शनिबार, १ कार्तिक २०८२

२५ अर्ब विद्युत वक्यौता उठाउन बोर्ड बैठक डाक्ने तयारीमा प्राधिकरण

वक्यौता उठाउन कुनै समस्या छैन : शाक्य

समयपोष्ट २०८२ असोज ५ गते १४:४१

Advertisement

नेपाल विद्युत प्राधिकरणले अर्बौं रुपैयाँ बक्यौता रहेको विद्युत महसुल उठाउन बोर्ड बैठक डाक्ने तयारी गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमवार वा मंगलबार बोर्ड बैठक बसेर बक्यौता उठाउने सम्बन्धमा ठोस निर्णय लिइने बताएका छन्।

ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री बनेलगत्तै विद्युत वक्यौता उठाउने सम्बन्धमा पहिलो निर्णय गरेका थिए। सोही निर्णयलाई कार्यान्वयन गर्न बोर्ड बैठकले कदम चाल्ने शाक्यले जानकारी दिए। “माननीय मन्त्रीज्यूको निर्णयलाई हामीले कार्यान्वयन गर्नेछौँ। प्राधिकरणको बोर्डमा मन्त्रीज्यू नै अध्यक्ष हुनुहुन्छ। बोर्डको निर्णयपछि वक्यौता उठाउने प्रक्रिया तत्काल अघि बढ्नेछ,” शाक्यले भने।

शाक्यले बोर्ड बैठकबाट निर्णय भएपछि वक्यौता उठाउन कुनै समस्या नरहेको बताए। उनले थपे, “हामीले सरकारको निर्णयअनुसार नै काम गर्नेछौँ। बोर्डले निर्णय गरेपछि कार्यान्वयनमा कुनै बाधा रहँदैन।” प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेका उद्योगी तथा व्यवसायीबाट जरिवानासहित करिब २५ अर्ब रुपैयाँ बक्यौता उठाउनुपर्ने जनाएको छ।

यसअघि कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पटकपटक बक्यौता तिर्न बाँकी उद्योगीहरूको विद्युत लाइन काट्ने प्रयास भएको थियो। तर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा लाइन काटिएका उद्योगीहरूलाई पुनः जोड्ने निर्देशन दिइएको थियो।

Advertisement

प्राधिकरणले लोडसेडिङको समयमा उद्योगीहरूलाई २४ घण्टा विद्युत आपूर्ति गरेको थियो। तर, उद्योगीहरूले प्रयोग नगरेको विद्युतको समेत बिल आएको भन्दै महसुल तिर्न अस्वीकार गर्दै आएका छन्। प्राधिकरणले भने डेडिकेटेड र ट्रंक लाइनको महसुल भुक्तानीका लागि उद्योगी तथा व्यवसायीहरूलाई निरन्तर दबाब दिँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री