झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
झापा इनर्जी लिमिटेडले आज भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर निष्काशन तथा बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गरी आईपीओ जारी गर्न लागेको हो।
पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५७ हजार २९ कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
दोस्रो चरणमा कम्पनीले कुल ४ लाख ७३ हजार ३३६ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ, जसको कुल मूल्य ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ रहेको छ। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। यसबाहेक, सामूहिक लगानी कोषहरूका लागि २८ हजार ५१४ कित्ता र कम्पनीका कर्मचारीहरूका लिए ११ हजार ४०६ कित्ता शेयर छुट्याइएको छ।
लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो आईपीओ छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गते बन्द हुनेछ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ सिंगल बी माइनस प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
झापा इनर्जी लिमिटेडले सञ्चालन गरेको १० मेगावाटको ग्रीडमा आबद्ध सौर्य विद्युत आयोजनाको कुल अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ छ। आयोजनाको विद्युत अनुमतिपत्र २२ वर्ष बाँकी छ। लगानी फिर्ता हुने अवधि इक्विटीको साधारण फिर्ता अवधि ९.५५ वर्ष, डिस्काउन्टेड फिर्ता अवधि १३.४६ वर्ष, प्रोजेक्टको साधारण फिर्ता अवधि ८.०६ वर्ष र डिस्काउन्टेड फिर्ता अवधि १५.६६ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू, र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयर अनलाइन सफ्टवेयरमार्फत सि–आस्बा प्रणालीद्वारा आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया