शनिबार, १ कार्तिक २०८२

पुनः काममा फर्किए बीमा प्राधिकरणका अध्यक्ष ओझा

समयपोष्ट २०८२ भदौ ३१ गते २०:४६


बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा मंगलबार पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन्। सरकारले उनलाई बर्खास्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनी नियमित काममा फर्केका हुन्।

Advertisement

सर्वोच्च अदालतले सरकारका नाममा जारी गरेको उक्त आदेशमा ओझाको बर्खास्ती निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ। सोही आधारमा ओझाले आफ्नो पदमा पुनर्बहाली भएको हो।

गत २ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई खराब आचरण र कार्यक्षमता अभावको आरोपमा बर्खास्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयका लागि सरकारले ३० असारमा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिको प्रतिवेदनमा ओझाको कार्य अनुभव र योग्यतामाथि प्रश्न उठाउँदै उनलाई अध्यक्ष पदका लागि अयोग्य ठहर गरिएको थियो।

उक्त निर्णयविरुद्ध ओझाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। २२ भदौमा दर्ता भएको रिटमाथि २३ भदौमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री