्राइम लाइफको लागि मात्र त होइन । त्यो त जुनसुकै बीमा गरे पनि हुन्छ भनिएको हो । त्यसको फाइदा अरूले लिए तर केही छैन । बीमा उद्योगले नै फाइदा लियो । नेपालमा बीमा बजार बढ्यो । हामी अलिकति पछाडि पर्यौं होला तर त्यसलाई कभर गर्न सकिन्छ । त्यस कारण अबको मेरो चार वर्षको कार्यकाल भनेको जुन लेबलमा हामी आएका छौँ, यसलाई अझ अगाडि बढाएर लैजाने र हरेक चिजमा अहिलकति फरक ढङ्गले प्रस्ततु हुने नै हो । जस्तो– हामीले त्रैमासिक वित्तीय विवरण १६ गते प्रकाशित गर्यौं। जबकि हाम्रो नियमनकारी निकायले भनेको ३० दिन हामीलाई म्याद छ । तर राष्ट्र बैङ्कले बैङ्कहरूलाई १५ दिनभित्र भनेको थियो, यो पल्ट भ्याएन भनेर राष्ट्र बैङ्कले समय बढाइदियो ।

त्यस कारण हामीले पनि बैङ्कहरूले १५ दिनभित्र वित्तीय विवरण निकाल्न सक्छन् भने हामीले किन नसक्ने ? हामी पनि निकाल्न सक्छौँ भन्ने मान्यताले कसैले गर भनेर होइन कि स्वस्फूर्त ढङ्गले, अलिकति भिन्न गरेर जाउँ भनेर हामीले १६ गते नै प्रकाशित गरेका हौँै । त्यस्तै, बीमा समितिमा आर्थिक वर्ष ७४–७५ को व्यालेन्स सिट आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्रमा सैद्धान्तिक सहमतिका लागि समितिमा पेस गर्नुपर्ने हुन्छ । हामीले २० दिनमा नै पेस गरिसक्यौँ । हामी केही चिजलाई पनि अन्तिम समयसम्म कुर्दैनौँ । नियमनकारी निकायले यसो गर, उसो गर भन्न नपरोस् । हामी आफैँ नै पहिले स्वनियमनमा बस्नुपर्ने हुन्छ । गर्न नहुने काम नगरौँ । के गर्न हुने, के नहुने त हामीलाई थाहा छ । त्यस कारण स्वनियमन गरेर, स्तरीय व्यवसाय गरेर प्राइम लाइफलाई एउटा उच्च श्रेणीको जीवन बीमा कम्पनीमा स्थापित गराउने लक्ष्य छ । स्थापित मात्र गराउने भन्दा पनि त्यसलाई निरन्तरता दिन त्यसखालका सिस्टमहरू तयार गरिदिने । जस्तो– मपछि जोसुकै कार्यकारी आएर प्राइम लाइफ चलाए पनि कम्पनी चल्ने सिस्टममा फरक नआउने साथै लामो समयसम्मको दिगोपन विकास गर्दै बीमाको इतिहासमा राम्रो नाम राख्न सक्ने किसिमले अगाडि बढाउने मेरो उद्देश्य हो । त्यसका लागि प्राइम लाइफको अहिलेको टिमको मलाई पूर्ण सहयोग छ । यसले निरन्तरता पाउनेमा कुनै दुईमत छैन ।

प्राइम लाइफको बारेमा छुटाउनै नहुने कुरा योङ, इनर्जेटिक टिम हामीसँग छ । ३० देखि ३२ वर्ष उमेर समूहका स्टाफहरू हाम्रो कम्पनीमा छन् । त्यस कारण त्यो टिमले दिएको ड्राइभले पनि यो कम्पनीलाई अगाडि बढाएर लिएर जान्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री