शनिबार, १ कार्तिक २०८२

नेपालमा पहिलोपटक एकै व्यक्तिमा तेस्रो मिर्गौला प्रत्यारोपण सफल

समयपोष्ट २०८२ भदौ २१ गते १९:४७

Advertisement

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेर कीर्तिमान कायम गरेको छ।

आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यो जटिल शल्यक्रिया नेपालमा सम्भव भएकोमा गर्व व्यक्त गर्नुभयो। “तेस्रो पटक मिर्गौला प्रत्यारोपण निकै जटिल र जोखिमपूर्ण हुन्छ। प्राविधिक कठिनाइ, औषधीय चुनौती र उपयुक्त दाता पाउन कठिन हुने भएकाले यस्तो प्रत्यारोपण विश्वमै दुर्लभ मानिन्छ। तर हाम्रो टिमले यो असाधारण उपलब्धि हासिल गरेको छ,” डा. श्रेष्ठले भन्नुभयो। “यसले नेपालमा जटिल प्रत्यारोपण सम्भव छ भन्ने उदाहरण स्थापित भएको छ।”

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीको तेस्रो मिर्गौला प्रत्यारोपण सम्पन्न भएको थियो। उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो। चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा भएको थियो भने दोस्रो प्रत्यारोपण विसं २०७२ मा र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त केन्द्रमा डा. श्रेष्ठकै नेतृत्वमा सम्पन्न भएको हो। यो तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरेर गरिएको थियो।

डा. श्रेष्ठका अनुसार सामान्यतया पहिलो मिर्गौला प्रत्यारोपणपछि लामो समयसम्म मिर्गौलाले काम गर्छ। तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट वा नेफ्रोप्याथीजस्ता समस्याले मिर्गौला असफल हुन सक्छ। यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रो प्रत्यारोपण अत्यन्तै दुर्लभ हुन्छ। “मैले बेलायतमा यस्ता जटिल प्रत्यारोपणको अनुभव बटुलेकाले नेपालमा यो सम्भव भएको हो,” उहाँले थप्नुभयो।

Advertisement

नेपालमा दोस्रो मिर्गौला प्रत्यारोपण सन् २०१० मा वीर अस्पतालमा डा. श्रेष्ठकै नेतृत्वमा सुरु भएको थियो। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा १,५०२ जनाको मिर्गौला प्रत्यारोपण र ३५ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको छ र जटिल प्रत्यारोपणका लागि नेपाल सक्षम रहेको सन्देश विश्वसामु पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री