रोकिएन वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रम

वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार, भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर घटेको छ। भदौमा ५.५७७ प्रतिशत रहेको यस्तो ब्याजदर असोजमा ०.११३५ प्रतिशतविन्दुले घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ।
२० वटा वाणिज्य बैंकहरूमध्ये ९ वटाले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका कारण औसत ब्याजदरमा कमी आएको हो। प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएका छन्। त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दु तथा कुमारी बैंकले ०.२ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्।
यसैबीच, दुई बैंकले भने ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतविन्दु र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दुले ब्याजदर वृद्धि गरेका छन्। बाँकी ९ वटा बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज कुमारी बैंकले प्रदान गर्नेछ, जसले अधिकतम ५.०१ प्रतिशत ब्याजदर तोकेको छ। यता, एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबी र हिमालयन बैंकले अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन्।
संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि समीक्षा अवधिमा ०.०८८५ प्रतिशतविन्दुले घटेको छ। ७ वटा वाणिज्य बैंकले ब्याजदर घटाउँदा यस्तो औसत ब्याजदरमा कमी आएको हो, भने बाँकी १३ बैंकले भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्।



























प्रतिक्रिया